सुगर मिलको सिरा टंकी फुटेपछि किसानले लगाएको चार बिगहा उखु पुर्ण रुपमा क्षति

अनलाइन दर्पण 2019-09-03
img

अंगद यादव / नवलपरासी पश्चिम १७ भादौ । ‌नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ८ गंगापुरमा रहेको इन्द्रा सुगर मिलको सिरा टंकीको पाइप फुटेपछि मिलको वरिपरि किसानले लगाएको लगभग चार बिगहा उखु सुकेर पुर्ण रुपमा नष्ट भएको छ । 

मिलको चरम लापरवाहीले उक्त किसानहरुको तयारी अवस्थामा रहेको उखु नष्ट भएको हो । पिडित किसानहरुले नष्ट भएको उखुको क्षतिपूर्ति मिल संग माग गरेका छन् ।

किसानले मिलले अविलम्ब क्षतिपूर्ति नदिए चरणबद्ध अान्दोलन गर्ने चेतावनी दिएका छन् । मिलको पश्चिम दिशामा रहेको १५ जना किसानले लगाएको चार बिगहा उखुमा क्षति पुर्याएको हो । नष्ट भएको उखुको दोस्रो बाली पनि नहुने बुझिएको छ । 

आर्थिक बर्षको बाकी रकम समयमै भुक्तानी नगरेको बिरोधमा ३ गते मिलको लेखा शाखा, प्रशासन कक्ष र साईबर, र गोदाममा स्थानिय द्वारा ताला बन्दी गरिएको थियो । 

त्यसैगरी सुनवलमा रहेको लुम्बिनी चिनी मिलमा पनि भुक्तानी नगरेको भन्दै किसानले तालाबन्दी समेत गरिसकेका छन । उखु क्रसिङ्गको सिजन ७४/७५ र ७५/७६ सालको भुक्तानी रकम करिब १८ करोड बाकी रहेको छ ।

गत बर्षको भुक्तानी पनि नदिने उल्टै किसानले लगाएको उखु नष्ट गरिदिएको छ । मिलका जिएम लाई सम्पर्क गर्दा फोन उठेको छैन । अहिले किसान दोहोरो मारमा परेका छन् । किसानको घाउमा मलहम लगाउने कोही भेटिएका छैनन् । 

किसानले पटकपटक क्षतिपूर्ति माग गर्दा पनि कुनै सरोकारवाला निकाय पक्षले नसुनेको पिडित किसान रामानन्द कोइरीले बताउँछन् । नवलपरासी पश्चिम जिल्लामा लुम्बिनी चिनी मिल, इन्द्रा सुगर मिल , वाग्मती खाडसारी गरि तीन ठुला चिनी मिल रहेका छन् । 

सरकारले एकपटक इन्द्रा सुगर मिल गंगापुरका मालिक राकेश अग्रवाललाई पुर्व पश्चिमका किसानले पाउने ४४ करोड भुक्तानी नदिएको भन्दै पक्राउ गरिसकेको छ । एकमहिना भित्र भुक्तानी सुरु गरिने सर्तमा अग्रवाललाई छाडिएको थियोे । अग्रवालले मात्र ढाई करोड मात्र भुक्तानी गरेर छाडे । भुक्तानी रोकिएपछि पटकपटक किसानले मिलमा धाउन थाले तैपनि भुक्तानी पाएनन् । त्यसपछि किसानहरुले बाध्यतताले पुनः तालाबन्दी गरेका हुन ।

सम्बन्धित समाचार

Advertisement