बाँझो रहेको जमिनमा खेती गर्नेलाई अनुदान

अनलाइन दर्पण 2020-05-24
img

लम्जुङ्ग  । कोरोना संक्रमण रोक्न लकडाउन बढ्दै गएपछि जिल्लाको मध्यनेपाल नगरपालिकाले बाँझो जमिनमा खेती बढाउने योजना अघि सारेको छ । बाँझो जमिनमा तरकारी र फलफूल खेती गर्ने युवालाई प्रतिरोपनी ५ हजार रुपैयाँसम्म नगरपालिकाले अनुदान दिने भएको छ ।

४० वर्षमुनिका युवा यो कार्यक्रमबाट समेटिनेछन् । बेरोजगार युवालाई स्वरोजगार बनाउँदै उत्पादन बढाउन अनुदानको कार्यक्रम ल्याएको नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले बताए । उनका अनुसार जो कसैले पनि बाँझो जमिनमा खेती गरेमा प्रतिरोपनी ४ हजार रुपैयाँ र अरुको जग्गा भाडामा लिएर बाँझो जमिनमा खेती गरेमा ५ हजार अनुदान दिने निर्णय गरिएको छ ।

बाँझो जमिनमा खाद्यबाली, तरकारी, फलफूल, मसलाबाली खेती गर्न सकिने नगरपालिकाले जनाएको छ । खेती गर्न चाहने युवाका लागि वडा कार्यालयमार्फत निवेदन संकलन भइरहेको छ। संकलित निवेदनलाई युवा एवं महिला, कृषि तथा पशुपालन लक्षित कार्यक्रम कार्यान्वयन कार्याविधि २०७५ अनुसार गठित समितिले सिफारिस गरेपछि अनुदान दिइन्छ ।

यो कार्यक्रमले कोराना महामारीसँगै आउँदा दिनमा आउन सक्ने खाद्यान्न संकट टार्न र दीर्घकालीन रुपमा युवालाई कृषि कार्यमा टिकाउन योगदान दिने उपमेयर राजकुमार श्रेष्ठले बताए । यो कार्यक्रमले बाँझो जमिनमा खेती हुनुको साथै युवा रोजगारी र फलफूल, तरकारी तथा खाद्यान्नमा नगरपालिका आत्मनिर्भर बन्ने उनले बताए ।

नगरपालिकाले चालु आर्थिक वर्षमा स्वीकृत 'नगरप्रमुख कृषि आधुनिकरण अनुदान कार्यक्रम' शीर्षकमा छुट्याएको ५० लाख रुपैयाँ अहिलेको अवस्थामा कार्यक्रम गर्न नसक्ने भएकाले रकामन्तर गरि बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकीय प्रमुख नरबहादुर खड्काले बताए ।

खड्काका अनुसार बाँझो जमिनमा खेती गर्न इच्छुकको वडा कार्यालयमार्फत निवेदन संकलन भइरहेको र निवेदन नगरपालिकामा प्राप्त भएपछि तत्कालै कार्यान्वयन प्रक्रियामा अघि बढाइने बताए । 

सम्बन्धित समाचार

Advertisement