लोडसेडिङ अन्त्यको कथा अब छोटो चलचित्रमा

अनलाइन दर्पण 2017-04-20
img

लोडसेडिङमुक्त देश बनाउने अभियानको कथा केन्द्रमा रहेको फिल्म ‘उज्यालो नेपाल’ युट्युबमा सार्वजनिक भएको छ। लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर ‘उज्यालो नेपाल’ निर्माण भएको हो। उर्जामन्त्री जर्नादन शर्माले लिएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई फिल्ममा देखाएको बताइएको छ।

कुलमान घिसिङ जस्तो इच्छाशक्ति बलियो भएको व्यक्तिको कारण उर्जा क्षेत्रमा भएको नाटकीय परिर्वतन र सकारात्मक प्रभाव नै फिल्मको मुख्य विषय हो। अभिनेता राजेश हमालले फिल्ममा मन्त्रीको भूमिका निभाएका छन् भने पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन्। फिल्ममा विद्युत विकासमा देखिएका समस्या र चालिएका कदमहरुलाई पनि देखाउन खोजीएको छ।

शुभ मिडिया होम प्रालिले निर्माण गरेको फिल्ममा अभिमन्यु निरवीको कथा रहेको छ। सरोज ओलीको निर्देशनमा फिल्म तयार भएको हो। राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ। नेपाल टेलिभिजनमा प्रसारण भइसकेको ‘उज्यालो नेपाल’ युट्युबमा पनि सार्वजनिक गरिएको छ।

हेर्नुहोस्  छोटो फिल्म:

सम्बन्धित समाचार

Advertisement