भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

अनलाइन दर्पण 2024-04-29
img

मध्यपुर थिमि, १६ बैशाख २०८१  । नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका २५ जना पत्रकारहरुलाई रजत अभिनन्दन गरी सम्मान गरेको छ । दोश्रो अधिवेशनका अवसरमा उनीहरुलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको आतिथ्यतामा थिमी बैंक्वेटमा सम्पन्न उपत्यका प्रदेश समितिको दोश्रो अधिवेशन समारोहका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय कृष्ण श्रेष्ठ, महासंघका केन्द्रीय उपाध्यक्ष रमेश विष्ट, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा जुगल लगायतले उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुनेमा भक्तपुर शाखाबाट १ जना मात्र परेका छन् । भक्तपुर शाखाका सदस्य राममणी बराल रजत अभिनन्दनबाट सम्मानित हुन सफल भएका हुन् । महासंघको सदस्यता प्राप्त गरी अविछिन्न रुपले २५ वर्ष महासंघमा बिताएका प्रदेश परिषद सदस्य बराललाई रजत अभिनन्दन गरी सम्मानित गरिएको महासचिव टेनिस रोकाले बताए ।

यसरी सम्मान पाउनेहरुमा डा.केशवप्रसाद देवकोटा, देवेन्द्र कोइराला, कालिदास बहादुर राउत, कालिका महत, मुक्तिनाथ वास्तोला, धनबहादुर मगर, नरोत्तम सुवेदी, प्रतिमा विवश राई, रामहरि चौलागाईं, भुवन वस्नेत, निरज रंजित, खड्ग वस्नेत, कल्पना शर्मा, रामप्रसाद पुडासैनी, डा. द्वारिका उप्रेती, घमराज लुुइँटेल, रामकला वुढाथोकी, दिपक प्रसाद चौलागाईं, दिपक सिल्वाल, उद्धव प्रसाद गौतम, चेतनाथ धमला, ताराचन्द्र देवकोटा, राममणि बराल, नरोत्तम सुवेदी र भविन्द्र कार्की रहेका महासचिव रोकाले जनाएका छन् ।

उक्त अधिवेशनको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मिडिया कसैप्रति पनि पूर्वाग्रही हुन नहुने प्रष्ट पार्दै निष्पक्ष समाचार सम्प्रेषण गर्नु नै पत्रकारको कर्तब्य भएको बताएका छन् ।

सुशासन कायम गर्न मिडियाको खबरदारी भैरहनुपर्नेमा जोड दिंदै उनले मिडियाका कारण धेरै कुरामा सुधार भएको बताए । आफ्नो नगरपालिकाले स्वास्थ्य र शिक्षामा उल्लेखनीय बिकास गरेको बताउदै उनले मिडियाले राम्रो काममा हौसला र नराम्रो भए सचेत पार्नुपर्ने आवश्यकता औल्याए । शिक्षमा मात्र २९ करोड रुपैयाँ बजेट छुट्याएर शिक्षकको दरबन्दी थपेको, दिवा खाजा कार्यक्रमलाई थप बजेट दिएको, स्थानीय पाठ्यक्रम लागू गरेको जस्ता कार्यलाई संचारमाध्यमले प्राथमिकता नदिएको उनको गुनासो छ ।

त्यसैगरी नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मृगौला रोगी लाई डायलसिस सेवा प्रदान गरिएको, सिटी स्क्यान सेवा शुरु गरिएको तथा एकल महिला, दलित र ज्येष्ठ नागरिकको स्वास्थ्य विमा नि शुल्क गरिएको उनले जानकारी गराए । खानेपानीमा पनि नगरपालिका आत्मनिर्भर भएको उनको भनाइ छ । तर, सामाजिक विकासलाई मिडियाले उपेक्षा गरीराखेको उनले गुनासो गरेका छन् ।

मेयर श्रेष्ठले नेपाल पत्रकार महासंघसँग सहकार्य गरी नगरको स्थानीय सञ्चार नीति निर्माण गरेर सञ्चारमाध्यमको प्रवद्र्धनको लागि कार्य गर्ने पनि प्रतिवद्धता प्रकट गरेका छन् ।

उक्त अवसरमा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले स्थानीय टोलको नाम स्थानीय भाषामा राखेको, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी गराए । उनले सञ्चारमाध्यम र सञ्चारकर्मी मुलुकको जिम्मेवार संस्था र नागरिक भएको चर्चा गर्दै कहिले कहिँ एकतर्फीरुपमा आक्षेप लगाएर समाचार प्रकाशन हुँदा दुःख लाग्ने गरेको समेत बताएका छन् ।

संचारमाध्यमले झुटो सूचना दिएर आफूलाई समेत पीडित बनाएको खुलासा गर्दै उनले पत्रकारिता क्षेत्रमा व्यवसायिक मर्यादा नहुँदा नगरपालिकाले गरेका राम्रो कामको प्रचार प्रसार हुन् नसकेको गुनासो गरे ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिता क्षेत्रमा बहुआयामिक चुनौतिहरु थपिएको भन्दै त्यसलाई सामना गर्ने गरी अघि बढ्नु पर्नेमा जोड दिए ।

“सामाजिक संजालको बढ्दो प्रयोग, मिडियामा लगानीको अभाव, लोककल्याणकारी विज्ञापनको दुरुपयोग, संचार कानूनको अभावले संचारमाध्यमले समस्या झेलिरहेका छन्,” बिष्टले भन्नुभयो, “गैरपत्रकारहरु महासंघबाट अलग नगर्दा पत्रकारहरुको मर्यादा र सम्मानमा धक्का लागेको छ । त्यसैले सदस्यता शुद्धिकरण आवश्यक भएको हो ।”

प्रेस सेन्टरका नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले संचार क्षेत्रमा देखिएका विकृतिलाई हटाउँदै महासंघमा सदस्यता शुद्धिकरणको अभियानलाई चाँडो टुंगामा पुर्याउनुपर्नेमा जोड दिए । पत्रकारले श्रमको उचित मूल्य पाउने पर्ने देखि पत्रकारको गुणस्तरीय पेशागत जीवन र स्वरोजगारमूलक साना लगानीका मिडियाको संरक्षण गर्न प्रेस सेन्टर अग्र मोर्चामा रहेर लडिरहेको उनको भनाइ छ ।

लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडीले महासंघमा सदस्यता शुद्धिकरण जरुरी भएको भन्दै सदस्यता टुंग्याएर मात्र अधिवेशन गर्नु सुझाव दिएका छन् भने सङ लगानीका मिडियाको संरक्षण गर्न सरकारलाई दबाब सिर्जना गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, महासंघका केन्द्रीय प्रतिनिधि शन्तराम विडारी, केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, महासंघको बागमति प्रदेश अध्यक्ष शिवप्रसाद देवकोटा, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, काठमाडौंका सूर्य सुवेदी र ललितपुरका अध्यक्ष सागर न्यौपाने, श्रमजीवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैशी, प्रेस चौतारी नेपालका उपत्यका अध्यक्ष हेमराज सिलवाल, समाजवादी प्रेस संगठनका उपत्यका अध्यक्ष आशिष गुरागाईं पत्रकार भावना विद्रोही लगायतले मन्तब्य राखेको उद्घाटन सत्रको अध्यक्षता प्रदेश अध्यक्ष श्रीजन झाले गरेका थिए । प्रदेश सदस्य रत्न श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रममा उपाध्यक्ष रोजिना थापाले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको संचालन भने महासचिव टेनिस रोकाले गरेका थिए ।

अधिवेशनको बन्द सत्रले अध्यक्ष झा, महासचिव टेनिस रोका र कोषाध्यक्ष अर्जुन पन्तले पेश गरेका प्रतिवेदन सर्वसम्मत पारित गरेको सचिव अमर भुजुले जनाएका छन् ।

सम्बन्धित समाचार

Advertisement