साउनमा ब्रत : किन, कसरी, कसले बस्ने ?

अनलाइन दर्पण 2018-07-28
img

काठमाडौं । यो साउन महिना । मांशहारी मानिस पनि यस महिनामा शाकाहारी बन्ने प्रयास गर्दछन् । धार्मिक अनुष्ठान, पुजाआजा तथा व्रत बस्ने पनि यही महिनामा धेरै हुन्छन् । कतिलाई यो आडम्बर वा अन्धविश्वास जस्तो लाग्ला तर होइन । साउन महिनामा सात्विक भोजन गर्नु, उपवास बस्नु, धार्मिक कर्ममा संलग्न हुनुको सामाजिक तथा वैज्ञानिक महत्व पनि छ ।

किन बस्ने उपवास एवं ब्रत ?

भनिन्छ, ग्रह–उपग्रहको प्रभावले यसबेला हाम्रो शरीर कमजोर हुन्छ । पाचन यन्त्र कमजोर हुन्छ । यसबेला उत्तेजना, आवेग, कामवासना बढ्छ । त्यसो त वर्षायाम हुने वायुमण्डल ओसिलो हुन्छ, जसले विभिन्न संक्रमण फैलाउने संभावना अत्याधिक हुन्छ । विषालु किराहरुको संक्रमण पनि यहि बेला हुन्छ । त्यसैले शरीरमा हुनसक्ने संभावित संक्रमणबाट बच्न र शारीरिक स्वस्थ्य कायम राख्न उपवास एवं ब्रतले ठूलो महत्व राख्छ । त्यस्तै, मनलाई सन्तुलित र शान्त राख्नका लागि धार्मिक कार्यक्रमले सघाउ पुर्‍याउँछ ।

कस्तो छ परम्परा ?

विशेषगरी महिलाहबरु यस महिनामा महादेवको आराधना गरी आफ्ना श्रीमानको लामो आयुको लागि उपवास एवं ब्रत बस्ने गर्छन् । त्यस्तै, विवाह नभएका युवतीहरु राम्रो श्रीमान् पाउने मनोकांक्षा सहित उपवास बस्ने चलन छ । आखिर जुनसुकै मनासयले उपवास एवं ब्रत बसेपनि त्यसको विधी भने सिलसिलाबद्ध हुन जरुरी छ । त्यसैले उपवास एवं ब्रत बस्नुअघि निम्न कुरामा ध्यान दिनैपर्छ ।

१. उपवास एवं ब्रत बस्नुअघि मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । उपवास बसेको बेला धेरै शारीरिक श्रम गर्नु उचित हुँदैन । मनलाई शान्त राख्नुपर्छ । प्रशन्न हुनुपर्छ ।

२. साउनको सोमवार वा अन्य जुनसुकै दिन उपवास एवं ब्रत बस्ने भए त्यस दिन भन्दा दुई, तीन दिन पहिले देखि नै फलफुल तथा तरकारीको सेवन बढी मात्रामा गर्नुपर्छ । तर यदि साउन महिनाभर उपवास एवं ब्रत बस्ने हो भने चाहि त्यसको लागि विशेष तयारी आवश्यक छ ।

३ . उपवास एवं ब्रत बस्नु दुई, तीन दिन पहिलेदेखि अली बढी अन्न सेवन गर्ने । उपवास एवं ब्रत बस्नु एक , दुई दिन अगाडी एक समय रोटी, सलाद तथा तरकारी तथा फलफुलको सेवन गरौ ।

४ . उपवास एवं ब्रत बसेको बेला एक गिलास दुध, कागतीपानी, जुस र फलफूल सेवन गर्न सकिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन दिदैन ।

५. धेरै दिनसम्म उपवास एवं ब्रत बस्ने हो भने ३÷४ दिन सम्मम भोक लागेको महसुस हुनसक्छ । यस्तो अवस्थामा कागती पानी, मह वा २÷३ गिलास केवल पानी पिउनाले मात्र पनि पेटको भोक हट्ने गर्छ ।

६. कतिले दिनमा एक छाक खाना मात्र पनि खाने गर्छन् । यसरी दिनभर भोकै बसेर राती एकसाथ धेरै खानेकुरा भने सेवन गर्नु हुँदैन ।

७. उपवास एवं ब्रत बस्दा विहान बेलुकी प्रणायाम गर्नु तथा मौन रहनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । त्यस्तै, शरीर तथा मस्तिष्कलाई पनि भरपूर मात्रामा आराम दिनु उचित हुन्छ ।

८.  उपवास एवं ब्रत बस्दा मुख सुक्ने तथा दिशा नहुने समस्या आउन सक्छ । यसबाट बच्नको लागि अमला, नासपाती , त्रिफला, पालुङ्गोको सुप तथा करेलाको रसको सेवन पेट सफा गर्न उचित मानिन्छ । त्यस्तै उपवास एवं ब्रत बस्दा पिसाब पोल्न, पेट दुख्ने, छाती पोल्ने , कव्जियत, संक्रमण तथा गन्हाउने पसिना लगायतको समस्या पैदा हुने गर्छ । यस्तो अवस्थामा एकै पटक पानी पिउनुको सट्टा एक एक घण्टाका फरकमा कागती पानीको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

९. निराहार ब्रत बस्नुअघि केहि सावधानी अपनाउनुपर्छ । पानीसमेत सेवन नगर्दा शरीरमा ‘डिहाइड्रेसन’ हुनुका साथै शरीरमा भएका हानीकारक पदार्थ शरीरले बाहिर फाल्न सक्दैन जसले गर्दा रोगको संक्रमण हुने सम्भावना बढेर जान्छ ।

उपवासको फाइदा

उपवासले शरीरका हरेक अंगले प्राकृतिक रूपमा काम गर्न सक्छन् ।

पाचन प्रणाली सक्रिय बनाउनुका साथै अपच, ग्यास्ट्राइटिस, कब्जियत, पायल्स, आउँ, कोलाइटिसजस्ता पेटसम्बन्धी रोगहरू निको पार्न मद्दत गर्छ ।

मोटोपन तथा शरीरको अनावश्यक बोसोलाई घटाउँछ ।

स्नायु प्रणालीलाई सक्रिय बनाउँछ ।

फोक्सो, कलेजो तथा मिर्गाैलाजस्ता अंगको कार्यक्षमता बढाउँछ ।

स्वस्थ व्यक्तिले पनि एक वर्षमा एकपटक मध्यम उपवास गरेमा शरीर स्वस्थ एवं दीर्घायु रहन सकिन्छ ।

रक्तसञ्चार क्रियालाई सक्रिय बनाउनुका साथै रगतमा हुने चिल्लो कोलेस्ट्रोल कम गर्छ ।

सावधानी

१. कुनै रोग छ वा औषधी सेवन गरिरहेको छ भने ब्रत एवं उपवास बस्नु हुँदैन । वा चिकित्सकको परामर्श आवश्यक हुन्छ ।

२. गर्भावस्थामा ब्रत तथा उपवास बस्नु उपयुक्त हुन्न ।

३. कमजोरी भएमा वा कुनै शारीरिक समस्या भएमा उपवास बस्नु उपयुक्त हुँदैन ।

४. उपवास बस्नुअघि आफ्नो शारीरिक अवस्था थाहा हुनुपर्छ ।

५. उपवास विधीपूर्वक सिलसिलावद्ध ढंगले गर्नुपर्छ ।

सम्बन्धित समाचार

Advertisement