दोस्रो मध्यपुर थिमि वडा लिग माघ २९ गतेदेखी हुने

अनलाइन दर्पण 2024-01-31
img

भक्तपुर, माघ १७ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा यही माघ २९ गतेदेखी दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा मध्यपुर थिमिका वडा नं. १ देखी ९ सम्मको ९ वटा वडा टिमको सहभागिता रहने मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा एशोसियसनका अध्यक्ष एवम् नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा गोलकिपर उपेन्द्रमान सिंहले जानकारी दिए ।

प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाईने छ । जसअनुसार एक टोलीले ८ खेल खेल्नेछ भने कुल ३६ खेल हुनेछ । खेल सानो थिमिस्थित एशोसियसनको मैदानमा हुनेछ । खेल तालिका भने अर्को साता प्रकाशन गरिने अध्यक्ष सिंहले बताए ।

प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाका स्थायी बासिन्दाले मात्र भाग लिन पाउनेछ । मध्यपुर थिमि नगरभित्र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगितामा मध्यपुर स्थायी बासिन्दालाई मात्र सहभागिता गराउने नियम बनाईएको सिंहले बताए । उनले अर्को वर्षदेखी एक टोलीमा बढीमा ३ जना खेलाडी मध्यपुर बाहिरका पनि सहभागी गराउने विषयमा छलफल भइरहेको जानकारी पनि दिए ।

लिगको विजेताले २ लाख ५० हजार, दोस्रोले १ लाख २५ हजार र तेस्रो टोलीले ६० हजार रुपैयाँ नगद पुरस्कारसहित आकर्षक ट्रफी, खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने एशोसियसनका उपाध्यक्ष अष्टक कवेले जानकारी दिए । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीले ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले समान १० हजार पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले २० हजार र फेयर प्ले टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको लागि कुल २८ लाख २४ हजार खर्च हुने अनुमान गरिएको उपाध्यक्ष कवेले बताए । प्रतियोगिता सफलतापूवर्क सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिने कवेले जानकारी दिए ।
प्रतियोगिताका लागि मध्यपुर थिमि नगरपालिकाले २५ लाख रुपैंया उपलब्ध गराउने भएको छ । मध्यपुर थिमि नगरपालिका वडा लिग सञ्चालन सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सो जानकारी दिएका हुन । सो अवसरमा उनले मध्यपुर थिमि नगर खेलकुदको लागि उर्वरभुमी रहेको बताउँदैं विगतमा जस्तै उत्कृष्ट खेलाडी उत्पादन गर्न नगरपालिकाले फुटबलमा मात्र होइन अन्य खेलमा समेत लगानी गरिरहेको जानकारी दिए ।

उनले मध्यपुर थिमिमा मेयर कपको नाममा कुनै पनि प्रतियोगिता नहुने जानकारी दिँदैं हरेक खेलको प्रतियोगिता मध्यपुर थिमि कपको नाममा सञ्चालन हुने बताए । उनले अर्को वर्षदेखी कराँते, व्याडमिन्टनलगायतका खेललाई पनि प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने बताए । उनले एशोसियसनको सहकार्यमा फुटबलको ग्रासरुट लिग सञ्चालन भइरहेको र वडा लिगले गर्दा वडा वडामा फुटबल माहोल बन्दै गएको बताए ।

सम्बन्धित समाचार

Advertisement