देश भित्र देखिएका समस्या र त्यसका निराकरण

अनलाइन दर्पण 2022-04-17
img

  सुरेश प्रसाद निरौला

“देशभित्र देखिएका केही समस्या र समाधानहरु” समस्याहरु ;
हामी सबैले जानेको कुरा आफुमात्र जान्ने, सुन्ने, विद्धान र सर्व ज्ञानी आफु सही र बाकी अरु सबै गलत हुन् भन्ने सोचले ग्रस्त रोगीहरु, हाम्रो देशमा प्रसस्तै भेट्न र देख्न पाईन्छ । यदि नेपालको राजनीतिमा यि सबै पक्षहरुले आ–आफ्नो जिम्मेवारी आ–आफुले आ–आफ्नो ठाँउबाट मन, वचन र कर्मले पालना गरी व्यवहारमै उतार्ने हो भने हामीहरु कसैले पनि कसैलाई सही र गलतको बिल्ला लगाउदै औला उठाएर आरोप प्रत्यारोप गर्नै पर्दैन जस्तो मलाई लाग्छ ।

निर्वाचित वडा सदस्य देखि प्रदेश र केन्द्रका सभा सदस्यहरु सम्मले राष्ट्र र जनताहरु प्रति उत्तरदायी रहि जिम्मेवार ढङ्गबाट कार्य गर्ने हो भने पनि आम नेपाली जनताहरुको लागि राम्रो हुने थियो कि ?

 शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय, पत्रकारीता, मानव अधिकार, नागरिक अगुवा, राष्ट्रभक्त, कर्मचारी, न्यायलाय, एनजिओ, आइएनजिओ शान्ती सुरक्षा, त्यसैगरी स्कुल कलेज, शिक्षक – शिक्षिका विद्यार्थी भाइ–बहिनिहरु आदीले आफ्नो देशको निति निर्देशन कानुन अनुसारको मर्यादा भित्र रही आम नेपाली जनताहरुको भलाई र राष्ट्रको शिर उच्च राख्ने गरी मन, वचन र कर्मले आ–आफ्नो क्षेत्रमा कार्य गर्ने हो भने पनि हामी स्वाभीमानी नेपालीहरु स्वाभिमानिकै साथ नेपाल भित्रै बस्न सक्ने र काम गर्ने वातावरण श्रृजना हुन्थ्यो होला होइन र ?

यदी हामीहरु यि सबै कार्यहरु गर्न सक्दैनौ र गर्दैनौ भने आखिर हाम्रो देश नेपाल र आम नेपाली दाजु–भाई, दिदि बहिनीहरुको सुरक्षा, सेवा र रक्षा भने कस्ले गर्छ ? खाली माथितिर मात्रै फर्किएर नेता, मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपतिलाई मात्र औला उठाएर सतोसराप गरी आफुहरु भने पानि माथिको ओभानो मात्र हुन मिल्छ र ? खाली सरकारलाई मात्र दोष दिएर हामी आफुहरु भने कर्तव्यच्युत हुने हो भने आखिर हामीहरु कहाँ पुग्न खोज्दै छौँ ?

उद्योग–धन्दा, कल–कारखानाहरु ध्वस्त गरी बन्द गर्दै जाने, निर्माणमा ध्यान नदिने , अनि काम खोज्ने शिलशिलामा बिदेश तिर मात्र हामफाल्ने र देशको कानुन, सिष्टम, पद्धत्ती, प्रक्रिया नमान्ने, आफु खुशी गर्न पाए खुशी हुने नभए जिन्दावाद–मुर्दावाद भन्दै सडकमा उत्रिहाल्ने हो भने आखिर हामीहरु यो देशमा के गर्न खोज्दै छाँै ?
 अधिकाँस हामी नेपालीहरु पश्चिमा संस्कृतिमा रमाउदै त्यसैको अनुसरण गर्नमा नै व्यस्त छौँ । अनि हाम्रो देश भित्रका जाती, भाषा, धर्म , संस्कृति र रितिरिवाज लत्याउने अनि हामीहरु चाही हिन्दुत्वको गित गाउदै बाटामा रतेउली खेल्नमा मात्रै व्यस्त रहने हो भने आखिर हामीहरुलाई हिन्दु राष्ट्र नै किन र कसका लागि चाहियो ? 

एउटा सुचना प्रवाह गर्ने मिडियाले भ्रामक, अनैतिक र प्रमाण विनाका गुणस्तरहिन सुचनाहरु जनता र राष्ट्रलाई सु–सुचित गर्न थाले भने हामीले हाम्रो देश र नेपाली समाजलाई कहाँ पु¥याउन खोज्दै छाँै ? अनि यो निकाय राष्ट्र र जनताहरु प्रति उत्तरदायि हुनु पर्दैन र ? आजसम्म अरु तिर देखाइएको औला आफैँतिर फर्कियो भने मिडीयाहरुको के दशा होला ?यो त उही “विनास काले विपरित बुद्धी” भने जस्तै भएन र ?

यो देशको भविष्यका कर्णाधार हुन् भनि चिनिने विद्यार्थी भाइबहिनिहरुलाई गुणस्तर शिक्षा दिने शिक्षक शिक्षिकाहरुबाट गुणस्तरहिन उल्टो शिक्षा दिने काम भयो भने हामी र हाम्रो देशको स्थितिमा के होला ? यदी बेलैमा हामी होसियार भएनौ भने र जिम्मेवार पनि बन्न सकेनौँ भने पछि पछुताएर मात्र के हुन्छ र ? अनि यो क्षेत्रका ति जिम्मेवार व्यक्तिहरुले भविष्यका कर्णाधारहरु प्रति जिम्मेवार वन्नु पर्छ कि पर्दैन ? कि यस्को समाधान पनि माथितिरै खोज्ने हो ?

हाम्रो देशकी एउटी छोरी, बहिनी, चेलीको बलात्कार हुन्छ, अनि बलात्कारीलाई समात्न जाने प्रहरी जवान बहिनीको नै हत्या गरिन्छ, त्यसपछि भनिन्छ पुलिस प्रशासन कहाँ छ ? सरकारको विरुद्ध नाराबाजी गरिन्छ, जिन्दाबाद–मुर्दाबाद तर त्यो हत्यारा तेही समाज भित्र हुन्छ उसलाई लुकाइन्छ, अनि भनिन्छ हामीलाई निसाफ चाहियो, हामीले निसाफ माग्दै गर्दा त्यो न्याय निसाफ चाही हामीलाइ कुन निकाय र कहाँबाट पाईन्छ होला ?

भ्रष्टहरुले सबैलाई भ्रष्ट नै देखेपछी ज्यानमाराहरुले सबैलाई ज्यानमारा नै देखेपछि हामी सबैले बुझ्नु पर्छ कि आफ्नो नकारात्मक सोच भइसकेपछि सम्पूर्ण उसको सोच नै नकारात्मक हुन्छ यदी आफु सकारात्मक सोचमा उभिएपछि फेरी सम्पूर्ण उसका सोचहरुनै सकारात्मक हुने गर्दछन् त्यसर्थ यदी यो भनाइलाई हामी सबैले आत्मसाथ गर्ने हो भने सायद हामी नेपालीहरु भित्र रहेको कुदृष्टी र कु–बुद्धीको अन्त्य हुने थियो होला कि ?

अरुहरुलाई गाली गर्दा, आरोप लगाउदा, अपशब्द प्रयोग गर्दा आफुलाई आनन्द आउने र आफु ठुलो मान्छे भएको महसुश गर्ने व्यक्ति जो सुकै होस् त्यो व्यक्ति मानसिक रोगी, दुर्वल वा आत्मारती नै हो, त्यसर्थ तेस्ता व्यक्तिहरुसँग सावधान रहनुहोस् किनकी उ कहाँ, कहिले र कतिखेर कता पल्टिन्छ त्यसको पत्तै हुदैन र जो मान्छे जसरी एउटा बाट अर्कोमा परिणत हुन जान्छ अनि उ त्यसैगरी पुःन अर्कोमा जान पनि सहज र सरल मान्दछ भने यस्ताखाले ब्यक्तिहरुको आचरण संस्कृति पेशा नै बनिसकेको हुने हुदा यस्ता खाले दोग्लाहरुबाट सावधान रहौं । यो पनि कहाँ, कुनबेला, कतिखेर आफुविरुद्धै जाइलाग्ने हो आफुलाई नै थाहा हुदैन । किनकी यि सबै कुरा व्यवहारमा नै देखिसकिएको छ नी होइन र ? 

मानिसहरुको जन्म – मृत्यु सत्य हो तर कसैको मृत्यु सगरमाथा भन्दा पनि गहकिलो हुनपुग्छ भने कसैको कपास भन्दा पनि हलुङ्गो हुने गर्छ त्यसर्थ यसको गहिराईलाई बुझ्ने कोसिस गरौँ । श्रोता दिर्घामा रहेका व्यक्तिहरुलाई अवुझ र आफ्ना दासहरु मात्र हुन् भन्ने वुझेर भाषण दिने ति नेताहरुले आफ्नो बोलीमा आफैँ मुर्ख भएको कुराको महशुशनै गर्दैनन् किनकी त्यो हाम्रो र्दुभाग्य हो । त्यहाँ उपस्थित कुनै व्यक्तिले पनि त्यसको विरुद्धमा बोल्ने आटनै गर्दैनन् । सायद यही नै हाम्र प्रमुख कमजोरी होला कि होइन ?

अनि हामी जन्मने नेपालमा –उदाहारणहरु दिदै कुरा उठाउने बिदेसी राष्ट्रहरुको अझ व्यवहार शैली, संस्कृति अपनाउने पश्चिमा राष्ट्रहरुको अनि देश भित्र कुर्लने नाम हिन्दु राष्ट्रको , हाम्रो जाती, भाषा, धर्म, लिङ्ग, संस्कृति र रितिरिवाज, पुजापाठ, दान आदी कार्यहरुलाई उखालेर फालिदिने, आमा टि–सर्ट र बुबा पेन्ट सटमा, टुप्पी काटी, जनाइ फाली रमाउने अनि तिनै संस्कृति फालाहरु छोरीको गुन्यु चोली र छोराको चुडाकर्मको निम्तो कार्ड बाढ्दै भोज लगाउने, नाचगान पनि अंग्रेजी र हिन्दीमा नचाउने, खाने–नखाने, गर्ने–नगर्ने, सबै कार्यहरु पश्चिमाहरुसंग मिल्दोजुल्दो नै गर्ने त्यसमा आफुलाई गर्व महशुश पनि गर्ने अनि यि तमाम सबैखाले आडम्बरीहरुका बावजुद आफुलाई सर्वश्रेष्ठ ठान्ने गरेको देख्दा आज नेपाल आमाले नै आफ्ना यस्ता कु संस्कारी सन्तानहरुलाई देखि अचम्मित भएको मैले त महशुश गरेको छु । कि होइन साथीहरु हो कि अलि धेरै भयो की ?

आ–आफ्नो निहित स्वार्थ सिद्ध गर्नका लागि राष्ट्र र जनता प्रति वास्तै नगरी नचाहिदा धेरै अफवाहहरु फैलाउन कोसिस गर्ने, आफु मात्रै ठिक र अरु सबै बेठिक भन्न रुचाउने, आफुले बोलेको र भुकेको पत्तो नपाउने, एउटा भनाई छ नि भनिन्छ “कोही कोही उ आफ्नो जिउको भैसी पनि देख्दैनरे तर अर्काको जिउको भने जुम्रा पनि देख्छ अरे” भने झैं एउटा नेतृत्व तहमा रहेका नेता जस्तो व्यक्तित्वले गोबल्स शैलीमा आफ्नो हैसियत नै बिर्सिएर गाई, भैसी, भेडा, बाख्रा चराउने केही अनपढ मुर्ख गोठालाहरुले बोल्ने शैली र गर्ने व्यवहार जस्तै गरी सभा, समारोह, मिटिङ्ग, भेलाहरुमा बोल्छ र गर्छ अनि उ आफु सर्वाङ्ग क्रमिक रुपमा नाग्गिएर गएको  छ तर आफुले लुगा लगाएको छु भन्ने महशुु गर्छ भने उ जो कोही होस् नेता, अभिनेता, मन्त्री वा अन्य कोही, कि उसको दिमाग खुस्किएको हुनु पर्छ कि उ हतास मनसायले ग्रस्त रोगी हुनुपर्छ कि कसो हो ?

सायद मैले उठाएका सबैखाले तह र तप्काका निकायहरुले राष्ट्र र जनताहरु प्रतिको सेवा, निष्ठा, भक्तिभाव पूर्णढङ्गबाट मन, वचन र कर्मले सम्पुर्ण कार्यको सफलताको प्रतिज्ञा गरी कार्य गर्ने हो भने यि तमाम कुराहरु मैले उठाउनु नै पर्ने थियन होला तर यहाँ त जिम्मेवारी अनुसार काम गर्ने त परै जाओस् यहाँ त उल्टो आफुमात्र ठिक, योग्य र बौद्धिक मानि अरु सबै बाँकीलाई अयोग्य सावित गर्दै हिड्ने प्रवृति हावी भएकाले हाम्रो देशमा प्रगति उन्नतिको साटो अधोगतीको रेखा तिर बढेको देखिन्छ । त्यसकारण सम्पूर्ण तह र तप्काले आ–आफुभित्र रहेको कार्यक्षेत्रलाई आ–आफुले नै समाली राष्ट्र र जनता प्रति उत्तरदायी हुन सिकौँ अनि मात्र हामीले माथितिर फर्केर बोल्न सुहाउला नत्र उही, जहाँको त्यही होइएला होईन र ? यसमा धेरै प्रश्नहरुपनि उठ्न सक्छन् यदी सबैले आ–आफ्नो जिम्मेवारी आ–आफ्नै ठाऊँ बाट पूर्ण गरे अरु केही नै गर्नु पर्दैन नि तर विडम्वना यही छ कि सवै निकायहरु जिम्मेवार बन्नै सक्दैनन् त्यसर्थ मेरो भनाई सबै जिम्मेवार बनौ, जिम्मेवार बनाऊँ, यसमै देश र जनताको भलाई हुन्छ । अन्यथा भन्न सकिन्न ।
 समाधानाहरुः
- हामी सबैले जिम्मेवार बनौ र जिम्मेवारीको महशुस पनि गरौँ ।
- सतही हावामा होईन – सत्य र तथ्यको आधारमा मात्र बोल्ने गरौँ ।
- आ–आफ्नो निहीत स्वार्थहरुलाई पुरा गर्नका लागि देश र जनतालाई वेवास्ता नगरौँ ।
- सम्पूर्ण निकायहरुले आ–आफ्नो जिम्माको  जिम्मेवारीहरु पुरा गर्न एक भएर लागौँ ।
- अरुलाई गाली गलौज मात्र होइन  आ–आफ्ना कमी कमजोरीहरुको आफु पनि मुल्याङ्कन गरी आत्मसाथ गर्न सिकौँ ।
- भ्रष्टचार आफु पनि नगरौँ – अरुलाई पनि गर्न नदिऊँ ।
- आफुलाई राजा, महाराजा झैँ नठाँनौ – जसलाई हामी सबैले मिलेर ६२÷६३ सालको जनआन्दोलनबाटै फालिसकेका छौँ ।
- कोही कसैको दासत्वनै स्वीकार गर्नु पर्ने हो र उसको राजशी शैलीलाई नै आत्मसाथ गर्दै अघि जाने हो भने राजा र राजसंस्थालाई फाल्नै पर्ने थिएन, त्यसर्थ यसको हेक्का सबैले राखौँ । 
- आफुले अरुलाई आरोप–प्रत्यारोप लगाई रहंदा आफुले गरेका कमिकमजोरीहरुको पनि ख्याल गर्दै आफुले आफ्नै मुल्याङ्कन गराँै ।
- कुनै काम आफुले गरे तिललाइ पहाड बनाउने र त्यही काम अरुले गरे पहाडलाई तिल बनाउने प्रवृतिको अन्त्य गरौँ ।
- आफु संग भएकाहरुलाई वेवास्ता गर्ने अनि नवआगन्तुकहरुलाई काखमा राख्ने प्रवृतिले कामकुरो उल्टो हुन जान्छ । भनिन्छ नि “आमाको दुध चुसेर भएन बाबुको घुंडो” भनेजस्तै हो , सबैले यस्को ख्याल गरँौ ।
- आ–आफुभित्र रहेका रिस, राग , दम्भ, अहंकार र कुण्ठाहरुले हामी आफैँ सकिन्छौँ, त्यसर्थ हामी सबैले यसको ख्याल गर्दै सचेत पनि रहाँै ।
- हरेक समस्यालाई राजनितीकरण मात्र नगरौँ यसलाई सकारात्मक ढङ्गबाट हेर्ने बानी बसालौँ ।
- कोही कसैलाई पनि अस्लिल र अपशब्दहरु प्रयोग नगरौँ, त्यसले तपाई आफैँको हैसियत प्रदर्शन गरि रहेको हुनेछ । भनिन्छ नि “केलाइ भन्दा के लाइ लाज” भने जस्तै पछि उखानमा मिल्न नजाओस् ।
अस्तु ।।।।

सम्बन्धित समाचार

Advertisement