सुरेश प्रसाद निरौला
श्रदेय आदरणीय अध्यक्ष मामा कमरेड केपी शर्मा ओलीज्यु, सादर प्रणाम, नमस्कार, अभिवादन I
आजका मितीसम्म म र मेरो परिवार सकुशल रही यहाँ र यहाँको परिवारमा पनि सकुशलै होला भन्ने आशा र विश्वास लिएको छु I मामा म पनि २०४० साल देखी काठमाण्डौ मै हजुरहरुको भाई, छोरा, भान्जो, भतिजो तथा कार्यकर्ताकै रुपमा काम गर्दै आजका मितिसम्म सतिसाल झैं ठिंग उभिरहेको छु । आजका मितिसम्म म कुनै गुट न कुनै फुटमा लागे भने अब पनि म मदन-आश्रितमा रहुन्जेल सम्म कुनै टुट, फुट र गुटमा पनि लाग्ने छैन ।
स्वर्गीय, नविन विचारक जननेता कमरेड मदन कुमार भण्डारीको समीपमा रही उहाँ यस धर्तिमा रहुन्जेलसम्म उहाँसगै नेपालका ६३ जिल्लाहरु घुम्ने अवसर पनि प्राप्त भयो I त्यस समयमा मसंग भएको ९० सि.सि. को होण्डा मोटरसाइकलमा उहालाई लिएर उपत्यकाका धेरै स्थानहरुका कार्यक्रमहरुमा हिड्ने अबसर पनि प्राप्त गरे I सायद यो मेरो सौभाग्यले पनि होला । अध्यक्ष कमरेड मैले चिने, जाने, बुझेका नेताहरु मध्ये छोटो समयमा भए पनि मदन कमरेडका विचार, बानी, व्यहोरा, बस-उठ आदी मैले नजिकबाट महशुस गर्न पाएको छु । उहाँले प्रतिपादन गर्नुभएका विचारहरु त सबै जनताको बहुदलिय जनवाद भित्र नै आईसकेका छन् । तर पनि उहाँको युवा शक्तिहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ भन्ने सोचलाई भने पुरा गर्नका लागि प्रतिष्ठानले प्राविधिक शिक्षालयको स्थापना गरी अझ न्युनतम शुल्कमा दुर्गम र सहरका बच्चाहरुलाई अध्ययन– अध्यापन गर्न गराउन आजका मितिसम्म हामीहरु सफल भएका छौँ । त्यसैले सबै पार्टी काम छोडी म पनि हालसम्म यही संस्थामा अहोरात्र खटी रमाएरै बसेको छु I त्यो पनि खाली उहाँकै सोचलाई कसरी पुरा गर्न सकिन्छ भन्ने सोचेर मात्र हो ।
तसर्थ मामा यो हाम्रो पार्टी एमाले धेरै पार्टीहरु मिलाएर बनाएको हो जस्तो मलाई लाग्छ । अझ मदन कमरेडको सोच थियो कि नेपालका सबै वामपन्थी पार्टीहरुलाई एउटै मोर्चा भित्र गोलबन्ध गरी एक बिशाल एकिकृत नेकपा (नेपाल कम्युनिष्ट पार्टी) बनाउनुपर्छ भन्ने उहांको सोचलाई पुरा गर्नुपर्ने दायित्व सायद अब उहाँले यहाँहरुलाई नै सुम्पिएर जानु भएको हो जस्तो मलाई लाग्दछ । कमरेड उहाँ प्रति हामीले अरु केही गर्न नसके पनि उहाँको सोचलाई जिवन्त राख्नकै लागि मात्र भए पनि तत्काल हाम्रो पार्टी भित्र देखिएका सबैखाले गलत गतिबिधिहरुको अन्त्य गरी एउटा सही निकास दिने ठाँउमा कमरेड अध्यक्ष मात्रै हुनुहुन्छ किनकी अरुहरुले त लिने मात्र हो दिने ठाँउमा उहाँहरु हुनुहुन्न ।
समय र परिस्थितिले साथ दियो भने मामा हामी जन्मिएको मृत्युकै लागि हो , तर खाली जन्म पछि मृत्यु नआउन्जेल हामीहरु एउटा स्कृप्ट अनुसार विभिन्न खाले पात्रहरुका रुपमा कहिले छोरा, बाउ, मामा, श्रीमान, अध्यक्ष, सदस्य, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति आदी-आदी विभिन्न ठाँउहरुमा पुग्न सकेका होलाऊ तसर्थ तिनै ठाँउहरुमा गएका बेला हामीहरुले पनि आफ्नो भुमिका त्यही अनुसार निर्वाह गर्नुपर्ने हुन्छ I त्यसैले हामी सबै नांगै आयौं र जादा पनि हामी सबै नाँगै जानेछौं । त्यसकारण कमरेड यो कुनै विचार–सिद्धान्तको लडाई होइन खाली हामीभित्र रहेको इगोको नकारात्मक सोचको एउटा दम्भ, अहंकार,कुण्ठा र तुष मात्र हो । यसलाई खाली सकारात्मक सोचका साथ हामी सबैले आत्मसाथ गर्न सक्यौं भने हामी भित्र रहेका सबैखाले नकारात्मक सोच र कु– प्रबृतिहरुको अन्त्य हुंदै जानेछ I मामा, मरी लानु केही छैन खाली ठुलो छाती मात्र गर्न सक्नु पर्यो होइन भने अरु र हजुरमा के फरक होला र ?
मामा यहाँलाई धेरै नै दुख,पिडा होला तर पनि हजुर आफैँ एमालेको अभिभावक हो । नेपालमा अभिभावक भनेको अचानो नै हुनुपर्दो रहेछ । गाली गर्नु, तर्साउनुसम्म त ठिकै होला तर कसैको रिसले आफ्ना सन्तानहरुलाई बेदखल गरी घर बाहिरै जाउ भनि निकाल्नु भनेको चाँही अभिभावको दायित्व पुरा गरेको भने ठहरीने छैन I त्यसपछि आफैँलाई पछुताउनु सिवाय केही हुदैन । मामा सन्तानहरु राम्रा नराम्रा जे-जस्ता भए पनि ति सबै आफ्नै सन्तान हुन् I अरु अरुका सन्तानहरु राम्रा देखेर कहिल्यै काम लाग्दैनन् त्यसैले घरमा आगो लगाएर ताप्ने कोसिश नगरौं परिणाम अन्तमा हात लाग्यो शुन्य नै हुन्छ । यो रोदन मेरो ब्यक्तिको लागि होइन, पार्टीको हितका लागि मात्रै हो ।
यदी नविन विचारक जननेता कमरेड मदन कुमार भण्डारी र कुशल संगठक कमरेड जिवराज आश्रित, लोह पुरुष कमरेड मनमोहन अधिकारी, पार्टी संस्थापक कमरेड पुष्पलाल प्रति हामी सबैको श्रद्धा सुमनका साथ आस्था र विश्वास गर्छौ भने र साथै कम्युनिष्ट आन्दोलनद्धारा उपलब्ध उपलब्धीहरुलाई सुरक्षित राख्नुपर्छ भन्ने कुरा प्रति हामीहरु प्रष्ट छौं भने यो एउटा सानो कुराले पार्टी विभाजनसम्म गर्न सक्ने ठांउमा पुग्नु हुदैन । फेरी हामीलाई यो ठांउमा आईपुग्न करिब करिब दशकौ लाग्नेछ किनभने हामीहरुलाई आज यहाँसम्म आइपुग्न कति समय लाग्यो ? माले–एमाले हुँदा र एकिकृत एमाले हुँदा आजसम्म पनि त्यो विभाजनको रेखा मेटिन सकेको छैन भने अझ अबको फुटले त झन के हविगत होला त ?
त्यसकारण यो मेरो अर्ति, उपदेश, सुझाव केही पनि होइन, मामा खाली एउटा मेरो अनुरोध मात्र हो । प्लिज– प्लिज– प्लिज अध्यक्ष कमरेड यो पार्टीलाई नवौं महाधिवेशनमै फर्काइदिनुहोस I फर्काउदा कुनै आकाश खस्दैन, पृथ्वी पल्टदैन, आफु सानो पनि हुइदैन I यसलाई एउटा कार्यदल बनाई ल्याएका र ल्याउनुपर्ने अझै केही गर्नुपर्ने भएमा एउटा विधि तयार गरी कागजी खेस्रा मिलाउनुहोस् तर पार्टी विधान, विधि र पद्धती अनुसारले नै चलाउनुपर्छ I यो एउटा पार्टी संचालन गर्ने मेरुदण्ड पनि हो । यसो गर्दा केही केही कमरेडहरु रिसाउनु होला तर १०० प्रतिशतमा रिसाउने प्रतिशत २० मात्रै हुन्छ भने खुशी हुने ८० प्रतिशत हुन्छन I मामा होइन भने एउटा भनाई छ नि “न रहे बांस न बजे बासुरी” भनेझैँ मैले जानेका, सुनेका केही उदाहरणीय उक्तिहरुलाई प्रस्तुत गर्न चाहन्छु जस्तै
- आफु मरे पछि आफ्नाले लास समेत हेर्न नमिल्ने दिनहरु आइसके तर पनि किन हो हामी भित्रको घमण्ड र अहंकार उस्ताको उस्तै छ I
- अनि पार्टीको अन्तरिक जीवनको संबेदनशिल घडीमा पनि नेतृत्वमा संयम,बिरोधका स्वरहरु सुन्न सक्ने धैर्यता, जनताप्रतिको उदारदायी भावना र जनता बाटै नियन्त्रित जिम्मेवारी मेरो काधमा रहेको छ भन्ने कुरा नेतृत्वले भुल्नु हुदैन भन्ने कमरेड मदन कुमार भण्डारीका भनाई
- अनि पार्टी, नेता, कार्यकर्ताहरु टाढा भएपछि "मिस यु" भन्नु भन्दा संगै हुदैमा "म पनि छु नि " भनि गरिने ब्यबहारले धेरै ठुलो अर्थ लाग्छ I
- मामा आखिर घमण्ड कुन चिजको गर्नु हुन्छ, हामीहरु आज माटो माथि हिड्दैछौ भने भोलि यही माटो मुनि दबिनु पर्ने हुन्छ I
- मामा "उग्र रिसले मनिसलाई पतित बनाउछ , घमण्डले खोक्रो बनाउछ, तनाबले रोगि बनाउछ , चाप्लुसीले ढोंगी बनाउछ, हिम्मतले सफल बनाउछ भने पावर र पैसाले एक्लो बनाउछ " भन्ने कुरा बुझ्नु पर्छ I
- त्यसैले "खाली प्रतिक्षा मात्र गर्न सक्नु पर्छ, समय र परिस्थितिले सबैलाई सबै थोक देखाईदिन्छ" मान्छेको साथ र औकात कसको कति हुन्छ भन्ने समयले देखाई दिनेछ I
- त्यसकारण हातको नङ बढे नङ काट्ने हो औला होइन, पार्टीभित्र खट-पट परे दम्भ,अहंकार,घमण्ड, कुण्ठा त्याग्ने हो तर सम्बन्ध होइन् I
- मामा "मन पर्ने मनिसको गाली पनि गीत हुन्छ, मिठो बचन बोलेमा शत्रु पनि मित बन्छ" यो भनाईलाई बुझ्न सके मामा घृणा पनि प्रित बन्न पुग्छ भने अझ जिन्दगीलाई बुझ्न सके त् हार पनि जितमा परिणत हुन पुग्छ I
यी माथिका बाणी वा उक्तिहरुलाई मनन गरि आ-आफुहरु संयमित भएर देश, जनता, पार्टी,नेता, कार्यकर्ता, शुभेछुक, शुभचिन्तक, सहिद, अग्रज नेता, नेतृत्वहरुको खुसि देख्न चाहने हो भने हाल कमरेड माधब कुमार नेपालले उठाउनु भएका ६ बुदे प्रस्ताब माथि छलफल गरि अगाडी बढौं, प्रस्ताबहरु ठिक-ठिकै छन् I यो मिलनको एक कडी पनि हो जस्तो लाग्छ, अलि अलि फेरबदल भने त् भईहाल्छ नि मामा I
अन्तमा हजुरलाई यो सही निर्णय गर्न सक्ने क्षमता श्री पशुपतिनाथले प्रदान गरुन I हजुरलाई म र मेरो परिवारको तर्फबाट हार्दिक हार्दिक हार्दिक मंगलमय शुभकामना । उही हजुरको भाई, भान्जो, छोरो, भतिजो, कार्यकर्ता ...... ?
सुरेश प्रसाद निरौला
मदन–आश्रित प्रतिष्ठान, गोठाटार
२०७८।०१।२६ गते रोज १ शुभम्