नेपाली कम्युनिस्ट आन्दोलन इतिहासको ब्याज कि सुन्दर भबिस्यको सपना

अनलाइन दर्पण 2023-01-09
img

  सुरेश प्रसाद निरौला

आम निर्वाचन २०७९ सम्पन्न भई देशको राजनीतिक परिक्षाको नतिजासम्म आईपुगेका छौँ । नतिजा कतै अपेक्षित त कतै अनपेक्षित छन् । राजनीतिक दलको लागि आफुलाई, आफ्नो अवस्थालाई हेर्न यो भन्दा ठुलो र स्पष्ट ऐना अर्को नहोला । जित्नेले जिते, हार्नेले हारे, देख्नेले देखे भने देखाउनेले पनि राम्रैसँग देखाए । यति मात्र हो र, कोही लुक्नेहरु फुके त कोही भुक्नेहरु सुके, कोहि सुन्निए त कोही मोटाए । 

कुरा गरौँ कम्युनिष्टको : आफ्नो पार्टीको केन्द्र देखी वडासम्मका बहुमत सरकारहरु आँखै अगाडी अस्ताए । केही खुशी पनि छन् होला तर धेरै दुखी छन् । यति सबै हुँदा पनि आफ्नो कमी–कमजोरीलाई मम: भन्ने कसैले आँट गरेका छैनन् । बहुदलीय संसदीय प्रणालीमा ब्यक्ति गौण र पार्टी सर्वोपरी हुनुपर्ने तर विडम्बना पार्टी विचारबाट होईन अमुक व्यक्तिको सनक, दम्भ र कुण्ठाबाट चल्न विवश छ । बर्षौ बर्ष एकैजनाले निरंकुश ढङ्गमा पार्टी चलाउने प्रवृति र नेतृत्व प्रतिको महत्वकांक्षाको दलदलमा भासिएर आँखा नदेख्नु त गलत हो नै साथै नेतृत्वमा पुग्ने छाँट नदेख्नासाथ अनेक राजनीतिक शब्दजालको भुमरीमा पारेर पार्टी फुटाउने प्रवृति पनि उत्तिकै घातक हो । नेपालका कम्युनिष्ट पार्टी पट्यारलाग्दो टुटफुटको श्रृङखला र विभिन्न आरोह अवरोह झेल्दै सग्लो नेकपाको सगरमाथा बनेको थियो तर निर्णयहरु कमिटीगत भन्दा व्यक्तिगत हुन थालेपछि विभाजनको सिकार बन्न पुग्यो । विभाजन पछिको सग्लो नेकपा एमाले पनि सग्लो रहन सकेन । बहुमत पक्षबाट अल्पमत पक्षमाथी गरिएको निषेधको राजनीति र हर्कतहरुले फलत:  एमाले पनि फुट्न पुग्यो । यो फुटमा दुवै पक्षको बराबरी गल्ती देखिन्छ । अहिले कोही पनि पानी माथीको ओभानो नबनेकै राम्रो । तर कमरेडहरु खबरदार यही पार्टी बनाउन धेरैले आफ्नो सुन्दर जिवन खर्चेका छन् , कयौले आफ्नो ज्यानको आहुती दिएका छन् , कयौका काख रितिएका छन्, कयौंका सिन्दुर पुछिएका छन् भने कयौंको सर्वस्व नै हरण भएको छ । त्यसैले कमरेडहरु अव तपाईहरुलाई यो सुन्दर पार्टी नसपार्ने छुट अलिकति पनि छैन । व्यक्तिगत स्वार्थलाई सामाजिक स्वार्थमा रुपान्तरण गर्नुनै राजनीति हो भनेर सिकाउने तपाईहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ किन यति प्यारो भयो कमरेड ? तपाईहरु समाजको नेता हो, तपाईहरु जनताको नेता हो, तपाईहरु नेपाली कम्युनिष्ट आन्दोलनको नेता हो । त्यसैले कमरेडहरुलाई देश, जनता र आन्दोलन भन्दा अगाडी आफ्नो स्वार्थलाई राख्ने छुट अब छैन । 

मन मिल्दा मुटु, कलेजो साट्ने अनि नमिलेपछि छुरा रोप्न नछाड्ने कम्युनिष्टहरुको पुरानो बानी अहिले पनि नसुध्रनु दुखद हो । आफुमात्र राम्रो बाँकी सबै नराम्रो देख्ने दोषी चस्मा अव खोल्नैपर्छ कमरेडहरु हो । कम्युनिष्ट पार्टीहरु फुटेर हैन जुटेर जनताको काममा लाग्नुपर्छ नत्र हजुरवुवाले खाएको घिउको बास्ना नातिको हातमा आउने जमाना गईसके त्यही भएर कम्युनिष्टहरु अब ईतिहाँसको व्याजमा होईन बर्तमानको यर्थाथतामा र भविष्यको सुन्दर सपनामा केन्द्रित हुनुपर्छ । फुट्नु र चोईटिनुले कहिले पनि नतिजा फाईदामा आउँदैन । यो त नोक्सान र अधोगतीको लामो यात्राको सुरुवाती पल मात्र हो । कसैले हावा भरिदिएर फुलेको बेलुन जस्तो, जोड लगाईदिएर ल्याएका संसदीय अंकगणितको संख्या देखाएर, देखिस ? भन्नु र “समानुपातिक भोट हेरौँ न ”  भनेर धक्कु लगाउनु “चित्त बुझाउने मेसो” बाहेक केही होईन । 

जनतालाई वाक्क दिक्क लगाउने, वितृष्णाको विज रोप्ने र कम्युनिष्टलाई जनताको प्यारो पार्टी हुनबाट रोक्न हामीबाट के के कमीकमजोरीहरु भए, घण्टी, लौरो उदाउनमा हामी कति जिम्मेवार छौँ । एकचोटी मेरा लागी होईन जनताका लागि, तपाई भनेर बसेका तमाम कार्यकर्ता पंक्तिका लागि पार्टीको स्वार्थरक्षार्थ पानी पनि भन्न नपाएका ति सहिदका लागि आफ्नो गाँस काटेर कम्युनिष्ट पार्टीका लागी सहयोग गर्नेहरुका लागि सोचिदिनु भयो भने क्या गज्जव हुन्थ्यो होला है ।

जिवनभर कम्युनिष्टहरुका लागि प्रमुख राजनितिक प्रतिद्वन्धीका रुपमा रहेका शक्तिहरु पूर्वपञ्च र नेपाली कांग्रेसका चुनाव चिन्ह् समात्न पुग्छौँ र तिनिहरुको विज्ञापन र विजयमा निर्णयक बन्छौँ भने यहीबाट हामीहरुको अन्त्यको शुरुवात “विनाश्च काले विपरित बुद्धी” भने जस्तै हुन पुग्ने छ । हामीहरुलाई पचासौँ बर्षको ईतिहास देखि अहिले प्राप्त विरासत सम्म आईपुग्न लागेको समय फेरी त्यो ईतिहासको पन्ना तर्फै फर्कन पाँच बर्ष पनि लाग्दैन ।

जनमतका हिसाबले खुम्चिएका साना कम्युनिष्ट पार्टीका समुहहरुको नेतृत्व गर्नु हुने क.सिपि मैनाली, कमरेड चित्र बहादुर केसी, क. मोहन बैद्य, क. विप्लवहरु जस्तै कम्युनिष्ट पार्टीका नाममा होर्डिङ बोर्ड झुन्ड्याउन र त्यस्तै समुहको अध्यक्ष बन्न त कसैले रोक्न नसक्ला तर के हामीले चाहेको कम्युनिष्ट पार्टी यस्तै हो त ? होईन भने छरिएर रहेका कम्युनिष्टलाई एकका विरुद्ध एकलाई उभ्याएर होईन एक, एक लाई जोडेर त्यसको नेतृत्व गर्नुपर्ने प्रमुख बाम शक्ति एमाले नै हो । एमाले पार्टीको चेत पहिले नै खुल्नु प¥थ्यो खुलेन । स्थानिय निर्वाचन पछी चाँही खुल्नै प¥थ्यो खुलेन, फेरी आम निर्वाचनको मुखमा नै भएपनि चेत आउनु प¥थ्यो त्यो पनि आएन त्यसैले निर्वाचनको परिणाम जे आयो त्यो पनि भोग्न तयार हुनुपर्छ । आखिर चौतर्फी घेराबन्दी सुरु भएपछी खेल खेल्न त खोजेकै हो नि ? आखिर त्यो खेल जे जस्तो भएपनि एक–दुई ठाऊँमा मात्र नभई धेरै भन्दा धेरै ठाऊँहरुमा खेल्न सक्नु पर्थ्यो तर त्यो हुन सकेन अव पांच बर्ष पछुताउनु बाहेक केही लाग्नेछैन । समयमानै संयमित हौँ । जोस् होईन, होसका साथ अव अगाडी बढौँ, होईन भने कम्युनिष्टहरु रक्षा कवज बन्न पनि गाह्रो हुँदै जाने दिनहरु आउदैछन्, कतै हामी सबैमा चेत भया !!!

 

सुरेश प्रसाद निरौला

कोटेश्वर, काठमाण्डौं ।

सम्बन्धित समाचार

Advertisement