नेत्र बहादुर कुँवर
शिक्षण सिकाइ क्रियाकलापको मूल अभिप्राय विद्यार्थीमा अन्तर्निहित क्षमतालाई उजागर गरी विविध सक्षमता विकास गर्नु हो । सक्षमताले अभिवृत्ति, सिप, ज्ञान, मूल्य मान्यता, कामको तत्परतालाई सम्बोधन गर्दछ । विद्यार्थीमा यस किसिमको सक्षमता विकास गर्नका निम्ति निकट सरोकारवालाहरूः अभिभावक, विद्यार्थीस्वयम् र शिक्षकको अहम् भूमिका रहने गर्दछ । हुन त सक्षमता भन्ने बित्तिकै विद्यार्थीले गर्न सक्ने काममा आधारित हुन्छ । विद्यालय, विश्वविद्यालयमा विद्यार्थीको चौतर्फी सक्षमता विकास गर्ने उद्देश्य रहन्छ । विश्वविद्यालय तहमा विद्यार्थी आफैँमा पनि परिपक्वता आउने कारणले गर्दा पनि यति बेला विद्यालय तहका विद्यार्थीहरूको सक्षमता विकासमा सरोकारवाला अलि बढी संवेदनशील हुनु जरुरी रहन्छ ।
हामी कयौँले कयौँ पटक आफ्ना वा अरू कसैका बालबालिकालाई “तिमी भविष्यमा के बन्छौ ?” भनेर प्रश्न राख्ने गर्दछौँ । बालबालिकाहरूमध्ये कसैले डाक्टर, कसैले इन्जिनियर, कसैले पाइलट, कसैले वकिल, कसैले शिक्षक, कसैले अभिनेता, कसैले गायक बन्ने जबाफ दिने गर्दछन् । बालबालिकाका त्यस्ता सपनाहरू समाजमा रहने आदर्श व्यक्ति, परिवार, साथी, विद्यालय, आफन्त आदिको प्रभावस्वरूप निर्माण हुन पुग्दछन् । यस अवस्थामा विद्यार्थीका सपनाहरू कतिपय अभिभावकको सपनासँग मेल खान सक्दछन् भने कतिपय सपनाहरू अभिभावकका सपनाभन्दा भिन्न हुने गर्दछन् ।

अभिभावकले आफ्ना बालबालिका र आफ्ना सपनाहरू पूरा गर्ने, गराउने आधार खडा गर्न विद्यालय र शिक्षकप्रतिको विश्वासमा विद्यालय पठाउने गर्दछन् । विद्यार्थीहरू पनि विद्यालयमा रहँदा पढ्दा शिक्षकहरूलाई एउटा असल अभिभावक, एउटा असल साथी, एउटा असल दाइदिदी, एउटा असल मार्ग निर्देशक ठान्दै रमाउने र सिकाइ प्रक्रियामा सामेल हुने गर्दछन् ।
अभिभावक र विद्यार्थीको शिक्षकप्रतिको यही आदर्श धारणाकै कारण शिक्षक एक आदर्श व्यक्तित्वका रूपमा स्थापित हुन पुगेका छन् । हामी अभिभावकहरू साधारणतया चाहन्छौँ हामी र हाम्रा बालबालिकाका सपनाहरूको भारी बोकेर शिक्षक हिँडुन्, शिक्षकहरूले आफ्ना बालबालिकाका भावना बुझ्ने ती सबै काम गरुन् जुन हाम्रो हितमा हुन्छ ।
शिक्षक-बालबालिका र अभिभावकका अपेक्षाहरू पूरा गराउने साधन मात्र हुन्, साध्य त बालबालिकास्वयम् नै हुन् । शिक्षक आदर्श त हुन् तर शिक्षकले एउटा सफल उत्प्रेरकका हिसाबमा मात्रै ती आदर्शतालाई कायम गर्न सक्दछ । शिक्षकबाट सहजीकरणकर्ता र उत्प्रेरकको भूमिकाभन्दा बढी भूमिकाको अपेक्षा गर्नु भनेको बादलबिना पानी पर्ला भनेर अपेक्षा गर्नु जस्तै हुन आउँछ । तपाईँका बालबालिकामा भएका अन्तर्निहित क्षमतालाई उजागर गर्नका निम्ति शिक्षक एउटा पुल मात्र हो । विद्यार्थीको मनोरचनामा निहित क्षमता पूर्वनिर्धारित छन्, ती क्षमताहरू विद्यार्थीको चाख र परिवेशअनुसार प्रस्फुटन हुन पुग्दछ । जसलाई शिक्षकले निश्चित दिशातर्फ निर्देश गर्न सक्दछ ।

सामान्यतया गयल अभिभावक भन्नाले कुनै न कुनै कारणले आफ्ना बालबालिकाहरूलाई समय दिन नसक्ने, विद्यालयसम्म पुगेर आफ्ना बालबालिकाका बारेमा सोधपुछ नगर्ने, चासो नदेखाउने अभिभावक भन्ने हुन्छ । पछिल्लो समय गयल अभिभावकको सङ्ख्या बढ्दै गएको देखिन्छ । गयल अभिभावक अहिले जटिल समस्याका रूपमा देखा परेको छ । आफ्ना बालबालिकालाई विद्यालय पठाएपछि सबै दायित्व पूरा भएको सम्झनु गयल अभिभावकको धारणा हो । यति बेला खास गरी सहरी क्षेत्रमा कामकाजको व्यस्तता र गाउँमा चेतनाका अभावमा गयल अभिभावकको सङ्ख्या बढ्दै गएको देखिन्छ । वर्तमान समयमा गयल अभिभावक बढ्दै जानुका केही तथ्यगत कारणहरू निम्न देखा परेका छन् :
(क) विभिन्न कार्यमा संलग्न हुनु,
(ख) घरभन्दा टाढा रहेर काम गर्नु,
(ग) रमाउने समय नहुनु,
(घ) एकाबिहानै घर छाड्नु ,
(ङ) साँझ बच्चा सुतिसकेपछि मात्र घर आउनु ।
प्रत्येक अभिभावकले कतै आफू पनि गयल अभिभावक त भएनौँ भन्नेतर्फ ध्यान दिनु जरुरी छ ।
शिक्षकले बालबालिकामा भएका रुचिलाई सही रूपमा पहिचान गर्न सक्दछ भन्ने कुरा अघिल्लो बुँदामा नै व्याख्या गरिसकियो । यसरी हेर्दा शिक्षकको मस्तिष्कमा तपाईँको बच्चाको रुचि र चाहना हुन्छ । शिक्षकको चिन्ता तपाईँका बालबालिकाउपर हुने हुँदा अभिभावकले शिक्षकसँग निरन्तर संवाद गर्नु र सहकार्य गर्नु जरुरी हुन्छ । अभिभावक र शिक्षकबिच विशिष्ट अवरोध र समस्याहरूका बारेमा छलफल गर्नु अत्यावश्यक छ । अभिभावकले आफ्ना बालबालिकाको संभावनालाई जान्नुपर्छ ।

बालबालिकामा कमी कमजोरी हुन्छन् । यो सामान्य कुरा पनि हो । सिकाइ प्रक्रिया जीवनपर्यन्त चलिरहन्छ । मान्छेले अनुभूति, अनुभव, जीवन भोगाइबाट सिक्दछ । जसलाई आधुनिक भाषामा सक्षमता विकास पनि भनेर बुझ्न सक्छौँ । यस कुरालाई बुझेर अभिभावकले आफ्ना बालबालिकाहरूले अभ्यास र प्रयोग गर्दै, गल्ती गर्दै सिक्दछ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । प्रत्येकमा कमजोरी र सीमाहरू हुन्छन् । यसर्थ अभिभावक र शिक्षकले बालबालिकाका कमजोरीहरू र सीमाहरू पहिचान गरिदिनुपर्छ । अभिभावक शिक्षक दुबैले ती कमजोरी र सीमाहरू पहिचान भइसकेपछि तिनलाई हटाउन सहयोग गरिदिनुपर्छ । शिक्षकले विद्यालय र अभिभावकले परिवारमा रहँदा आफ्ना बालबालिकामा रहेका अन्तर्निहित क्षमता र कमजोरीलाई पहिचान गरी क्षमतालाई प्रोत्साहन र कमजोरीलाई हटाउन सहयोग गर्न सके शिक्षक र अभिभावकबिचको सहकार्य सफलीभूत हुन्छ । शिक्षक र अभिभावकको आशाको केन्द्र बालबालिका नै भएकाले बालबालिकामा सक्षमता विकास गराउन त्रिकोणात्मक सम्बन्ध स्थापित हुनु अपरिहार्य रहन्छ ।

अभिभावक भनेका आफ्ना बच्चाका विज्ञ, बच्चाका महत्त्वपूर्ण सूचनाहरूका सङ्कलक, संलग्नताको अधिकार प्राप्त व्यक्ति, आफ्नो बच्चाको उच्च गुणस्तरीय शिक्षक, निर्णय प्रक्रियामा सहयोग गर्ने व्यक्ति हुन् । यसले गर्दा बालबालिकाप्रति अभिभावकको भूमिका महत्त्वपूर्ण रहने गर्दछ । यसैले अभिभावक भइसकेपछि आफ्ना बालबालिकाका निम्ति केही महत्त्वपूर्ण जिम्मेवारी पनि वहन गर्नुपर्ने हुन्छ । जसलाई बुँदागत प्रस्तुत गरिएको छ :
(क) बच्चालाई शारीरिक सङ्कटबाट जोगाउने,
(ख) आधारभूत आवश्यकताको परिपूर्ति गरिदिने,
(ग) भावनात्मक आवश्यकताको परिपूर्ति गरिदिने,
(घ) उत्पादनशील व्यक्ति बन्नका निम्ति शिक्षा प्राप्तिमा सहयोग गर्ने,
(ङ) जवाफदेही व्यक्ति बन्नका निम्ति नैतिक मार्ग निर्देशन प्रदान गर्ने ।
निष्कर्ष:
अन्त्यमा सार रूपमा अभिभावक, विद्यार्थी र शिक्षकको सम्बन्धलाई मूल्याङ्कन गर्ने हो भने बच्चाको शिक्षा भनेको अभिभावक र शिक्षकको सामूहिक प्रयत्न हो । आजका बालबालिकामा लाखौँ संभावनाहरू रहने गर्दछन् । यसैले भविष्यको असल नागरिक निर्माण गर्नका निम्ति शिक्षक र अभिभावकबिच हातेमालो गर्न आवश्यक छ । अभिभावकहरूले बुझ्नुपर्ने कुरा के हो भने बच्चालाई विद्यालय पठाएर मात्रै अभिभावकको जिम्मेवारी पूरा हुँदैन । आफ्ना बालबालिकाको सुन्दर भविष्य निर्माणका निम्ति अभिभावकले आफ्ना तर्फबाट पूर्ण प्रयत्न गर्नुपर्छ । बालबालिकालाई भविष्यमा के बनाउने भन्नेबारे शिक्षक र बालबालिकाबिच अभिभावकले सल्लाह र सुझाव लिनु जरुरी छ । कतिपय अवस्थामा बालबालिकामा सक्षमता हुँदा हुँदै पनि सही मार्ग निर्देशनका अभावमा लक्ष्य निर्धारणमा कठिनाइ हुन सक्छ । यस्तो अवस्थामा अभिभावक पनि शिक्षक जस्तै उत्प्रेरक र सहजकर्ताको भूमिकामा रहनु वैज्ञानिक ठहर्दछ ।-प्रतिक्रियाको लागि : hamroashok@gmail.com