सञ्चार माध्यममा पसेकाे भाइरस नियन्त्रण गर्न आवश्यक छ : मुख्यमन्त्री पोखरेल

अनलाइन दर्पण 2019-05-17
img

प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सञ्चार क्षेत्रमा भाइरस पसेकोले नियन्त्रण गर्नु पर्ने बताएका छन् । उनले संचार क्षेत्रमा प्रवेश गरेको भाइरसलाई नियन्त्रण गर्न एन्टीभाइरस आवश्यक रहेको औल्याए ।

शुक्रबार लुम्बिनीमा आयोजित फोटो पत्रकार महासंघको प्रथम केन्द्रिय भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सबै क्षेत्रलाई नियन्त्र गर्न आवश्यक रहेको बताउँदै संचार क्षेत्रले हामीलाई नियन्त्रण गर्नु हुँदैन भन्नु दिक्कलाग्दो भएको बताए । उनले कम्तिमा संचार क्षेत्रले आफूहरुलाई नियन्त्रण गर्न हुँदैन भनेर पैरवी नगरे हुने बताए । पोखरेलले सबैलाई नियन्त्रण गर्नु नै लोकतन्त्रको सुन्दर पक्ष भएको जनाए ।

मुख्यमन्त्री पोखरेलले कुनै सन्दर्भमा खिचेको फोटो अनुचित ढंगले प्रयोगमा ल्याउने संचार माध्यममा प्रचलन बढेको भन्दै कस्ता फोटो प्रकाशन गर्ने भन्ने बारे मापदण्ड बनाउन महासंघलाई आग्रह गरे । उनले आमसंचार क्षेत्रमा भाइरस पस्यो भने राम्रो नहुने भन्दै त्यसलाई नियन्त्रण गर्ने तरिका संचार माध्यमले नै खोज्नु पर्ने जनाए । पोखरेलले अब संचार माध्यकको भूमिका विकास र समृद्धिमुखी हुनु पर्ने बताए ।

करिब १० मिनेट जति संचार माध्यमका बारे ब्याख्या गरेका मुख्यमन्त्री पाखरेलले संघीय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक सही भएकोतर्फ इंकित गरे । उनले प्रदेश पाँचका १२ वटा जिल्लामा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटनीय स्थलको समेत चर्चा गरे । उनले फोटोका माध्यमबाट ऐतिहासिक स्थलको प्रचारप्रसार गर्न आग्रह समेत गरे ।

फोटो पत्रकार महासंघको भेलामा सहभागी हुन देशभरका फोटो पत्रकारहरु लुम्बिनी आएका छन् । महासंघ भेलाले नेपालमा फोटो पत्रकारिताका विषयमा छलफल गरी दस्ताबेज तयार गरेर नेपाल सरकार र अन्तर्राष्ट्रिय जगत्लाई बुझाउने अध्यक्ष धुव्र आलेले बताए । महासंघले लुम्बिनी भ्रमण वर्ष र बुद्ध जयन्तीको अवसरमा फोटो प्रदर्शनी समेत गर्ने छ ।

सम्बन्धित समाचार

Advertisement