स्थानीय तहको निर्वाचन  एकै चरणमा गर्नुपर्छ: बिजुक्छे

अनलाइन दर्पण 2017-04-08
img

भक्तपुर, २६ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्राध्यापक समाजको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचन दुई चरणमा गर्ने कुरा निर्वाचन नगराउने षड्यन्त्र भएको बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले स्थानीय तह निर्वाचन हुने मिति घोषणा भई तयारीसमेत भइसकेको अवस्थामा दुई चरणमा निर्वाचन गर्ने कुरा आत्मसमर्पणवादी सोचको परिणाम भएको आरोप लगाउँदै मधेस केन्द्रित दलको इसारामा निर्वाचनको मिति सार्न नहुनेमा जोड दिनुभयो।

“जनसङ्ख्याको आधारमा स्थानीय तह निर्धारण गर्नुपर्ने, निर्वाचन क्षेत्र कायम गर्नुपर्ने र मतदाता नामावली थप गर्नुपर्ने मधेस केन्द्रित दलको माग राष्ट्रिय हितमा छैन्, यसलाई प्रमुख ठूला दलले मान्नु हुँदैन्,” उहाँले भन्नुभयो– “ठूला दलहरुले प्रजातान्त्रिक मूल्य र मान्यता विरुद्ध थ्रेसहोल्डको व्यवस्था गरिएको छ ।”

अध्यक्ष बिजुक्छेले भन्नुभयो,–“समानुपातिक निर्वाचनमा तीन प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा एक स्थान जितेकोलाई राष्ट्रिय दलको मान्यता दिने प्रावधान अप्रजातान्त्रिक छ, यसलाई नेमकिपाले सिद्वान्त र व्यवहार दुबै ढङ्गले मान्दैन, यो काँचो धागो मात्र हो ”।

पछिल्लो समयमा ठूला दलका नेताका कारण नेपालको राजनीतिक क्षेत्र विकृति बन्दै गएकाले संसद्लाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्नेमा जोड दिदैं उहाँले स्थानीय निर्वाचनमा पार्टीकोतर्फबाट उम्मेदवार चयनका लागि पार्टीको स्थानीयस्तरलाई नै अधिकार दिइएको तथा जिल्ला समितिको सिफारिसअनुसार पार्टी केन्द्रिय सचिवालयले उम्मेदवारको अन्तिम नामावली छनोट गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा समाजका संयोजक सरोजराज गोसाईंले नेपालको शिक्षाबारे अवधारणापत्र पेस गर्नुभएको थियो । समाजको प्रथम राष्ट्रिय भेलामा विभिन्न जिल्लाका २८ वटा कलेजका दुई सय भन्दाबढी प्राध्यापकको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार

Advertisement