असोज,१६ ।सत्तारुढ माओवादी र कांग्रेसले संविधान संशोधन प्रस्ताव दर्ता गर्न आलटाल गरेको भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तिहार अगावै संविधान संशोधन प्रस्ताव दर्ता नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी मोर्चाका नेता महतोले सरकारप्रतिको विश्वास गुम्दै गएको बताए ।
एमालेले दिँदैन भन्ने बाहाना बनाएर कांग्रेस र माओवादी नै जालझेल गर्ने खेलमा लागेको उनको आरोप छ । मधेसी मोर्चासँग भएको तीनबुँदे कार्यान्वयन नभएको भन्दै उनले भने, ‘यदि यस्तै रवैया जारी रहन्छ भने अधिकार प्राप्तिका लागि सडक आन्दोलनको विकल्प छैन ।’संविधान संशोधनमा जुन पार्टीले अवरोध गर्छ, त्यसविरुद्ध लड्छौं ।’
मधेसी मोर्चाका नेता समेत रहेका महतोले संविधान संशोधान नगरी चुनाव हुन नदिने समेत बताए । ‘संविधान स्वीकार्य नभएसम्म चुनाव पनि हुन सक्दैन, उनले भने, यदि भई हाले ज्ञानेन्द्रले गराएको जस्तै प्रतिगामी चुवान हुनेछ ।’