चिकित्सा शिक्षा सुधारका लागि आफूसंग भएको सम्झौतामा प्रधानमन्त्री केपी ओलीसंग छलफल गर्नुभएका प्रा. डा. गोविन्द केसीले अध्यादेश अनुसार नै चिकित्सा शिक्षा विधेयक आउनुपर्ने बताउनुभएको छ ।
छलफलका क्रममा उहाँले सहमति अनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्ने माग गर्दै त्यसमा तोडमोड गरे फेरि पनि अनसन बस्ने चेतावानी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले भने सहमतिअनुसार संशोधन दर्ता भएको र त्यो पास हुने आश्वासन दिनुभएको छ । छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले डा केसीसँग भएको सहमति तत्काल कार्यान्वयन हुने बताउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले सहमति कार्यान्वयनमा भइरहेको प्रगतिबारे शिक्षामन्त्रीसँग जानकारी लिने आश्वासन दिनुभएको थियो । उहाँले अन्य सहमति कार्यान्वयनका लागि डा. केसी समेत संलग्न भएको कमिटी बनाउने प्रस्ताव गर्नुभएको छ ।
तर, डा. केसीले भने आफू त्यस्तो कमिटीमा नबस्ने बताउनुभएको छ । उहाँले हामीले अरुलाई पनि विश्वास गर्नुपर्छ । कमिटी बनाउने हो भने हाम्रो प्रतिनिधि राख्नु भए हुन्छ भन्ने जवाफ दिनुभएको छ ।
प्रधानमन्त्रीलाई भेट्न डा. केसी आफ्नो वार्ता टोलीसहित बालुवाटार पुग्नुभएको थियो । भेटमा चिकित्सा शिक्षाबारे छलफल भएको र डा. केसीले आफूसँग भएको सम्झौता अनुसार नै विधेयक पास हुनुपर्ने नभए १६ औं अनसन बस्ने बताउनुभयो ।