दाङमा आजदेखि फेरि सिन्डिकेट सुरू, यात्रुहरुले गरे विरोध

अनलाइन दर्पण 2018-04-08
img

दाङ, २५ चैत । सरकारले सिन्डिकेट तोड्न प्रयास जारी राखिरहँदा दाङका यातायात व्यवसायीले भने आजदेखि आलोपालो पद्धतिमा गाडी चलाउन सुरू गरेका छन् ।

आजदेखि दाङबाट देशैभर एउटै डायलबाट (आलोपालो) पद्धतिमा सवारी साधन चलाउन सुरू गरिएको छ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, अम्विकेश्वरी यातायात समिति, मालिका कालिका यातायात प्रालि, टयाक्सी समिति, चन्द्रसूर्य यातायात समिति, देउखुरी ट्याक्सी समितिका बीचमा भएको सहमति अनुसार आज (आइतबार) देखि एउटै डायलबाट (आलोपालो पद्धतिमा) गाडी सञ्चालन सुरू गरिएको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका कल्याणकारी सचिव प्रकाश भट्टले जानकारी दिए । तर, उनले साहारा यातायात प्रालीले भने स्वतन्त्र रूपमा गाडी सञ्चालन गरिरहेको बताए । भट्टले साहारासँग छलफल जारी रहेको र वार्ता सकारात्मक दिशामा अगाडि बढेको भट्टले बताए ।

उनले पुरानो राप्ती अञ्चलका पाँचवटै जिल्लामा रहेका सबै प्रालि र समितिका बीचमा कुराकानी जारी रहेको भन्दै पुरानो राप्ती अञ्चलका सबै गाडि पहिले जस्तै गरी एउटै डालयबाट सञ्चालनको तयारी भइरहेको बताए ।

यसअघि गत चैतको दोस्रो सातादेखि जिल्लामा रहेका समितिहरूले स्थानीय रुटमा एउटै गाडि चलाउन सुरू गरेका थिए । नेपाल यातायात व्यवसायी महासंघका प्रदेश नम्बर ५ का सदस्य तथा अम्विकेश्वरी यातायात समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतले व्यवसायिक हकहितका लागि जुट्नुको विकल्प नरहेको बताए ।

व्यवसायीले फेरि पुरानौ शैलीमा सिन्डिकेट लाद्न खोजेप्रति यात्रुहरूले भने असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालहरूमा फेरि दाङमा आलोपालो प्रणालीबाट गाडी चलाउन दुस्प्रयास भएको भन्दै कतिपयले यात्रुको अधिकार रक्षाको लागि उनीहरूले स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गराएका छन् । तर यातायात व्यवसायी भने आलोपालोलाई सिन्डिकेट भन्न नमिल्ने दाबी गर्छन् ।

राप्ती समितिका अध्यक्ष सुरेश हमालले बाहिरबाट भित्रने पुराना गाडीको प्रवेश रोक्न, मजदूर र कर्मचारीबीचको अस्वस्थ्य प्रतिस्पर्धा अन्त्य गर्न, व्यवसायीलाई पलायन हुन नदिन, सडकले थेग्न सक्ने जति मात्रै सवारी साधन सञ्चालन गर्न आलोपालो पद्धतिमा गाडी सञ्चालन गर्न थालिएको दावी गरे ।-न्यूजसेवा 

सम्बन्धित समाचार

Advertisement