काठमाडौं, फागुन १० —साझा यातायातले ‘इटिकेटिङ’ शुरु गर्न तयारी थालेको छ ।
नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा इटिकेटिङ लागू गर्न लागिएको साझाले जनाएको छ ।
इटिकेटिङ शुरु भएपछि यात्रुले भाडामा पैसाको साटो कार्डको प्रयोग गर्न सक्ने छन् । साझाका सबै बसमा उक्त सुविधा हुनेछ ।
इटिकेटिङले विशेष गरी कर्मचारी, विद्यार्थीलगायतलाई सजिलो हुने संस्थाले जनाएको छ ।
साझा यातायातले दुई वर्ष पहिले नै नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमसँग सम्झौता गरेको थियो । गत वर्ष परीक्षणका रुपमा केही बसमा लागू भएको थियो ।
साझा यातायातको अहिले काठमाडौँ उपत्यकामा ४४ वटा र उपत्यका बाहिर दुईवटा बस सञ्चालनमा छ । उनन्तीस वटा बस थप गर्ने साझा यातायातले तयारी गरेको छ । साझामा ९७ प्रतिशत सरकारी लगानीमा सञ्चालित छ ।