प्रत्येक जिल्लामा एक आधुनिक शहर बनाउने मुख्यमन्त्री पौडेलकाे अठाेट

अनलाइन दर्पण 2018-02-12
img

मकवानपुर, २९ माघ। प्रदेश नम्बर ३ काे पहिलो मुख्यमन्त्रीका रुपमा आइतबार नियुक्त भएका मुख्यमन्त्री डोरमणी पौडेलले पदभार ग्रहण गरेका छन् । 

मुख्यमन्त्री पौडेलले सोमबार बिहान हेटौडास्थित मुख्यमन्त्रीको कार्यलयमा प्रदेश प्रमुख अनुराधा कोइरालाबाट सपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहणपछी मुख्यमन्त्री पौडेलले प्रदेशस्तरका केही लेखा परीक्षण र प्रदेश सरकारकाे कार्य विभाजन नियमावली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश नम्बर ३ विकास र समृद्धिमा अरु प्रदेश भन्दा अगाडि हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आफ्नो प्रमुख कार्ययोजना आर्थिक समृद्धिका  लागि हुने पौडेलको भनाई छ ।

प्रदेशका १३ वटै जिल्लाहरुको फरक फरक विशेषता रहेकाले जिल्लाका विशेषताको पहिचान गरि आर्थिक समृद्धिमार्फत पहिलो नम्बरको प्रदेश बनाउने आफ्नो उद्देश्य रहेको पौडेलले बताए । हरेक जिल्ला प्राकृतिक स्रोत साधनले भरिपूर्ण रहेको भन्दै उनले आफ्नो पहिलो एजेण्डा नै प्राकृतिक स्रोतको उपयोग गरी आर्थिक सम्वृद्धिमा लगाउनु भएको बताए । 

प्रदेशमा पर्ने हरेक जिल्लामा एउटा एउटा नयाँ आधुनिक शहर बसाउने योजना समेत अघि सारेका छन् । प्रदेशका १३ वटै जिल्लामा कम्तीमा एउटा नयाँ आधुनिक शहर स्थापना गर्ने प्रयत्न गरिने उनले बताए । 

प्रदेश ३ अन्य प्रदेश भन्दा संघीयता कार्यान्वयनमा अघि भएसँगै आर्थिक समृद्धिमा पनि पहिलो बनाउने मुख्यमन्त्री पौडेलकाे अठोट छ ।

सम्बन्धित समाचार