शुक्रबार नुवाकोटमा रु ५०० को नोटले केहीबेर हंगामा मच्चायो । हंगामा यहाँस्थित नेपाल बैंक लिमिटेडमा भएको थियो ।
प्रशासन कार्यालयमा राहदानीमार्फत् संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान नोट नक्कली पाइएको हो ।
राजश्व दाखिला गरिएको रकममा रहेको सो पाँच सयको नोट बैंकका कर्मचारीले पनि छुट्याउन सकेका थिएनन् । रकम गणना तथा जाँच गर्ने उपकरणमार्फत् परीक्षण गर्दा मात्रै नक्कली नोट भएको पुष्टी भएको प्रशासन कार्यालयका लेखापाल रामजी लम्सालले बताए ।
नक्कली नोटको नंं ग (४६) ०३६८६० रहेको छ । झट्ट हेर्दा सक्कलीजस्तै देखिने नक्कली नोट प्रशासन कार्यालय र बैंकका कर्मचारीले गणना गर्ने क्रममा समेत थाहा नभएको र उपकरणमार्फत गणना तथा जाँच गर्ने क्रममा पत्ता लागेको हो ।
नक्कली नोट केही बाक्लो भएपनि प्रयोगमा आएर पुरानो भइसकेकाले सक्कल सरह देखिएकाले सहज रुपमा पत्ता लाग्न कठिनाई देखिएको लेखापाल लम्सालले बताए । नक्कली नोटलाई बैंकले नियन्त्रणमा लिएको छ । बैंककाअनुसार नक्कली नोटमा सक्कलजस्तै देखिने गरी सुरक्षा सिल (तार जाली) समेत लगाइएको छ भने आकार र रंग उस्तै देखिन्छ ।
नक्कली नोट भेटिएपछि सचेत भएको प्रशासन कार्यालयले नोटको जाँच तथा परीक्षणको लागि उपकरण खरिद गर्ने तयारीमा लागेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।-न्यूजसेवा