९ असोज, चितवन । खिलराज रेग्मी नेत्रित्व सरकारका पूर्वगृहमन्त्री एवम पूर्वमुख्य सचिव समेत रहेका माधवप्रसाद घिमिरे चढेकाे कार आइतबार साँझ त्रिशुली नदीमा खसेकाे छ । दुर्घटनामा तिन जनाकाे मृत्यु हुनुका साथै घिमिरेको अवस्था भने अज्ञात छ ।
मुग्लिनबाट काठमाडौं अाउदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।
घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको विपत ब्यवस्थापन तालिम केन्द्र कुरीनटारका प्रवक्ता एसपी गणेशबहादुर थापाले जानकारी दिएका छन् । थापाका अनुसार गाडी चालक बिष्णु राईको भने जीवितै उद्धार गरिएको छ ।
पूर्वमुख्य सचिव घिमिरे, उनका भाइहरु प्रकाश र मोहन वेपत्ता रहेको प्रहरीले जनाएको छ । उनीहरु मुक्तिनाथ दर्शन गरी काठमाडौं फर्किंदै थिए । दुरघटना भएकाे कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको चितवन प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए ।