नेपालको झण्डा संसारमै विशेष आकर्षक, यस्तो छ विश्वमा राष्ट्रिय झण्डाको इतिहास

अनलाइन दर्पण 2018-01-11
img

काठमाडौं । हरेक देशको आ–आफनो राष्ट्रिय झण्डा हुन्छ । प्रत्येक देशको झण्डा फरक फरक हुन्छन् र तिनका आ–आफ्नै विशेषता छन् । राष्ट्रिय झण्डा कुनै पनि राष्ट्रको गौरब र सम्मानको चिन्ह हो । ती झण्डा सधै फर्फराइ रहन्छन् ।

राष्ट्रिय झण्डामा त्यस राष्ट्रको जीवन र शक्तिको सङ्केत हुन्छ । राष्ट्रको लक्ष्य, नीति र महत्वलाई झल्काई त्यहाॅका जातजातिमा भावनात्मक एकता बढाउने काम झण्डाले गर्छ । त्यसैले राष्ट्रिय झण्डालाई कुनै पनि राष्ट्रमा सर्वोच्च प्रतिक  मानिन्छ ।

नेपाल एक सार्वभौम स्वतन्त्र राष्ट्र हो । नेपालको आफ्नै राष्ट्रिय झण्डा छ । नेपालको राष्ट्रिय झण्डा तीनकुने अाकारकाे छ । नेपालको राष्ट्रिय झण्डा विश्वमा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो र दुई मात्र चारकुने आकार नभएको सरकारी झण्डा मध्येको एक हो (अर्को झण्डा चाहिँ संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो-अनलाइनदर्पणडटकम) । नेपालको झण्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ । माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहीरहने कुरालाई जनाउँछ । यस झण्डामा सिमृक रङको भुइ छ र वरिपरि गाढा नीलो किनार रहेको छ। नीलो किनारा शान्तिको प्रतिक हो र सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो ।

नेपालको राष्ट्रिय झण्डामा देखिने रातो र नीलो रङ तथा सूर्य र चन्द्रमाका आफ्नै विशेषता छन् । आकाश नीलो भएझै हाम्रो झण्डामा रहेको नीलो किनारले नेपाल आकाश जत्तिकै व्यापक छन् भन्ने सङ्केत गर्छ । रातो रङ क्रान्तिको प्रतिक मानिन्छ । बिचमा रहेको रातो भुईले नेपालका पुर्खाले रगतका धारा बगाएर बचाएको वीरभूमि हो र यो क्रान्तिकारी छ भन्ने बताउछ ।

नेपालको राष्ट्रिय झण्डामा अङ्कित सूर्य र चन्द्रमाले नेपाल अटल र अमर छ भन्ने जनाउछ । चन्द्रमालाइ शितलता र सुर्यलाई क्रान्तिको प्रतिक पनि मान्न सकिन्छ ।

हरेक राष्ट्रका जनताका निमित्त आफ्नो राष्ट्रिय झण्डा प्राणजत्तिकै प्यारो हुन्छ । हाम्रो झण्डा संयुक्त राष्ट्र संघको कार्यालयमा विश्वभरका स्वतन्त्र राष्ट्रका झण्डासङ्गसंगै फरफराइ रहेको छ । सगरमाथा विजेता पहिलो नेपाली तेन्जिङ नोर्गेले यही झणडालाई सगरमाथामा फरफराएका हुन् । यसरी नेपाली झण्डा विश्वमा आफ्नो गौरव राख्न सफल भएको छ।  बलिदान, शान्ति र समृद्धिको अर्थ राख्ने दुईवटा त्रिभुजाकारबाट बनेको नेपालको झण्डा संसारमा बिशेष आकर्षक मानिन्छ । यसमा आठ कुने चन्द्रमा र १२ कुने सूर्य राखिएको हुन्छ ।

यस्तो छ विश्वमा राष्ट्रिय झण्डाको इतिहास 

राष्ट्रिय झण्डा प्रयोग गर्नुअघि युद्धको मैदानमा सेनाहरुले विभिन्न रंगका कपडा लौरामा बाँधेर राख्ने गरेको यसका अध्ययेताहरुको भनाइ छ । झण्डाको प्रयोगको मितिबारे ठोष प्रमाण हालसम्म नभेटिएपनि युद्धको मैदानमा सेनाले आफ्ना सैनिकलाई एकत्रित गर्न निश्चित ठाउँमा रंगीन कपडा फहराइन्थ्यो । पछि यही कपडाहरुलाई विशेष आकार र रुपरंगमा युद्धको मैदान हुँदै राष्ट्रिय झण्डाको रुपमा प्रयोग गर्न थालिएको इतिहास छ । १९ औं शताब्दीसम्म आइपुग्दा प्रत्येक देशले आ–आफनो राष्ट्रिय झण्डा छनोट र प्रयोग गर्न थालिएको हो ।

सबैभन्दा पहिले चीन, भारत वा रोमबासीहरुले कपडाको झण्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन । इसापूर्व ११२६ मा चीनमा रहेको झाओ राजबंशका बेला सेतो रङको झण्डा प्रयोग भएका प्रमाण फेला परेका छन् ।

संसारको सबैभन्दा पुरानो राष्ट्रिय झण्डा डेनमार्कको झण्डालाई मानिन्छ, जुन सन् १२१९ मा प्रयोग शुरु गरिएको हो । त्यसपछि सन् १३३९ मा स्वीट्जरल्याण्डले पनि आफ्नो राष्ट्रिय झण्डा प्रयोगमा ल्याएको हो ।

१९ औं शताब्दीसम्म आइपुग्दा प्रत्येक देशले आ–आफनो राष्ट्रिय झण्डा छनोट गरेका हुन् । अमेरिकामा जेएल हड्सनले विश्वमै सबैभन्दा ठूलो झण्डा बनाएका थिए ।

सन् १९४९ जुन १४ मा निर्मित उक्त झण्डाको लम्बाई ३२५ फुट र चौडाई १०४ फुट थियो । १ हजार ५ सय पाउण्ड तौलको उक्त झण्डालाई प्रत्येक बर्ष १४ जुनका दिन अमेरिकामा फहराउने गरिन्थ्यो, जुन चलन हालसम्म पनि कायम छ ।

अमेरिकी झण्डामा हुने ५० वटा ताराले त्यहाँका ५० वटा राज्यको संकेत गर्छ । यसैगरी भारतको तिरङ्गा अर्थात तीन रङले बीरता, शान्ति र समृद्धिको अर्थ राख्ने गर्दछ ।

 

सम्बन्धित समाचार

Advertisement