‘पहिले त उनी कहिलेकाँही कोठीमा आउने गर्थे । कहिले मसँग त कहिले अन्य महिलासँग बस्थे’
‘तर बिस्तारै उनी मेरो लागि मात्र कोठीमा आउन थाले । थाहा छैन कसरी उनी र मबिच एक विशेष सम्बन्ध स्थापित भयो ।’
मेरठको लाइट एरिया कबाडी बजारमा एक वेश्यालयमा बेचिएकी अनिता (परिवर्तित नाम) का लागि एक व्यक्ति उनको अँध्यारो जीवनमा उज्यालो बनेर आए ।
हुन त यौनकर्मीको जीवनमा प्रेमको स्थान हुँदैन तर अनिताको जीवनमा प्रेमको रंग बिस्तारै चढ्न थाल्यो ।
यद्यपी, अनिता विभिन्न भावनाहीन सम्बन्धबाट गुज्रिएकी थिइन् यसकारण उनका लागि विश्वास गर्न थोरै मुश्किल थियो । तर पनि आशाको किरण कहिँ कतै उदाएको थियो ।
यही प्रेमले अनितालाई यौनकर्मीको जीवनबाट स्वतन्त्रता दिलायो । उनले समाजमा एक सम्मानजनक जीवन पाउन सफल भइन् ।
पश्चिम बंगालकी अनिताको जीवन कहिले पनि सुखसँग बितेन ।
उनी भन्छिन्, ‘मेरो घरमा आमा–बुवा, एक सानी बहिनी र भाइ थिए । घरमा सधैं पैसाको अभाव । यस्तोमा कमाइ गर्ने अर्को एक हातको आवश्यकता थियो ।’
‘त्यसकारण मैले सोचें, मैले पनि कमाएँ भने घरमा केही सहयोग हुनेछ ।’ त्यतिबेला गाउँकै एक व्यक्तिले सहरमा काम मिलाइदिने बताए ।’
‘उनले मेरो आमा बुवालाई पनि मेरो लागि राम्रो कमाई हुने जागिर खोजिदिने बताएका थिए । करिब पाँच वर्ष अघि म उनीसँगै शहर पसें ।’
‘केही दिन काम खोजेको झैं गरेर उनले मलाई वेश्यालयमा बेचिदिए ।’
त्यतिबेला अनिताको जीवनमा ठूलै उथलपुथल भयो । केही दिनसम्म त उनले बुझ्नै सकिनन् कि उनीमाथि के भइरहेको छ ।
कति दिनसम्म आफूलाई त्यहाँबाट निकाल्न बिन्ती चढाउँदा पनि कसैले पनि उनको मद्दत गरेनन् ।
जागिर खान आएकी अनिताका लागि यौनकर्मी बन्नु मृत्युलाई अँगालो हाल्नु सरह थियो । सुरुमा अनिताले यसको निकै विरोध गरिन् ।
उनीमाथि कुटपिट गरियो । हत्या गरिदिने, अनुहार बिगारिदिने धम्की दिइयो ।
अनिता भन्छिन्, ‘मसँग अन्य कुनै विकल्प थिएन । एक त म त्यो स्थानका लागि थिइनँ । त्यो ठाउँ मेरो लागि जेल बनेको थियो । ममाथि जबर्जस्ती पनि गरियो ।’
‘ग्राहकका लागि तयार हुनका लागि कि त म मर्नुपर्दथ्यो कि उनीहरुलाई साथ दिनुपर्दथ्यो । म भित्री रुपमा टुटेँ र यो धन्धामा आफूलाई सुम्पिएँ ।’
तर अनिताको जीवनमा त्यतिबेला परिवर्तन आयो जब उनको भेट मनिष (परिवर्तित नाम) सँग भयो ।
मनिष र आफूबिच कहिले विशेष सम्बन्ध स्थापित भयो त्यसबारे उनीहरुबिच कसैलाई पनि थाहा नभएको उनी बताउँछिन् ।
‘मनिष पछिल्ला दिनमा मलाई भेट्न आउन थाले । उनी मसँग कुराकानी गर्दथे जुन मलाई राम्रो लाग्थ्यो ।’
त्यसपछि एक दिन अचानक मनिषले मनको कुरा अनिता सामू राखे । अनितालाई वेश्यालयको नर्कबाट छुटकारा चाहिएको थियो । मनिषमा उनले साहारा देखिन् ।
तर, मनिषमाथि सजिलै विश्वास गर्न सकिरहेको थिइनँ । अनिता पहिलाको धोकाबाट थोरै सम्हालिएकी थिइन् ।
त्यसकारण निकै सम्हालिएर अनिताले मनिषसँग कोठीबाट निस्कने आफ्नो इच्छा व्यक्त गरिन् । वेश्यालयका मानिसहरुलाई मनिष बारम्बार आउने गरेको थाहा थियो ।
तर उनका लागि यस्तो हुनु अचम्मको कुरा भने थिएनँ किनभने थुप्रै पटक यस्ता ग्राहक आउँछन् जसलाई कुनै एक महिला मनपर्छ । मनिषले एक एनजिओसँग सम्पर्क गरे ।
उक्त संस्था मेरठमा नै काम गर्दछ र वेश्यावृत्तिमा फसेकी महिलालाई छुटाउन र पुनर्वासमा मद्दत गर्दछ । धेरैजसो वेश्यालयमा जाने ग्राहक नै उनीहरुलाई सहयोग गर्दछन् ।
एनजिओका संचालक अतुल शर्माले भने, ‘मनिष हाम्रो संस्थामा आएका थिए । उनले आफू एक यौनकर्मीसँग प्रेम गर्ने र उनलाई त्यहाँबाट निकाल्न चाहेको बताए ।’
‘मैले उनलाई सोधें वेश्यालयबाट ल्याएपछि के हुन्छ । मनिषले आफू अनितासँग विवाह गर्ने बताए ।’
अतुललाई सुरुमा उनको कुरामाथि विश्वास थिएन । उनले केही दिन पछि आउन आग्रह गरे ता कि उनको उद्देश्य कति पक्का छ भन्ने बारे उनलाई थाहा पाउनु थियो ।
मनिष दुई दिनपछि पुनः आए र उनले त्यही कुरा दोहोराए । अब अतुललाई केही विश्वास भयो ।
अतुल शर्माका अनुसार उनले सुरुमा महिलाको सहमती लिएर आए किनभने जबर्जस्ती उनलाई वेश्यालयबाट निकालिनु मुश्किल थियो । मनिष अनिता भएठाउँ गए र उनलाई यसबारे जानकारी दिए ।
अनिता त्यो स्थानबाट निस्कन यति आतुर थिइन् कि उनले एक स्ट्याम्प पेपर ल्याउन आग्रह गरिन् ।
जब मनिषले पेपर ल्याइन् तब उनले खाली कागजमा थुप्रै औंठाछाप लगाइदिइन् ।
अनिता भन्छिन्, ‘मलाई लेख्न आउँदैनथ्यो । म बाहिर कसैसँग कुरा पनि गर्न सक्दैनथें । म चिच्याएर भन्न चाहन्थें कि मलाई त्यहाँबाट निकाल ।’
त्यसपछि अतुल शर्मा पुलिससँग वेश्यालयमा पुगे ।
अतुलका अनुसार उनलाई अनिता को हुन् भन्ने थाहा थिएन त्यसकारण अनिता भनेर चिच्याइन् । त्यतिबेला एक महिला उठिन् ।
‘त्यतिबेला मैले बुझें कि उनी त्यही महिला हुन् । मैले उनको हात समातें र सँगै जान आग्रह गरें । उनी थोरै डराएकी थिइन् किनभने वेश्यालयबाट निस्किएपछि पनि दलालको डर हुन्छ ।’
‘त्यसपछि वेश्यालय चलाउनेले पनि मलाई रोक्न खोजिन् तर मैले ती महिला त्यहाँबाट जान चाहेको बताएँ ।’
‘यदि उनी सिँढीबाट ओर्लिन भने उनी हाम्रो भइन् नभए म त्यहाँबाट फर्कन्छु । मैले यति मात्र के भनेको थिएँ उनी कुद्दै सिँढिबाट ओर्लिइन् र हाम्रो गाडीमा आएर बसिन् ।’
त्यसपछि अतुल शर्माले मनिषका आमा–बुवासँग कुरा गे । स्वभाविक थियो सुरुमा उनीहरु तयार भएनन् तर छोराले जिद्दी गरेपछि उनीहरुले माने ।
तर उनीहरुले महिलाको पहिचान लुकाइराख्न शर्त राखे ।
अनिता भन्छिन्, ‘मैले त विवाह बारे सोच्नै छोडिसकेको थिएँ तर मनिष आएपछि थोरै आशा पलाएको थियो ।’
‘उनका आमा–बुवाले मलाई नअपनाएको भए पनि मलाई नराम्रो लाग्दैनथ्यो । आखिर किन कसैले बदनाम हुन चाहन्थ्यो । तर बिस्तारै उहाँहरुले मलाई पूर्ण रुपमा अपनाउनु भयो ।’
‘आज मेरी एक छोरी पनि छिन् र आज उनले इज्जतपूर्ण जीवन बाँच्न पाएकी छिन् ।’-बीबीसी हिन्दीबाट