‘माया जदौ’ करोड क्लबमा, तर फिल्म रिलिज हुन पाएन

अनलाइन दर्पण 2020-05-04
img

चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत ‘माया जदौ’लाई युट्युबमा एक करोडभन्दा धेरैपटक हेरिएको छ । साढे दुई महिनाअगाडि युट्युबमा सार्वजनिक भएको यो गीतलाई एक करोडभन्दा धेरैपटक हेरिएको हो।

९४ हजार लाइक भएको यो गीत दर्शकहरूले मन पराएका छन् । गीत सार्वजनिक भएपछि यसको दृश्य बलिउड चलचित्र ‘ओम शान्ति ओम’को शीर्ष गीतसँग मिल्न गएको भनेर पनि चर्चा भएको थियो ।  तर, लोकशैलीको यो गीतले दर्शकको मनमा भने राज गरेको छ ।

चलचित्र ‘हिजो आजका कुरा’ वैशाखको १२ गतेबाट रिलिज हुनुपर्ने हो । तर, कोरोना भाइरसका कारण जारी लकडाउनका कारण चलचित्र रिलिज हुन पाएन । चलचित्र रिलिज नहुँदा यो गीतले दर्शकको माया त पायो । तर, चलचित्रलाई भने फाइदा कम हुने देखिएको छ ।

किनकि, गीतलाई दर्शकले निकै मन पराएको समयमा चलचित्र रिलिज हुँदा त्यसले फाइदा गर्छ । तर, चलचित्र रिलिज हुनका लागि अझै केही महिना कुर्नुपर्ने निश्चित छ ।

गीतमा चलचित्रका मुख्य कलाकार सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा लगायतलाई देख्न सकिन्छ । गीतमा दीपाश्री निरौला, केदार घिमिरे, जीतु नेपाल, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, मिथिला शर्मा लगायतका अतिथि कलाकारले पनि अभिनय गरेका छन् ।

दीपक शर्माको संगीतमा तयार यो गीतमा आनन्द अधिकारीको शब्द, रामकृष्ण ढकाल र मेलिना राइको स्वर छ ।

साकार पन्तको निर्देशनमा तयार भएको यस चलचित्र अब कहिले रिलिज हुने हो भन्ने पत्तो छैन ।

सम्बन्धित समाचार

Advertisement