कुसल हेड सर ,समाजसेवी, राजनीतिक नेता हुँदै सास्कृतिक तथा प्राकृतिक धरोहर चागुनारायण नपा प्रमुखको यात्रा -शोम मिश्र

अनलाइन दर्पण 2019-07-23
img

भक्तपुर ,श्रावण २ एक राजनीति गुरु,कुसल हेड सर सबै को प्यारो नेता बालबालिका ,युवा र बृद सम्म सबैको चहेता रहनु भएका मिश्र ताप्लेजुङ जन्म र कर्म थलो भक्तपुर बनाउनु भयो ,जिबनको आधा समय शिक्षा क्षेत्र को सेवा ,राजनीतिक कर्मी हाल ऐतिहासिक एवं पुरातात्विक महत्वको दृष्टिकोणले परिचित नगरपालिका हो भक्तपुरको चाँगुनारायण नगरपालिका । विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिर र विश्वभरका पर्यटक आकर्षित गर्ने मनोरम प्राकृति छटाले सुसजित पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण नगरकोट यही नगरपालिकामा पर्छ । यही नगरपालिकाको मेयर हुनुहुन्छ सोमप्रसाद मिश्र । हामीले मेयर मिश्रसँग नगरपालिकाको विकासमा ल्याएको  योजनाहरु  ले कस्ता छ्न भने विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं ।

चाँगुनारायण नगरपालिका पर्यटकीय हिसाबले अगाडी भएको नगरपालिका हो । तरपनि नगरपालिका भित्रका सम्भावनाका क्षेत्रहरु के के हुन ?

पर्यटनको प्रचुर सम्भावना छ । चाँगुनारायण मन्दिर २२/२३ सय वर्ष पहिला निर्माण भएको र विश्व सम्पदा सूचिमा भएको छ । यसले पर्यटकका हिसाबले निकै अगाडी छ । यसबाहेक हामीले स्वास्थ्य क्षेत्रको हब बनाउने गरी पहल गरिरहेका छौं । नगरपालिका भित्र बीर हस्पिटलको विस्तार हुँदै छ । एउटा क्यान्सर हस्पिटल, काठमाडौं मेडिकल कलेज लगायत १० वटा स्वास्थ्य संस्था छ । मानव अंग प्रत्यारोपण केन्द्रको निर्माण गर्न लागिरहेको छौं भने तिलगंगा आँखा अस्पतालको एउटा शाखा ल्याउने योजनामा हामी छौं । त्यसबाहेक सडकको विकास, गुणस्तरिय शिक्षाका कार्यक्रम, खानेपानी तथा सुन्दर पर्यटकिय नगरी बनाउने योजनाहरु हामीले सुरु गरेका छौं ।

सडक विस्तार, स्तरोन्नती तथा सहज यात्रा निर्माणका लागि तपाइहरुले के कस्ता कार्यक्रमहरु ल्याउनु भएको छ ?

चाँगुनारायण नगरपालिका उपत्यकाको सबैभन्दा ठुलो नगरपालिका हो । भौगोलिक हिसाबले काठमाडौं महानगरपालिका भन्दा १३ स्क्वायर किलोमिटर ठुलो छ । हामी जनप्रतिनिधि भएर आइपुग्दा बढीमा २० किलोमिटर सडक मात्र कालोपत्रे भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब २० करोड रुपैयाँ बराबरको लागतमा सडक निर्माणका काम भएका छ । हाम्रो नगरपालिकामा करिब ३ सय वटा साना ठुला सडक छन् । त्यसमध्ये केही ठुला आयोजना बहुवर्षे आयोजना छन् । त्यस मध्ये प्रत्येक वर्ष प्रत्येक वडामा एक कारोडको लागयतमा सडक विस्तार गरिरहेका छौं । एउटा नौ करोडको लागतमा प्रदेश सभा सदस्य समेत रहनुभएका स्वर्गिय हरिशरण लामिछानेको नाउँमा एउटा सडक पिच पनि गर्दैछौं । यसरी हामीले विभिन्न सडकको काम गरिरहेका छौं । सडकको क्षेत्रमा काम धेरै नै गर्न बाँकी छ ।

यस बाहेक संघीय सरकार र प्रदेश सरकारले बनाउन लागेका सडकहरु पनि होलान् । ति सडकको अवस्था कस्तो छ ?

प्रदेश सरकारले र संघीय सरकारले हेर्ने सडकहरु बाहेक हामीले आफ्ना योजनाका सडकहरुको काम तिब्र गतिमा गरिरहेका छौं । तर संघिय सरकारको कामको गति निकै सुस्त छ । जस्तो नगरकोट पर्यटकिय क्षेत्रमा जाने सडक आजभन्दा छ वर्षअघिदेखि नेपाल सरकारले ठेक्कामा लगाएर काम गरिरहेका छ । उक्त सडक ठेकेदारले जिम्मा लिएको छ । त्यसमा हामीले कामगर्ने कुरा पनि भएन् । लामो सडक छ हाम्रो काबु भन्दा बाहिर पनि छ । यो सडक लामो समयसम्म नबन्दा त्यहाँ जाने पर्यटकहरुले सास्ति पाउँने गरेका छन् ।

पर्यटकिय क्षेत्र रहेकाले यो नगरपालिकामा रहेका सम्पदाहरुको संरक्षणमा कस्ता कार्यहरु भएका छन् ?

चाँगुनारायण मन्दिरको जिर्णोदार गतवर्ष नै सकिएको छ । त्यहाँ चौघेरा सकल निर्माण गर्ने काम बाँकी छ । अब त्यो मन्दिर र त्यस आसपासका क्षेत्रको निर्माण गर्दा पुरातत्व विभागको स्विकृती र युनेस्कोको मापदण्डका आधारमा काम गर्नुपर्ने हुन्छ । त्यो काम हामी गर्न पाउँदैनौं, पुरातत्व विभागले नै गरिरहेको छ । हामीले चाँगुनारयण मन्दिरको वरिपरी मल्लकालमा निर्माण भएका साना–साना नौ वटा पोखरीहरु छन् । जसलाई दह भन्ने गरिन्छ । ती दहहरुको निर्माण गर्ने काम हामीले गरिरहेका छौं । अहिले शंखदह निर्माण गरिरहेका छौं । शंखदहदेखि चाँगुनारायण मन्दिर जाने बाटोमा १ हजार वटा सिढीं बनाउन लागिएको छ । कलात्मक ढुंगाहरुको प्रयोग गरेर उक्त बाटो बनाउन लागिएको छ । त्यसमा पुननिर्माण प्राधिकरणको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको थियो । त्यस क्षेत्रमा चाँपको जंगल थियो । त्यही कारणले चाँगुनारायण नामाकरण गरिएको हो भन्ने पनि छ । त्यसैले हामीले यस अघी २ हजार चाँगका बिरुवा रोपेका थियौं भने आगामी शनिवार पनि बिरुवा रोप्ने कार्यक्रम छ ।
अर्को विषय नगरकोट क्षेत्र पर्यटकीय हिसाबले खुल्ला भएको ३८ वर्ष भएको छ । आजसम्म कुनै सरकारी निकायले त्यस क्षेत्रमा कुनै संरचना बनाएको छैन् । त्यहाँ पर्यटकले खालि प्राकृतिक दृष्य हेर्नका लागि जाने गरेको पाइन्छ । त्यहाँबाट हिमाल हेर्न, सुर्योदय हेर्न मात्र पर्यटकहरु जाने गरेका छन् । निजी क्षेत्रबाट केही होटलहरु बनेका छन् । त्यसबाहेक अरु केही बनेको छैन् । त्यहाँ हामीले बनस्पति भ्यूपार्क निर्माण गर्न लागेका छौं । त्यस्तै १६ करोडको लागतमा मनोरन्जन पार्क बनाउन लागेका छौं । त्यस्तै करिब ४ किलोमिटर जंगलै जंगल हिड्ने पदमार्गको काम गर्न पनि लागेका छौं । त्यस्तै त्यही बाटोको क्षेत्रमा पर्नेगरी विभिन्न फलफुलका विरुवा रोप्ने काम पनि गरेका छौं । यसअघि १० हजार बिरुवा हामीले रोपिसकेका छौं । नगरकोटको जंगल ननप्रडक्टिभ फरेस्ट हो अब त्यसलाई हामीलाई प्रडक्टिभ बनाउन खोजिरहेका छौं ।

यो नगरपालिकामा कृषिको कतिको सम्भावना छ ? सहरी र ग्रामिण दुवै चरित्र भएको नगरपालिका भएकाले कृषिमा आधारीत नागरिक पनि छन् होला ? नगरपालिकाको योजना कस्तो छ ?

अहिलेसम्म केही कृषियोग्य जमिन पनि छ । तर घर बनाउनका लागि प्लटिङ गर्ने प्रवृतिले कृषियोग्य जमिन मासिदै गएको छ । यहाँ सञ्चालित ५० वटा इटा कारखानाका कारण पनि खेति योग्य जमिन तहसनहस भएको छ । अब धेरै वर्ष कृषिको जमिन रहन्छ भन्ने पनि हामीलाई लागेको छैन् । तर वडा नम्बर ५ लाई कृषिको क्षेत्रमा अगाडी बढाउनु पर्छ भनेर हामीले यसपटक कफी खेतीको सुरुवात गर्न लागेका छौं । स्थानीय समुदाय, कफि विकास वोर्ड र नगरपालिकाको त्रिपक्षिय साझेदारीमा कार्यक्रम लागु गरेका छौं । नगरपालिकाले अन्य निजी कृषिका कार्यक्रमहरुका लागि पनि विषादी रहीत कृषिको काम कसैले गर्छ भने नगरपालिकाले सहयोग गर्ने नीति लिएको छ । त्यसबाहेक विरुवाहरु बाँडने लगायतका कार्यक्रमहरु हामीले लागु गर्दै आएका छौं ।

चाँगुनारायण नगरपालिका भित्र पनि सहरको व्यवस्थापन त्यति राम्रो देखिदैन् । नगरपालिकाले सहरलाई व्यवस्थित बनाउन कस्ता योजनाहरु ल्याएको छ ?

नयाँ सहर विकास गर्ने अर्थात स्मार्ट सिटि बनाउने योजना नेपाल सरकारको छ । चाँगु नारायण नगरपालिकामा ६३ स्क्वायर किलोमिटर क्षेत्र छ । त्यसको ९० प्रतिशत भाग यो नयाँ टाउन बनाउने योजनामा परेको छ । यसमा फिनल्याण्डको एउटा कम्पनीले डिपिआर बनाउँदै छ । अब अगस्टमा त्यो डिपिआर आउँदै छ । त्यही डिपिआरको आधारमा नयाँ सहर बनाउने भन्ने छ । हामी त्यही डिपिआरमा आधारित रहेर सहरको निर्माण गर्ने काममा जान्छौं ।

खानेपानीको समस्या चाँगुनारायण नगरपालिकामा पनि छ ? नगरपालिकाले कुनै दिर्घकालीन आयोजना तथा अलपकालिन आयोजना बनाएको छ ?

खानेपानीमा अलपकालिन योजना प्रशस्त छन् । यो वर्ष त्यसका लागि साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरेर काम गर्ने योजना पनि छ । दिर्घकालिन आयोजना अन्तर्गत मेघा आयोजना निर्माण गर्ने योजना हाम्रो छ । गत वर्षपनि हामीले १५ वटा जति डिप बोरिङ गरेर खानेपानीको व्यवस्था गरेका छौं । त्यसबाहेक पानी ट्याङ्की निर्माण गर्ने काम पनि हामी गरेका छौं । हामीले अब १ लाख देखि ३ लाख लिटरसम्मका ट्याङ्की निर्माण गरिरहेका छौं । जहाँ हामीले पानी संकलन गर्ने छौं । त्यस्तै यो वर्ष घरघरमा कसरी धारा लैजाने भन्ने योजना पनि बनाउँदै छौं ।

अलि एउटा फरक विषय, तपाई ताप्लेजुङमा जन्मनु भएको र चाँगुनारायण नगरपालिकामा कर्मथलो बनाएर बस्नु भएको मानिस । हामीले बुझ्दा तपाई नगरपालिकामा एकदमै लोकप्रिय मेयर पनि हुनुहुन्छ । तपाइलाई नागरिकले किन मन पराउँछन् ? त्यो त अब नगरबासिले मलाई के मूल्याङ्कन गर्छन् ?

कसरी गर्छन भन्ने विषय त मलाई भन्दा पनि नागरिकहरुलाई नै सोध्दा राम्रो हुन्छ जस्तो लाग्छ । अब नगरबासिको सबैभन्दा ठुलो अपेक्षा भनेको खानेपानी र सडकमा छ । सहज खानेपानी होस् र सडकको राम्रो व्यवस्था होस भन्ने मात्र नागरिकको अपेक्षा छ । त्यसपछि शिक्षा, स्वास्थ्य लगायतका काम गर्नु छ । त्यही काममा नै मैले बढी जोड दिएकाले नागरिकले रुचाएको हुनुपर्छ । र हामीले सकेसम्म हाम्रै कार्यकालमा यी सबै कामगर्ने योजना बनाएका छौं । हामी युद्ध स्तरमा ती काम गरिरहेका छौं ।

तपाइहरुले पाँच वर्षको कार्यकालमा ५ वटा बजेट ल्याउने हो । अहिलेसम्म ३ वटा ल्याइसक्नु भयो । यो आधारमा आधा भन्दा बढी कार्यकाल सकिएको छ । यो अवधिमा तपाईहरुले चुनावका बेला बाचा गरेका कामहरु पनि आधा भन्दा बढी नै सकिएको होला ?

ती चाहीँ सकिएका छैनन् । तर हामीले सक्नका लागि कामहरु गरेका छौं । केही कामहरु सकिएका पनि छन् । अधिकांश कामहरु सुरु भइसकेका छन् तर सम्पन्न भइसकेका छैनन् । त्यसैले सुरु गरेका कामलाई गर्यौ भनेर भन्न त मिलेन । तर पाँच वर्षको अवधीमा अधिकांस प्रतिवद्धताहरु पुरा हुने विश्वास मलाई छ ।

अब नयाँ आर्थिक वर्ष पनि सुरु भइसकेको छ । यो वर्षको बजेटले कस्ता कस्ता आयोजनालाई जोड दिएको छ ?

यो आर्थिक वर्षमा प्रत्येक वडामा ३ करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेका छौं । सबैभन्दा कम बजेट पाउँने वडाले ३ करोड ८ लाख रुपैयाँ पाएको छ भने सबैभन्दा बढी पर्ने वडामा ३ करोड ६८ लाख रुपैयाँ परेको छ । त्यसमध्ये सबै वडाले १ करोड रुपैयाँ सडकको क्षेत्रमा खर्च गर्नुपर्छ । यो वर्ष नगरकोटको बनलाई उत्पादनमुखि बनाउने योजना अनुसार बजेट विनियोजन गरेका छौं । शिक्षा, स्वास्थ्य तथा खानेपानीका लागि पनि प्राथमिकता दिएका छौं । त्यसबाहेक केही नौला काम पनि हामीले सुरु गरेका छौं । जस्तो की शिक्षाको क्षेत्रमा नयाँ शिक्षक भित्र्याउने उद्देश्य सहित २५ वर्षदेखि शिक्षण पेशा गरिरहनु भएका र ५० वर्ष नाघेको भएमा स्वोच्छिक अवकासका लागि प्रोत्साहन गर्ने गरी १ लाख रुपैयाँ नगरपालिकाको तर्फबाट सम्मान स्वरुप दिने योजना ल्याएका छौं । यसले नयाँ पुस्ताका लागि बाटो खोल्ने छ । त्यसमा शिक्षक सेवा आयोगबाट नयाँ शिक्षक आउँछन भन्ने हो । यस वर्षदेखि नयाँ पाठ्यक्रम पनि लागु गरेका छौं । शिक्षक तालिमहरु पनि व्यवस्था गरेका छौं । हामी २०७८ पुष महिनासम्ममा चाँगुनारायणलाई पूर्ण सरसफाई उन्मुख नगरपालिका घोषणा गर्नेगरी महत्वपूर्ण योजना बनाएका छौं । त्यसमा युएन ह्याविटेटले पनि सहकार्य गर्ने भएको छ । त्यस्तै गत वर्ष देखिनै हाम्रो नगरपालिकामा एक जनापनि बालक विद्यालय जान छुटेका छैनन् । यस वर्ष पनि हामीले त्यसलाई निरन्तरता दिएका छौं । यस्तै नगरपालिकामा शिशु मृत्युदर, बाल मृत्युदर र मातृ मृत्युदरलाई शुन्यमा ल्याउन कार्यक्रमहरु गर्ने योजना पनि बनाएका छौं । यस्तै नयाँ योजना अगाडी सारेका छौं । मुलतः भौतिक पुर्वाधारका कामलाई अगाडी सारेर हामीले यो वर्षको बजेट तर्जुमा गरेका छौं ।

सम्बन्धित समाचार

Advertisement