सातवटै प्रदेशको अस्थायी राजधानीको टुंगो लाग्यो , प्रदेश नम्बर ३ को राजधानी भक्तपुरको सानोठिमी

अनलाइन दर्पण 2018-01-09
img

  मनोज फुयाल

भक्तपुर : सरकारले सातवटै प्रदेशको अस्थायी राजधानीको प्रस्तावित नाम टुंगो लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सातवटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो  ।  मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार पारिएको जानकारी दिए ।

प्राप्त जानकारी अनुसार प्रदेश नम्‍बर १ को विराटनगर, प्रदेश नम्‍बर २ को जनकपुर, प्रदेश नम्बर ३ को भक्तपुरको सानोठिमी, प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्‍बर ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ। शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्नका लागि प्रस्ताव गरेको हो।

प्रस्तावित ठाउँको खोजीमा मन्त्रालयका सहसचिव राजेन्द्र पौडेल सहितको टोली खटिएको थियोे । उक्त टोलीले प्रत्येक प्रदेशका सबै ठाउँको स्थलगत अध्ययन गरी ती स्थानमा मुकामको प्रस्ताव गरेको हो। ‘टोलीले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुन्छ भनेर पठाएपछि हामीले खाका तयार पारेका हौँ, प्रवक्ता पन्थीले भने, ‘अब आवश्यक अध्ययनपछि मन्त्रिपरिषद्को बैठकले ती प्रस्ताव गरेका मुकामलाई तोक्ने छ। अस्थायी रुपमा तोकिएका ती मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ। संवैधानिक रुपमा प्रदेश सरकारको दुई तिहाइ बहुमतले तोक्न सक्ने छ।

भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, सञ्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको सहजता  लगायतका सबै हिसाबले उपयुक्त देखिएकोले ती अस्थायी सरकारमुकाम तोकिएको प्रवक्ता पन्थीले बताए ।

सम्बन्धित समाचार

Advertisement