काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादार विरुद्ध सर्वोच्च अदालतमा रिट हालेकी छिन्।
मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पराजित भएकी चौधरीले पुनः मतगणना हुनुपर्ने माग गरेकी छन्।
सर्वोच्चको संवैधानिक इजलासमा दर्ता गराइएको निवेदनमा नेतृ चौधरीले गच्छादारलाई विजयी गराउन मतपेटिकाको सिल तोडिएको र नक्कली मतपत्र प्रयोग भएको दाबी गरेकी छिन्। चौधरीको निवेदनमा मतपत्रका सक्कली मुचुल्काहरु मतगणना स्थलभन्दा बाहिर झाडीमा भेटिएको उल्लेख गरिएको छ।
चौधरीको रिटमा गच्छदारको सपथ तत्काल रोकेर पुनः मतगणना गरिनुपर्ने मुख्य माग गरिएको छ।
चौधरीको रिटमा गच्छदारका साथै निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी र निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत टीकाभूषण घिमिरेलाई विपक्षी बनाइएको छ।
‘गच्छदारले निर्वाचन अधिकृत घिमिरे, प्रहरी प्रशासन सबै किनेर ठूलो धाँधली गरेका छन्’, उजुरीमा भनिएको छ, ‘सप्रमाण सर्वोच्च अदालतमा पेश गरेको छु।’
सुनसरी ३ को अन्तिम परिणाम अनुसार गच्छदार ३८ हजार नौ सय ७२ मतसहित विजयी भएका थिए भने नेतृ चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन्।