लक्षिमा योञ्जन, पाँचथर,
एकजना शिक्षक छन् जसको दिन स्कूलको चक डस्टर समातेर बित्छ, साँझ र बिहान चाहिँ गोबर सोहोरेर बित्छ । नाम हो उनको गंगाप्रसाद गुरुङ । घर हो पाँचथर सदरमुकाम फिदिम ।
गंगाप्रसाद दिनभरी जनकल्याण आधारभुत विद्यालय रानिटारमा पढाउँछन् । गाउँघरमा सबैभन्दा सम्मानित पेसा नै शिक्षण हो । अझ सरकारी स्कूलका शिक्षकको मानभाऊ नै बेग्लै हुन्छ । पर्याप्त तलब हुन्छ, विदा पनि मनग्ये हुन्छ । बसीबसी खान पुग्छ । तर, गंगाप्रसाद बसेर खाने खालका होइनन् ।
उनका साथीभाई प्राय सबै जापान, कोरिया, मलेसियादेखि अमेरिकासम्म पुगेका छन् काम गर्न । उनलाई पनि जाने अवसर नमिलेको होइन तर गएनन् । किनभने उनले गाईको गोबरमा कोरिया देखे, खोल्सामा जापान देखे अनि बारीमा मलेसिया भेटे । भन्छन्, ‘जापान कोरिया कतै जान पर्दैन, गरे यहिँ जापान कोरिया छ भनेरै नगएको हूँ ।’
वर्षमा १४ क्वीन्टल अलैंची फलाउँछन् । यति अलैंची भनेको न्यूनतम पनि १४ लाख रुपैयाँ हो । अनि किन जानुपर्यो जापान कोरिया ?
त्यता नगएर यता
३३ वर्षका भए गंगा । शिक्षण पेसाले आरामसँग खान पुग्छ । सामान्य खेति गरे झन मजाले बाँच्न पुग्छ । तर, उनी उदाहरणीय काम गरिरहेका छन् ।
उनले जलकन्या पशु फार्म चलाएका छन् । फार्ममा उन्नत जातका जर्सी, होलेस्टेन र स्थानिय गरी १० वटा गाई छन् । दैनिक सय लिटर दूध उत्पादन गर्छन् । प्रतिलिटर ३८ रुपैँयाले बेच्छन् । गोठमा अब १५ वटा गाई पुराउने लक्ष्य छ ।
अर्थात्, गाईबाट मात्र उनले शिक्षण पेसाबाट धेरै कमाउँछन् । तर, यसमा घरपरिवारको पनि योगदान छ । भन्छन्, ‘विदेश गएर लाख कमाउनुभन्दा परिवारसँग बसेर हजार कमाउनुमा आनन्द छ र त्यो हजार नै दिगो पनि हुन्छ ।’
गाईका लागि डेढ रोपनी जग्गामा घाँस खेति गरेका छन् । बिहान डेढदुई घन्टा घाँस काट्यो भने दिनभरी गाईलाई आहारा पुग्छ ।
पिताजीले बारीमा सधैं मकै खेति गर्थे, त्यो बारीलाई उनले सुन फल्ने बनाएका छन् । सुन अर्थात् अलैंची । ६४ रोपनीमा अलैंची लगाएका छन् । अलैंचीको भाउ घटबढ भइरहन्छ । तर जति नै घटे पनि किलोको हजार रुपैयाँ त आइहाल्छ ।
बारीमा गोबर मल हाल्छन् । मज्जासँग उब्जनी हुन्छ । सिजन अनुसारको तरकारी र फलफूल त हुने नै भयो । उनको घरबारी उन्नत कृषि तथा पशुपालनको नमूना थलो बनेको छ ।
‘जापान कोरिया कतै जान पर्दैन, गरे यहिँ जापान कोरिया छ भनेरै नगएको हूँ ।’
परम्परागत तरिकाले गाई पालेको भए, खेति गरेको भए गंगाले यो प्रगति गर्न सक्दैनथे । उन्नत र आधुनिक तरिकाले पशुपालन र खेति गर्दा उनले दाम मात्र नभएर नाम पनि कमाएका छन् ।
उनको बारेमा फिदिमको सुम्हात्लुङ एफएमले समाचार बनाएर समेत प्रसारण गर्यो ।
आफ्नै माटोमा केही गरौं, बारीको पाटोमा केही फलाऔं भन्ने उत्साही मानिसहरु उनीसँग परामर्श लिन आउँछन् ।
उनको अलैँची बारीमा अरुले जसरी चिलाउने र उत्तिसजस्ता परम्परागत वृक्ष लगाएका छैनन् । टाँकी, कुटमेरो लगायतका घाँसजन्य बोटविरुवा लगाएका छन् । अनि, अलैंचीबारीमा गोबर र गहुँतको मल हाल्छन् । उनको यो तरिका छरछिमेकी र अरुले पनि सिक्न थालेका छन् ।
वर्षमा १४ क्वीन्टल अलैंची फलाउँछन् । यति अलैंची भनेको न्यूनतम पनि १४ लाख रुपैयाँ हो । अनि किन जानुपर्यो जापान कोरिया ?
गंगा भन्छन्, ‘शिक्षा र कृषिमा ध्यान दिनुपर्छ, पशुपालन र खेतिपातीलाई एकीकृत गर्नुपर्छ, यसो गर्ने हो भने नेपालीका लागि जापान, कोरिया र अमेरिका नेपालमै छ ।’- श्राेत:हाम्राे कथा