काठमाडौं, २८ कात्तिक। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई सरकारले ५० लाख उपचार खर्च दिने निर्णय गरेको छ । विशिष्ट पदाधिकारीलाई जीवनमा एक पटक अधिकतम १५ लाखसम्म उपचार खर्च दिन सकिने स्वास्थ्य मन्त्रालयले तयार पारेको उपचार खर्चसम्वन्धी मापदण्डलाई मिच्दै आइतबारको मन्त्रिपरिषद् बैठकमा नेतृ कोइरालालाई ५० लाख दिने निर्णय भएको हो ।
बैठकमा छलफल नै नगरी ठाडो प्रस्ताव ल्याएर कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको दबावमा पूर्वपरराष्ट्रमन्त्री कोइरालालाई उपचार खर्च दिने निर्णय भएको छ ।
कोइरालाले एक करोड उपचार खर्च मागेकी थिइन् । उनलाई स्तन क्यान्सर भएको छ । कोइराला थप उपचारका लागि आइतबार नै सिंगापुर प्रस्थान गरेकी छन् ।
नेपाली कांग्रेसका युवा नेता गगन थापा स्वास्थ्यमन्त्री भएपछि राजनीतिज्ञ तुलसी गिरीलाई उपचार खर्च दिने प्रस्ताव भने रोकिएको थियो । उनले केपी सरकारकै पालामा २० लाख रूपैयाँ लगिसकेका थिए ।
सुजाताले एक करोड़ उपचार खर्च माग गरे संगै उनको ब्यापक आलोचना भएको थियो ।