के हो ‘होलबडी’ चेकअप ? यसमा के-के जाँच गरिन्छ? कुन अस्पतालमा कति शुल्क लाग्छ ?

अनलाइन दर्पण 2017-10-10
img

नेपाली समाजमा बिरामी नभई स्वास्थ्य जाच नगर्ने प्रचलन छ तर हिजोआज जनमानसमा स्वास्थ्यप्रतिको सजगता बढ्दै गएको छ। समय-समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने चलन सुरु भएको छ। आमनागरिकको यही सचेतना बुझेर स्वास्थ्य संस्थाहरुले आफूतिर आकर्षित गर्न स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज सार्वजनिक गर्छन्। तिनै मध्येको चर्चित प्याकेज हो, ‘होलबडी चेकअप’ अर्थात शारीरिक परीक्षण। होलबडी चेकअपबारे धेरैले सुनेका त हुन्छन्, तर, त्यसभित्र के-के जाँच गरिन्छ, के-के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे चाहिँ उति धेरै जानकारी राखेको पाइँदैन।

के हो ‘होल बडी चेकअप’ ?
‘होलबडी चेकअप’ गर्दा सामान्यतया मानिसमा चाँडो संभावित ठूला रोगहरुबारे पूर्व जानकारी हुने गर्दछ। होलबडीमा मानिसको मुटु, कलेजो, फोक्सो, मृगौला, छातीको भिडियो एक्सरे गरिन्छ।

दुवै मृगौलाले सहज तरिकाले काम गरे नगरेको, मुटु, फोक्सो तथा कलेजोको अवस्था पत्ता लाग्छ। परीक्षणपछि के के कुरामा सावधानी अपनाउने भनेर डाक्टरहरुले सुझाव पनि दिन्छन्। ति सुझावहरु अवलम्वन गर्न सकेमा लाखौँ खर्चेर पनि निको नहुने रोगहरुबाट समेत बच्न सकिन्छ।

त्यस्तै होल बडी चेकअपमा मुत्र थैलीको अबस्था, इसिजी, अल्ट्रा साउण्ड परीक्षण गरी पूर्व जानकारी हुने डा. बस्नेतको भनाइ छ। ‘अहिलेको सामान्य खर्चले, भोलिको संभावित लाखौं खर्च जोगाउने हुँदा होल बडी चेकअपका लागि सानो रकममा कसैले कन्जुस्याइँ गर्न खोज्नु मुर्खता हुनेछ’ उनले भने।

होल बडी चेकअपमा पनि कतिपयले महिला र पुरुषका हकमा छुट्टाछुट्टै शुल्क तोकेका छन्। महिलामा स्तन, पाठेघरसहित केही थप अंगहरु परीक्षण गर्नुपर्ने भएकाले शुल्क फरक पर्न गएको अस्पतालहरुले बताएका छन्।

त्यस्तै प्रारम्भिक चरणमा परीक्षण गर्दा कुनै अंगमा डाक्टरहरुलाई केही शंका लागेमा थप परीक्षण भने गर्नुपर्छ। त्यसैले केही अस्पतालहरुले प्रारम्भिक चरण र दोस्रो चरण गरी चेक अपको प्याकेज बनाएका छन्।

के-के जाँच गरिन्छ?

तपाईंको स्वास्थ्य सामान्य अवस्थामा छ कि छैन भनेर गरिने विभिन्न स्वास्थ्य परीक्षणको समूहलाई नै ‘होलबडी’ चेकअप भन्ने गरिन्छ। साधारणतया यसमा उमेर र, लिङ्ग हेरेर निम्न जाँच गरिन्छ:

रगतबाट गरिने जाँच:

  1. रक्त कण गणना (कम्प्लिट ब्लड काउन्ट)
  2. रक्त समूह (ब्लड ग्रुप)
  3. सुगर (फास्टिङ/पोस्टप्रान्डियल/रेन्डम)
  4. कलेजो (लिभर फंसन टेस्ट)
  5. मिर्गौला (रिनल फंसन टेस्ट)
  6. कोलेस्टेरोल (लिपिड प्रोफाइल)
  7. युरिक एसिड
  8. थाइराइड (थाइराइड फंसन टेस्ट)
  9. भिटामिन डी
  10. हेपाटाइटिस बी / सी / एचआइभी / भिडिआरएल / टिपिएचए

पिसाबको जाँच: पिसाबमा इन्फेक्सन, सुगर, प्रोटिन (अल्बुमिन) को मात्रा।

दिसाको जाँच: दिसामा इन्फेक्सन, जुका, रगत (ओकल्ट ब्लड) भएको/नभएको।

फोक्सो (पल्मोनरी फंसन टेस्ट)

छातीको एक्सरे (सिएक्सआर-पिए)

इको (इकोकार्डियोग्राफी)

भिडियो एक्सरे (पेट) (युएसजी-एब्डोमेन/पेल्भिस)

पाठेघरको मुखको क्यान्सरका लागि प्याप स्मेयर

४० वर्षभन्दा माथिका महिलाका लागि म्यामोग्राफी

४५ वर्षभन्दा माथिका पुरुषका लागि प्रोस्टेट जाँच (पिएसए)

होलबडी चेकअपका लागि पूर्वतयारी:

कुनै पनि स्वास्थ्य प्रयोगशाला (ल्याब) मा गरिएको जाँचको रिपोर्टको गुणस्तर तपाईंले नमूना दिनुभन्दा अगाडि तपाईंको दिनचर्या, खानपान, सेवन गर्ने औषधि, शारीरिक अवस्था, निन्द्रा आदि कुरासँग निर्भर हुन्छ। 

जाँच गर्न जानुभन्दा अगाडि निम्न पूर्वतयारी आवस्यक छ:

  • जाँच गर्न जानुभन्दा अघिल्लो रात कम्तिमा ८-१० घन्टा सुत्नुपर्छ।
  • जाँच गर्नुभन्दा अगाडि कम्तिमा तीन दिन साधारण खाना खानु पर्छ। धेरै बोसोयुक्त खाना खानाले टिजी (रगतमा ट्राइग्लिसराइड- रगतमा हुने बोसोको मात्रा) बढाउँछ। प्रोटिनयुक्त खानाले युरिक एसिड बढाउँछ।0 ब्रत बसेको व्यक्तिमा एसिटोन बढ्छ।
  • विशेसगरी सुगर, कोलेस्टेरोल र भिडियो एक्सरे जाँचका लागि कम्तिमा ८-१० घन्टा खाली पेट हुनु अनिवार्य हुन्छ।
  • कमसेकम २४ घन्टा अघिदेखि धूमपान, मद्यपान गर्नु हुँदैन। मद्यपान गरेको केही घन्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्ने हुन्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ। भर्खरै चुरोट सेवन गरेको व्यक्तिमा सुगर सामान्यभन्दा बढी देखिन्छ भने रक्तकण गणना पनि बढी आउँछ।
  • जाँच गर्ने व्यक्तिले आफ्नो पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिको पूर्ण जानकारी प्रयोगशालामा गराउनुपर्छ।
  • जाँच गराउने महिलाले आफू गर्भवती भएको अथवा महिनाबारी चलिरहेको बारे जानकारी गराउनुपर्छ।
  • पाखुरासम्म सार्न मिल्ने सजिलो कपडा लगाउनुपर्छ।

‘होल बडी चेक’ गर्दा कुन अस्पतालमा कति शुल्क लाग्छ?

अस्पताल शुल्क
टिचिङ अस्पताल,महाराजगंज २ हजार ४ सय ५० रुपैयाँ
सिभिल अस्पताल,नयाँ बानेश्वर ३ हजार २ सय ६५ रुपैयाँ
बी एण्ड बी अस्पताल,ललितपुर  १० हजार  रुपैयाँ
सुमेरु अस्पताल, धापाखेल ४ हजार पाँचसय ५० रुपैयाँ
अल्का अस्पताल, जाउलाखेल ७ हजार १ सय रुपैयाँ
नर्भिक अन्तर्राष्ट्रिय अस्पताल ६ हजार रुपैयाँ
ओम अस्पताल, चाबाहिल १४ हजार ६ सय रुपैयाँ
वयोधा अस्पताल, बल्खु १२ हजार ५ सय रुपैयाँ
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल  १७ हजाररुपैयाँ

 

 

सम्बन्धित समाचार

Advertisement