काठमाडौं,१२ जेठ। राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले स्थानीय तहको संख्या बृद्धि सहमति अनुसार नभएको भन्दै दोस्रो चरणको चुनावमा अवरोध गर्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सरकारले हालै मात्र राजपालाई चुनावमा सहभागी गराउन भन्दै २२ स्थानीय तह थप गर्नुका साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो ।
शुक्रबार बसेको गठवन्धनको बैठकले तीनबुँदे सहमति कार्यान्वयन नभएको र पूर्व सहमति अनुसार मुद्दा फिरता नभएको ठहर गरेको छ ।गठवन्धनले १९ गतेको उम्मेदवारी दर्तालाई अवरोध गर्न १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द आहृवान गरेको छ र उम्मेदवारी प्रक्रियामा अवरोध गर्ने चेतावनी समेत दिएको छ । बैठकले माग सम्बोधन नभएसम्म निर्वाचनसम्वन्धी सबै कार्यक्रमको प्रतिवाद गर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जसमा १३ गते उपमहानगर र नगरपालिकामा मसाल जुलुस प्रदर्शन, १४ गते लाठी जुलुस र १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने छन् ।