काठमाडौं,८ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचन भएको नवौं दिनसम्म मतगणना जारी रहँदा २८३ स्थानीय तहमध्ये २७३ को मतपरिणाम सार्वजनिक भएको छ। सोमवार मध्यान्ह भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मेयर जितेर एमालेले ११७ स्थानीय तहमा बर्चश्व कायम गर्दै सबैभन्दा ठूलो दल बनेको छ । उसले ४७ नगरपालिका जितेको छ ।बाँकी १० स्थानीय तहमध्ये ४ महानगर, एक उपमहानगरपालिकासहित ९ तहको मतगणना जारी छ । दोलखाको मेलुङमा गणना हुन सकेको छैन ।
मतगणना भइरहेका अधिकांश महानगर र नगरपालिकामा एमालेको अग्रता छ । पछिल्लो समय हेटौंडा उपमहानगरपालिकामा पनि एमालेले अग्रता लिएको छ । काठमाडौं, भरतपुर र पोखरा महानगरमा एमालेको अग्रता छ ।
ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता छ । काठमाडौंका बुढानिलकण्ठ र कागेश्वरी मनहरा नगरपालिकामा एमालेको अग्रता छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना स्थगित भए पनि एमालेको अग्रता छ । कालिकोटको नरहरीनाथ गाउँपालिकाको अग्रताबारे जानकारीप्राप्त भएको छैन ।
नेपाली कांग्रेसले २९ नगरपालिकासहित १०३ स्थानीय तह जितेर दोस्रो स्थान सुनिश्चित गरेको छ । माओवादी केन्द्रले ११ नगरपालिकासहित ४६ स्थानीय तह जितेर तेस्रो स्थान कायम गरेको छ ।
नेपाल मजदूर किसान पार्टीले एक नगरपालिका जितेर भक्तपुरमा आफ्नो परम्परागत बर्चश्व यथावत राखेको छ । राष्ट्रिय जनमोर्चा, राप्रपा र नयाँ शक्तिले पनि एक-एक गाउँपालिका जितेका छन् ।
मुस्ताङ र डोल्पामा गरी ३ स्वतन्त्र उम्मेदवार गाउँपालिका अध्यक्ष भएका छन् । मुस्ताङका स्वतन्त्र उम्मेदवार कांग्रेसको रोमी गौचन बिरोधी समूहबाट निर्वाचित भएका हुन् भने डोल्पाका स्वतन्त्र एमालेका बागी उम्मेदवार भएर जितेका हुन् ।
पहिलो चरणको चुनाव परिणाम अन्तिम चरणमा पुग्दा एमालेले ३ नम्बर प्रदेशमा बहुमत प्राप्त गर्ने निश्चित देखिएको छ । नेपाली कांग्रेसले ४ नम्बर प्रदेशमा बहुमत प्राप्त गरेको छ भने ६ नम्बर प्रदेशमा तीनै पार्टीको बराबरी शक्ति देखिएको छ । एउटा स्थानीय तहको मतपरिणाम आउन बाँकी रहँदा एमालेले २६ तथा कांग्रेस र माओवादीले २५/२५ स्थानीय तहमा जित हासिल गरेका छन् ।