मतदातालाई उम्मेदवारको पत्र

अनलाइन दर्पण 2017-05-07
img

स्थानीय तहको निर्वाचनको  प्रचार प्रसारमा निकै नौला खालका शैलीहरु प्रयोग भइरहेका छन् । धेरैले त सोसल मिडियालाई नै निर्वाचन प्रचारको प्रमुख माध्यम बनाइरहेका छन् ।
तर, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार भएका शिवप्रसाद न्यौपानेले भने मतदातासँग मत माग्दै दुई पृष्ठ लामो चिठ्ठी पठाएका छन् ।
निर्वाचन प्रचार प्रसारको लागि समय निकै छोटो भएको र सबै मतदाताको घरमै पुगेर आफ्ना कुरा राख्न नभ्याइने भएपछि न्यौपालेले यस्तो शैली अपनाएका हुन् । चिठ्ठीमा मतदाताको नाम नै उल्लेख गरेर आफ्ना एजेण्डाहरु समावेश गरी गाउँपालिकाको अध्यक्षमा विजयी गराउन अनुरोध गरिएको छ ।
मतदातालाई पठाइएको चिठ्ठीमा भनिएको छ, ‘सुशासन र विकासको निम्ति अहिलेको पुस्ताले गर्व गर्ने र भावी पुस्ताले धिक्कार्न नसक्ने गरी सिङ्गो सुनकोशी गाउँपालिकाको समग्र विकास गर्नेछु । त्यसका लागि हामीलाई मत दिएर विजयी गराइदिनुहोला ।’
यस्ताे छ चिठ्ठीकाे व्यहाेरा
आदरनीय
...........................................ज्यू
लामो समयसम्म शिक्षण पेशामा आबध्द रहें । पेशाकै माध्यमबाट भए पनि सुनकोशी क्षेत्रको साक्षरता र शैक्षिक विकासको निम्ति मेरो क्षमताले भ्याएसम्म केही प्रयास गरें भन्ने ठानेको छु । मैले पढाएका बिद्यार्थीहरुले धेरै ठूलो प्रगति गर्न नसके पनि यो देशको कुशल र असल नागरिक बन्ने कोशिष गर्दा खुसी हुन्छु, गौरवान्वित हुन्छु । धेरै भाई–बहिनीहरुले आर्थिक अभावका कारण बिद्यालय शिक्षाबाट बञ्चित हुनुपर्ने र माध्यमिक शिक्षा पनि पुरा गर्न नसक्ने दुःखद परिस्थिति भोग्नु परेको कैयौ घटनाहरुको साक्षी म आफै पनि छु । आकाशे खेतीको भरमा जीवन धान्नु परेकोले राम्ररी एकछाक खान नपाउने र एकसरो कपडा लाउँन नपाउँने विडम्वनाहरु भोग्दै र सहँदै आएको तीतो यथार्थतालाई पनि नजिकैबाट देखेको छु । दूरदृष्टिकोण बिनाको विकास र यससँग सम्बन्धित योजनाहरुले सबै बर्ग र तहलाई समेट्न नसकेको, गरिब र निमुखा जनताको बिकाससम्म पहुँच कहिल्यै नपुगेको र स्रोत व्यवस्थापनमा सबैको समान सहभागिता नभएको जस्ता समस्याहरु भोगिरहेका छौं हामी सबैले । पेशा, व्यवसाय तथा रोजगारीको अभावले छोरा–छोरीको शिक्षादिक्षाकै लागि पनि धेरै युवाहरु अरबीयन मरुभूमिका देशहरुमा श्रम बेचिरहेका छन् अति सस्तो मूल्यमा । हो, यस्ता खालका समस्याहरु समग्र देशले र देशले भन्दा बढी सुनकोशी गाउँपालिकाले ब्यहोरिहेको छ ।
यस्ता खालका अनेक समस्याहरुका बिचमा २० बर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ र स्थानीय तहमा हुन लागिरहेको लोकतान्त्रिक अभ्यासमा म पनि सहभागी भएको छु । सम्बृद्ध र सम्मुनत बाटोतर्फ सुनकोशी गाउँपालिकालाई डोर्याउनको लागि नेतृत्वदायिक भूमिका अर्थात गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिएको छु । मैले बाल्यकालदेखिकै जिन्दगी सुनकोशीकै सेरोफेरामा बिताएको छु ।
यस क्षेत्रको दुःख–सुखसँग एकाकार हुने चाहनाले गर्दा अन्य विकल्प र संभावनातिर मेरो ध्यान जानै सकेन । बाँकी जीवन पनि यस क्षेत्रकै समुदायको हक हित र अधिकारको लडाईंमा बिताउँने संकल्पका साथ यसै पत्र मार्फत तपाईंको अमूल्य मत मागेको छु । सुनकोशी गाउँपालिकाको बर्तमान अवस्थामा उल्लेख्य सुधार गर्ने, चुन्ने र चुनिने अर्थात प्रतिनिधि र जनता चुनावमा मात्र होइन, सधैभरी सँगसँगै हिंड्ने, सबैको सहभागितामा स्थानीय कानून र बिधिको निर्माण गर्ने, भौतिक विकासबाट हुने नकारात्मक असरहरुको न्युनिकरण गर्दै, दिगो, नतिजामूलक र जनमुखी विकासका खाकाहरु कोर्नको निम्ति तपाईहरुसँग हातेमालो गर्ने मेरो अभिलाषा छ । संबिधनाले स्थानीय तहको भूमिका, अधिकार र क्षेत्रलाई ब्यापक बनाएको छ । स्थानीय तहले प्राप्त गरेको शक्ति र अधिकारलाई दुरुपोग हुन दिन्न । भ्रष्टाचार र आर्थिक अपराधको कुनै गुन्जायस नै हुँन दिन्न । शासन र विकासमा आम नागरिकको अर्थपूर्ण र प्रभावकारी सहभागिता मेरो पहिलो प्राथमिकता हुनेछ ।हाम्रो सामुहिक समस्या के के हुन् र त्यसको निदान के के हुनसक्छ भन्ने बिषय सँगसँगै बसेर टुङ्गो लगाइने छ । विकास र बृद्धिमा हुने हरखाले भेदभावको अन्त्य गर्दै समतामूलक अभियान थालिनेछ । मलाई थाहा छ, जनताको सहभागिता, प्रयास र जिम्मेवारीबाट मात्र अद्भुत परिवर्तन हुनसक्छ । त्यसैले शासन गर्ने होइन, सहजीकरण गर्ने जनप्रतिनिधिको रुपमा आफूलाई उभ्याउँनको लागि लोकतान्त्रिक अभ्यास र संस्कारको अनुशरण गर्दै तपाईंसँग मत मागेको छु । हो, मैले समृद्ध सुनकोशी गाउँपालिकाको सपना देखेको छु । मैले निन्द्रामा देखेको सपना होइन सम्बृद्ध र सम्मुनत सुनकोशी गाउँपालिका बिपनामा देखेको सपना हो । सफा मनसायले देखेको मेरो सपना कार्यान्वयन गर्नसक्ने भरपर्दो आधारहरु छन् । मसँग कुनै ब्यक्तिगत स्वार्थ छैन, छ भने सामुहिक स्वार्थ छ र सिङ्गो सुनकोशी गाउँपालिकालाई सफलताको सिंढी चढाउँने स्वार्थ छ । निराशापूर्ण विकास र सुशासनको दयनीय अवस्थालाई आशामा बदल्ने स्वार्थ छ । मैले यसै पत्र मार्फत गाउँपालिका अध्यक्षको जिम्मेवारी मागेको छु ।
म हिजोपनि सुनकोशीकै सेरोफेरोमा थिएं र भोली पनि यहीँ हुँनेछु । जिम्मेवारी दिने नदिने तपाईंको अन्तर्मनको निर्णय भएको हुँदा मैले नै पाउँनुपर्छ भन्ने जबर्जस्ती कुरा राख्नु संस्कार बिरुद्धको कुरा हो । म जनता प्रति जवाफदेही हुनेछु, आर्थिक र भौतिक कुरामा मात्र होइन, सूचना र निर्णय प्रक्रियालाई समेत पारदर्शी बनाउँने छु । म शिबप्रसाद न्यौपाने अर्थात सुनकोशी गाउँपालिकाको अध्यक्षका उमेदवार स्वयं खुल्ला किताबको पाना हुँ । मेरा प्रयत्नहरु न्यायपूर्ण विकासका सार्थक प्रत्याभूतिको निम्ति हुनेछ । तपाईले प्रदान गर्नु भएको जिम्मेवारीलाई तल–माथि हुन दिन्न । अमनचैन, विकास र अधिकार संरक्षण जस्ता कुराहरुमा आग्रह र पूर्वाग्रह गर्नेछैन । स्थानीय तहमा निहित हुने व्यवस्थापिकीय, कार्यकारी र न्यायिक अधिकारको प्रयोग गर्दा आस्था र प्रभावको छायाँ पर्नै दिन्न । सत्य र तथ्यको आधारमा इन्साफ हुने वातावरणको व्यवस्था गर्नेछु ।
मतदानको माध्यमबाट तपाईंले म माथि गर्नुभएको विश्वास माथि हरदम गर्व गर्नसक्ने वातावरण निर्माणमा तल्लीन रहनेछु । हो, सुशासन र विकासको निम्ति अहिलेको पुस्ताले गर्व गर्ने र भावी पुस्ताले धिक्कार्न नसक्ने गरी सिङ्गो सुनकोशी गाउँपालिकाको समग्र विकासको लागि सातवटा सूर्य चिन्हमा मतदान गर्नुहुनेछ । नेकपा ९एमाले० का सूर्य ध्वजावाहक उमेदवारहरुलाई बिजयी गराउनुहुनेछ भन्ने विश्वास गरेको छु । हार्दिक अभिवादन सहित ।
शिब प्रसाद न्यौपाने
अध्यक्ष पदका उमेदवार
सुनकोशी गाउँपालिका

 

सम्बन्धित समाचार

Advertisement