काठमाण्डौ, कार्तिक ४। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव आजकै संसद बैठकमा पेश हुने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रका १५७ सांसदले संयुक्त हस्ताक्षर गरेर बुधबार संसदमा सांसदमा विवादित छविका अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्तापछि स्वत: पद निलम्बित हुने भएकाले त्यसको जानकारी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संवैधानिक परिषद् र लोकमानसिंह कार्कीलाई बुधाबारै पठाइएको छ । पत्रमा संविधानको धारा १०१ को उपधारा ६ बमोजिम कार्कीको पद स्वत: निलम्बन भएको उल्लेख छ । सभामुखको पत्रको अन्तिममा लेखिएको छ, ‘महाअभियोगको कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने व्यवस्था भएकाले सोही व्यहोरा जानकारी गराउँदछु ।’
आज बिहीबारको संसद बैठकमा महाअभियोग प्रस्ताव पेश गर्ने तयारी छ । स्रोतका अनुसार बिहीबार संसदको दुई वटा बैठक बस्नेछ । पहिलो बैठकमा सभामुख घर्तीले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्नेछिन् भने दोस्रो बैठकमा छलफल हुनेछ महाअभियोग प्रस्तावमाथिको छलफल आजै सकियो भने महाअभियोग सिफारिस समितिमा जानेछ । संसदले बुधबार मात्र महाअभियोग सिफारिस समिति गठन गरेको छ ।
समितिले कार्कीसँग बयान लिने, प्रमाण संकलन गर्ने,सफाइको मौका दिने जस्ता न्यायीक प्रक्रिया पुरा गरी प्रतिवेदन दिनेछ र, समितिले महाअभियोग लगाउन उपयुक्त छ भन्ने राय सुझाव दियो भने संसदमा निर्णयार्थ पेश हुनेछ र दुर्इ तिहाइले पास भएमा कार्की स्वतः पदमुक्त हुनेछन् ।