भोलिदेखि लकडाउनमा कडाइ, एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

अनलाइन दर्पण 2020-05-12
img

काठमाडौं, ३० वैशाख  । नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि पास रद्द गरेको छ । जेठ १ गतेबाट सबै प्रकारका पास रद्द गरिएको गृह मन्त्रालयले जानकारी दिएको हो । तराईका जिल्लामा  कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रशासनले लकडाउनलाई थप कडाइ गर्ने भएको हो  ।

आवातजावतका कारण कोरोना संक्रमित बढ्ने भएकाले गृह मन्त्रालयले अत्यावश्यकबाहेका अन्य सवारी साधनका लागि दिँदै आएको पास रद्द गरिएको गृह मन्त्रालयल स्रोतले बतायो । यसअघि सात दिने पास लकडाउन भरी लागू हुने जानकारी दिएको थियो ।

मन्त्रालयका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

नेपालमा मंगलबार मात्रै ७४ जनामा कोरोना संक्रण देखिएपछि सरकारले उच्च सतर्कता अपनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार दिउँसो ५७ जनामा कोरोना संक्रमण पुष्टि गरेको थियो भने बुलुका थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले बतायो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार  मंगलबार एकै दिन पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा एक गरी ५७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १९१ पुगेको छ। जसमध्ये १५८ पुरुष र ३३ महिला छन्। ३३ जना निको भएका छन्। जसमध्ये तीन जनाको पुनः पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना गरिएको छ ।

संक्रमित सबैको आइसोलेसनमा उपचार भइराखेको छ। सबैको स्वास्थ्य अवस्था सामान्य भएको प्रवक्ता देवकोटाले जानकारी दिए। अहिलेसम्म सम्भावित संक्रमित मानिएका २२८ जना आइसोलेसनमा छन् । १२ हजार सात सय ८५ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ । 

मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ३६ जनामा कोरोना परीक्षण गर्दा ५७ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।  

गृहले गरेका निर्णय बुँदामा
-एक जिल्लाबाट अर्कोजिल्लामा जाने गरि हालसम्म जारी भएका ईपाससहित सबै सवारी पास रद्ध,
-अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्विकृतिमा मात्रै जारी गर्नुपर्ने,
-अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने,
-पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने, 
-पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइ समेत खुलाउनुपर्ने, 
-पासबिना एक जिल्लाबाट अर्को जिल्लामा सवारी आवागमन भएको पाइए तत्काल सुरु जिल्लाले नै अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउने, 
- सबै निर्णय जेठ १ गतेदेखि लागू हुने । 

सम्बन्धित समाचार