दाङमा ६० किलो चरेससहित पाँच जना पक्राउ, १० किलोले तान्यो ५० किलो (अपडेट)

अनलाइन दर्पण 2018-08-20
img

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत घुमुवा प्रहरीलाई साउन २३ गते जिल्लामा ठूलो मात्राको चरेस भित्रीएको भन्ने सूचना प्राप्त भयो । त्यही सूचनालाई आधार बनाएर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु ग¥यो । करिब साता दिनको दौडधुप, खोजतलास र अनुसन्धानपछि भदौ १ गतेका दिन १० किलोग्राम चरेससहित प्रहरीले दुई जनालाई घोराहीबाट पक्राउ ग¥यो ।

प्रहरीले यत्तिकैमा अनुसन्धानलाई बिट मारेन । प्रहरीलाई प्राप्त भएको सूचना र पक्राउ परेको परिमाण मिले जस्तो लागेन र प्रहरीले थप अनुसन्धान शुरु ग¥यो । शुरुमा पक्राउ परेका प्रेमबहादुर घर्ती र डिल्लीराज चन्दसँग प्रहरीले अनुसन्धान गरिरह्यो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्ती मगरले पहिले पक्राउ परेका घर्ती र चन्दले थप रहस्य खोलेपछि दाङमा पहिलो पटक ६० किलो चरेस बरामद गर्न सफल भएको बताए । 

घर्ती र चन्दले खरिद गरेको चरेस प्रहरीले बरामद गरेपछि प्रहरीले थप रुपा घर्ती, सपना बुढा र ध्रुबराज बुढालाई घोराहीबाट पक्राउ गरेको थियो र तीन जनाबाट थप ५० किलो चरेश बरामद गरेको थियो । शुक्रबार पक्राउ परेका घर्ती र चन्दले रुपा घर्ती, सपना बुढा र ध्रुबराज बुढाबाट केही दिनअगाडि चरेस खरिद गरेको खुलेपछि प्रहरीले तीन जनालाई शनिबार पक्राउ गरेको थियो ।

पक्राउ परेका पाँचै जनाले घोराहीमा कोठाभाडामा लिएर बस्दै आएको डिएसपी एवं प्रवक्ता घर्तीमगरले बताए । प्रहरीले मुसीकोट नगरपालिका—११ का घर्ती, दार्मा गाउँपालिका—५ का चन्द, पुथाउत्तरगंगा—१ का रुपा घर्ती, भुमे गाउँपालिका—२ पुर्बी रुकुमका सपना बुढा र ध्रुबराज बुढालाई पक्राउ गरेको हो ।

उनीहरुले लुकाएर राखेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको हो । उनीहरुले लमही नगरपालिका—९ अमिलियाको जंगलमा चरेश लुकाएर राखेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी एंव प्रबक्ता घर्ती मगरका अनुसार पछिल्लो समयमा नागरिकले प्रहरीलाई दिएको साथ र समन्वयले प्रहरीले सफलता प्राप्त गरेको बताएका छन् ।

‘पहिले पनि यस्ता क्रियाकलाप हाम्रो समाज नभएका होइनन्, अहिले नागरिकले प्रहरीलाई सहयोग र साथ दिन शुरु गरेपछि प्रहरीले यस्ता सफलता प्राप्त गर्दै गएको छ’— प्रवक्ता घर्तीमगरले भने । 

सपना र ध्रुबराज श्रीमान–श्रीमती

प्रहरीले पक्राउ गरेका सपना बुढा र ध्रुबराज बुढा श्रीमान–श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कष्णहरी शर्माले जानकारी दिए । श्रीमान–श्रीमती समेत लागुऔषध कारोबारमा संलग्न रहेको एसपी शर्माले बताए । उनीहरुले घोराहीमा कोठाभाडामा लिएर कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोबारीलाई कारबाही के हुन्छ ?

लागुऔषध ओसारपसारमा संलग्न भएकाहरुलाई लागुऔषध ऐन २०३३ ले गरेको व्यवस्था अनुसार कारबाही गर्दै आएको प्रहरीले जनाएको छ । १० किलोग्राम भन्दा बढी परिणाम भएमा दुई बर्षदेखि १० बर्ष कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । 

‘दुवै सजाय पनि हुन सक्छ । प्रहरीले लागुऔषध न्यूनीकरणका लागि लागुऔषध न्युनीकरण ब्यूरो समेत गठन गरेको छ । लागुऔषधका कारण पनि अपराध हुने भन्दै प्रहरीले केन्द्रमा ब्यूरो स्थापना गरेर देशभर काम गरिरहेको छ’ प्रवक्ता घर्तीले भने ।

दाङमा कसरी कहाँबाट भित्रिन्छ लागुऔषध

पछिल्लो समयमा दाङमा रोल्पा, रुकुम, जाजरकोट र बाग्लुङ जिल्लाबाट समेत लागुऔषधको ओसारपसार भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जिल्लामा चरेसलगायत विभिन्न प्रकारका लागुऔषधको कारोबार हुने भए पनि जिल्लामा उत्पादन हुँदैन तर, जिल्ला बाहिरबाट यसको ओसारपसार जिल्लामा हुने गरेको प्रहरीको अनुमान छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय दाङले कार्यालयमा पत्रकार सम्मेलन गरेर चरेस ओसारपसारमा संलग्न पाँच जना र उनीहरुबाट बरामद गरिएको चरेस सार्वजनिक गरिएको थियो । 

दाङका प्रहरी प्रमुख कृष्णहरी शर्माले लामो अनुसन्धानपछि ठूलो परिमाणमा चरेस बरामद गरिएको जानकारी दिए । उनले नागरिकको सहयोगले नै प्रहरीले ठूलो सफलता पाएको बताए । 

सम्बन्धित समाचार

Advertisement