विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले जिल्लाका विभिन्न जिल्लाहरुमा कालोब्यानर टाँसेको छ । संगठनले शैक्षिक माफियाहरु विरुद्ध कालोझण्डा टाँसेको बताएको छ ।
पाल्पामा प्रदेश सांसद डा. पुरन बज्राचार्यलाई सामाजिक बहिष्कार गरौं भन्दै अखिल क्रान्तिकारी पाल्पाले सिटीइभिटीले तोकेको भन्दा बढी शुल्क असुली गरेको, विद्यार्थीलाई अनावश्यक मानसिक यातना दिई निस्कासन गरेको, ब्रिटिश क्याम्पमा पैसा लिन आउनेलाई उपचारको नाममा ठगी धन्दा चलाएको, गरिब विद्यार्थीहरुलाई चर्को शुल्क असुलेको, कालो धन प्रयोग गरी जनताको विपक्षमा दलाल सरकारको मतियार बनेको भन्दै चेतावनी दिएको छ । पाल्पामा प्याब्सनका अध्यक्ष भरत न्यौपानेको स्कूल बृन्दाबन बोर्डिङमा पनि कालो ब्यानर टाँसेको छ ।
अखिल (क्रान्तिकारी) रुपन्देहीले जिल्लाको सैनामैना नगरपालिकामा नीजि शैक्षिक क्षेत्रको उक्साहटमा सरकारी विद्यालय मर्ज गरेको, नगरपालिकाले शिक्षामा बजेट कटौटी गरी धरायसी बनाएको, न्यू एकेडेमीमा मापदण्द विपरित शुल्क उठाएको, छात्रवृत्ति अनियमितता गरेको, शैक्षिक माफिया गिरोह प्रमुख नाइके जनप्रतिनिधि आफै भएको र शैक्षिक माफिया चित्रवहादुर केसीलाई सामाजिक बहिष्कार गरौं भन्दै चेतावनी स्वरुप काँलो ब्यानर टाँसेको बताएको छ ।
त्यसैगरी गुल्मीमा अखिल क्रान्तिकारी गुल्मीले अर्जुन आवासीय माविका संचालक दानवहादुर केसीलाई सामाजिक बहिष्कार गरौं भन्दै कालो ब्यानर टाँसेको छ । क्रान्तिकारीले नीजि बिद्यालयको नाममा अभिभावकबाट चर्को रकम असुली गरेको, संगठनले उठाएको मागप्रति वेवास्ता गरेको, संगठन संग भएका पूर्व सहमति कार्यान्वयन नगरेको भन्दै चेतावनी स्वरुप कालो ब्यानर टाँगेको बताएको छ । केसी मदाने गाउँपालिकाका अध्यक्ष समेत हुन् ।
अखिल क्रान्तिकारीले शैक्षिक माफिया विरुद्ध शसक्त संघर्ष गर्ने पहिलो चरणको कार्यक्रम अन्तर्गत सांकेतिक रुपमा कालो ब्यानर टाँसिएको लुम्बिनी क्षेत्रीय समन्बय समितिका संयोजक सुनिल बञ्जाडेले बताए ।