नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहलाई पार्टी प्रवेश गराउने प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार राति अबेरसम्म बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
‘नेकपा संसदीय दलमा रहेको हृदयेश त्रिपाठीको समूहसँग एकीकरण गर्नेबारे छलफल अघि बढाउने निर्णय भएको छ,’ नेकपा केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले नयाँ पत्रिकासँग भने, ‘छलफल चलिरहेको छ, तर कसरी, कहिलेसम्म भन्ने टुंगो लागिसकेको छैन ।’-आजको नयाँ पत्रिकामा खबर छ ।
स्वतन्त्र राजनीतिक समूहका नाममा तत्कालीन एमालेको सूर्य चिह्नबाट चुनाव लडेका त्रिपाठी र ब्रजेशकुमार गुप्ता संघीय संसद्मा निर्वाचित सांसद हुन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएपछि दुवैजना अहिले कानुनतः नेकपा सांसद छन् ।