भक्तपुर, साउन १०। व्यवसायी रोमन शिलाकारले नेपाली कांग्रेसबाट निर्वाचित सांंसद अभिषेक प्रताप शाहको निर्देशनमा केही व्यक्तिहरु आफुलाई फसाउन सक्रिय भएको आरोप लगाएका छन् ।
कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का कांग्रेसबाट निर्वाचित सांसद शाहले चन्दा नदिएपछि आफुलाई फसाउन खोजको व्यवसायी शिलाकारले बताए ।
भक्तपुरमा विहिबार पत्रकार सम्मेलन गर्दै शिलाकारले भने २०७४ साल माघमा सांसद शाहले मसंग २० लाख रुपैँया चन्दा सहयोग माग्नु भएको थियो, मैले उक्त रकम दिन सक्दिन भने । त्यसपछि पून साउन १ गते उहाँले आफैं फोन गरेर फेरी ५ लाख चन्दा सहयोग माग्नु भयो । मैले उहाँले मागेको रकम चन्दा नदिएपछि उहाँको निर्देशनमा मलाई नियोजित रुपमा फसाँउन लाग्नु भएको छ ।
साउन ६ गते आइतबार राती कपिलवस्तु जिल्लामा रहेको उनको प्लाईउड उद्योगमा जबरजस्ती सांसद शाह निकट व्यक्तिभित्र पसेको उनको आरोप रहेको छ ।
भारतीय नम्बर प्लेटको यूपी ३२ एचए ००२३ (UP32HA0023)नम्बरको गाडीमा अाएका व्यक्तिहरुले लु १ त ३५५३ नम्बरको ट्राक्टरमा युरिया मल ल्याएर उद्योगमा झारेको र फोटो खिचेर मल तस्कर गरेको भन्दै हल्ला गरेको उनको भनाई छ ।
सांसद शाहको चन्दा आंतकबाट विगतदेखिनै त्यसक्षेत्रका व्यवसायीहरु पीडित हुदैं आएको समेत शिलाकारले आरोप लगाए ।
उनले भने ‘केही संचार माध्यमा कपिलवस्तुका प्रहरी उपरिक्षक मनोज यादवको समेत मिलोमतो भनेर प्रहरी र आफुलाइ बदनाम गराउने प्रयास भएको छ ।’
प्रहरीले आफ्नो उद्योगभित्र जवरजस्ती प्रवेश गर्ने सुदाम यादव, शशिकान्त खेर, राकेशमणी त्रिपाठी र महेश पासवानलाई पक्राउ गरेको समेत उनले जानकारी दिए ।