भीषण वर्षाका कारण भक्तपुर र बनेपा डुबानमा,तीन जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

अनलाइन दर्पण 2018-07-12
img

भक्तपुर, २८ असार ।  गए राति परेको भीषण वर्षाका कारण भक्तपुर र काभ्रेको बनेपा  पूर्णरुपमा प्रभावित भएको छ ।

मध्यरातदेखि हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने बनेपाकाे पुन्यमति खोलाको बाढी बनेपा बजारमा छिर्दा करिब दुई दर्जन घर डुबानमा परेका छन् ।

बाढीका कारण मध्यपुरथिमिकाे राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् । 

प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ । 

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको छ । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् ।

चाँंगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरी एक टहरामा बसिरहेका तीन जनाको मृत्यु भएको छ । मृृतकको पहिचान खुल्न सकेको छैन । अझै कर्याै ब्यक्तिहरु फसेका छन् । डुवानमा फसेका ब्यक्तिहरुलाई ढुंगा र क्रेनबाट उद्धार गरिदै छ ।

उता  बनेपा– ८ का जीवन नकर्मीको घरमा खोलाको बाढी पस्दा उनको घर बनाउन बसेका मजदुरहरु अलपत्र परेका थिए । उनीहरुलाई बिहीबार बिहान नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

अरनिको राजमार्ग अन्तर्गत पुल बजार क्षेत्रमा राजमार्ग बन्द छ । बाढीका कारण पूर्व–पश्चिम चल्ने गाडीहरु बीचमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । अरनिको राजमार्गको पलासे खण्डमा पनि पहिरो खसेको छ ।

त्यस्तै बीपी राजमार्ग अन्तर्गत काभ्रे भन्ज्याङमा पहिरो आएर  काभ्रे जिल्लाको सडक सन्जाल ठप्प भएको छ ।

सम्बन्धित समाचार

Advertisement