मंगलसेन- ९, ओलीगाउँकी ३९ वर्षीया मथुरा परियार ३ छोरी र १ छोरासँग बसोबास गर्छिन् । भारतमा मजदुरी गर्ने उनका श्रीमान एक वर्षअघि हृदयघातले बिते । मथुरा छाउ परम्पराबाट मुक्त हुन समाजसँग संघर्ष गरिरहेकी आमा हुन्, जसले आफूले पनि छाउ बार्दिनन् र छोरीहरूलाई पनि महिनावारी हुँदा गोठमा पठाउँदिनन् । तर समाजले अहिले पनि उनलाई मनोवैज्ञानिक रुपमा त्रसित बनाइरहेको छ ।
जन्मेको भोलिपल्टै दोस्रो सन्तान बित्नु र हृदयाघातबाट श्रीमान् बित्नुलाई पनि समाजले छाउ नबारेकै दोष देखाउँछ । बेलाबेला उनी डराइरहन्छिन् पनि । भन्छिन्, ‘धामीले छाउ नबारे देउता रिसाउँछन् भन्छन्, महिनावारी पाप हो भन्छन् । हाम्रो समाजले बाख्राको पाठो जन्मे काखीमा च्यापेर घर लैजान्छ, मान्छेको बच्चा जन्मे १२ दिनसम्म छुँदैन ।
बाख्रालाई चाहिँ छुई नलाग्ने, मान्छेलाई लाग्ने ? यो बेला कहाँ जान्छन् देउदेउता ? देउता रिसाए पनि म त छाउ मान्दिनँ । मलाई यो मान्छेले बनाएको मनमौजी हो भन्ने लाग्छ ।’-अन्नपुर्णपाेष्टबाट