कांग्रेसलाई लक्षित् गर्दे प्रधानमन्त्री ओलीले भने–‘भतिजाले फू गर्दैमा ढल्ने लूलो सरकार होइन’

अनलाइन दर्पण 2018-05-06
img

काठमाडौ,२३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसप्रति लक्षित गर्दे यो सरकार लुलो नभएको जवाफ दिएका छन् ।

केहीदिन पहिले कांग्रेस नेता शेखर कोइरालाले यो सरकार लुलो रहेको र कांग्रेसले फू गरेर ढाल्ने चेतावनी दिएका थिए । आइतबार अपरान्ह संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले भने‘उहिले एकजना अंकलले कुनै सन्दर्भमा यो सरकारलाई फू गरेर ढाल्छु भनेका थिए । उनका भतिजाले त्यही शब्द प्रयोग गरेर यो सरकार ढाल्छु भनेछन् ’। उनले यो लुलो सरकार होइन भन्ने हेक्का राख्न समेत आग्रह गरे ।

तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले मनमोहन अधिकारी नेतृत्वको एमाले नेतृत्वको सरकारलाई फू गरेर ढाल्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री ओलीले यातायात क्षेत्रको सिण्डिकेट अन्त्य शुरुआतमात्र भएको भन्दै यो सरकारले सबै खालका सिण्डिकेट अन्त गर्ने दृढता व्यक्त गरे ।

ओलीले भने ‘यो सरकार जनताको पूर्ण समर्थन प्राप्त भएको बलियो सरकार हो । कसैले सोचेको थिएन सिण्डिकेट तोडिन्छ भनेर । तर यो सरकारले सिण्डिकेट तोडेर छाड्यो । अरु क्षेत्रमा पनि सिण्डिकेट छ, त्यो पनि तोडिन्छ ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा नेता बलियो हुँदा कोही डराउन नपर्ने भन्दै जनताको समर्थनमा मात्र नेता बलियो हुने बताए । कतिपयले आफू बलियो प्रधानमन्त्री भएकोमा रिस गरेको भन्दै ओलीले लोकतन्त्रमा व्यक्ति होइन प्रणाली बलियो बनाउने आफ्नो मिसन सुनाए ।

यस्तै प्रधानमन्त्री ओलीले आफू प्रतिपक्षप्रति अशहिष्णु नबन्ने समेत प्रष्ट पारे । अब ५ वर्षसम्म अर्को चुनाव पनि नहुने र स्थिर सरकार भएकाले विपक्षलाई प्रहार गर्ने वा असहिष्णु बन्नुपर्ने आवश्यकता नरहेको उनले बताए । उनले विपक्षलाई पनि विरोधका नाममा बिरोध नगर्न सुझाव दिए ।

ओलीले भने ‘कसैले भ्रम नपाले हुन्छ हामी विपक्षीसँग असहिष्णु होइन असाध्यै नरम हुन्छौं । अब चुनाव आइहालेको पनि छैन । बरु विपक्षीले पनि राम्रा कामको समर्थन र सहयोग गरोस् ।

राम्रा कामको पनि विरोध गर्दा घाँटीको समस्या मात्र हुन्छ ।’

सम्बन्धित समाचार