रामचन्द्रको देउवामाथि हमलाः चारपटक प्रधानमन्त्री हुनुभयो भनेर तपाईंको पूजा गर्न सकिँदैन

अनलाइन दर्पण 2018-04-27
img

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको पूजा गर्न नसकिने बताएका छन् । यसअघिको केन्द्रीय समिति बैठकमा बाँडेको पर्चाका कारण आफूमाथि आरोप लागेपछि पौडेलले त्यसको बचाउ गर्दै नेतृत्वको आलोचना गरेका हुन् ।

आजको नयाँपत्रिका दैनिकमा खबर छ– ‘महादेव भोगी भएनन् त्यागी भए र पूजा हुन्छ,’ शुक्रबार बैठकमा डेढ घन्टा बोलेका पौडेलले भने, ‘तपाईं (शेरबहादुरजी) चारपटक प्रधानमन्त्री हुनुभयो । तर, त्यागमा लाग्नुभएन भोगी हुनुभयो । त्यसैले चारपटक प्रधानमन्त्री हुनुभयो भनेर तपाईंको पूजा गर्न सकिँदैन ।’ त्यागभन्दा भोगको राजनीतिमा लागेकाले आफूले गिनिज बुकमा नाम लेखाउन भनेको दलिल पेस गर्दै उनले आफूले पहिले लगाएको आरोपको बचाउ गरे ।

जिम्मेवार नेताले मर्यादा भुल्दै अराजनीतिक गाली गरेर पार्टीलाई नै बदनाम गरेको भन्दै नेता विमलेन्द्र निधि, डा। प्रकाशशरण महतसहितका नेताले दुई दिनअघिको बैठकमा पौडेलको प्रस्तावको आलोचना गरेका थिए । तर, शुक्रबार जवाफ दिने क्रममा पौडेलले चारपटक प्रधानमन्त्री भए पनि देउवाको पूजा हुँदैन, तर एकपटक पनि प्रधानमन्त्री नभएका गणेशमान सिंहलाई सबैले पुज्ने गरेको बताएका थिए ।

पौडेलले समीक्षा बैठक सुरु हुनुपूर्वकै बैठकमा सभापतिमाथि गुटको मात्र नेता बनेको, विधान मिचेको, नैतिक शब्दकै अर्थान्तर गरेको, शेरबहादुर जिन्दावाद भन्न सिकाएको, तर कांग्रेस जिन्दावाद भन्न नसिकाएको, सभापतिको कमजोर अवस्थाले देशभर कांग्र्रेसलाई खुट्टा राख्ने ठाउँसमेत नभएको जस्ता आरोपले भरिएको पर्चा बाँडेका थिए ।

सम्बन्धित समाचार