ट्याक्सीको पनि सिण्डिकेट तोड्छौंः यातायात मन्त्री

अनलाइन दर्पण 2018-04-23
img

काठमाडौं, १० बैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोडिने बताएका छन् ।

सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री महासेठले भने, ‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होईन नि, हामीले त कार्यान्वयन गराएका हौं ।’ सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको बताउँदै उनले भने, ‘अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्र्तगर्त व्यवस्थित गर्छौं ।’

पर्यटक र आम सर्वसाधारण जनताले निर्धक्क भएर सुविधाजनक यात्रा गर्न पाउनुपर्ने बताउँदै उनले सरकार सोही अनुसार अघि बढिरहेको स्पष्ट पारे । ‘विकृति र विसङ्गतिका विरुद्ध हाम्रो प्रयास हो, हामी सफल भएर छाड्छौं,’ उनले भने, ‘अन्तिममा आएर बस व्यवसायीहरुले पनि आन्दोलन फिर्ता गरेर हामीलाई सहयोग गर्नुहुन्छ ।’

उनले तीन महिनाभित्रै कम्पनी ऐन अन्तर्गत व्यवसायीहरु नआए आफूहरुले बाध्य भएर वैकल्पिक व्यवस्था अपनाउने चेतावनी दिए । महासेठले भने, ‘सरकार आफैँ बस सञ्चालन गरेर व्यवसाय गर्ने पक्षमा छैन, यदि उहाँहरुले आम हड्ताल फिर्ता लिनुहुन्न भने हामी बाध्य भएर वैकल्पिक व्यवस्थाबारे सोच्छौं ।’

उनले सिण्डिकेटका विरुद्धमा सरकारलाई साथ दिईरहेका बस व्यवसायीलाई सरकारले पूर्ण रुपमा सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘सरकारले पूर्ण रुपमा सुरक्षा दिन्छ, यसमा कुनै दुईमत छैन, सरकार चुपचाप बस्दैन, तोडफोड गर्नेहरुलाई कडा कारबाही गर्छौं ।’

मन्त्री महासेठले फरक प्रसँगमा  सन् २०१८ भित्रै नेपालमा रेल चल्ने कुरा दोहोर्‍याएका छन् । उनले भने, ‘हामी २०१८ भित्रै नेपालमा रेल चलाउँछौं, त्यस्तै केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलपनि चलाउँछौं, होला बरु ५ वर्ष भनेकोमा ६ वर्ष लाग्ला, तर ७ वर्ष कुर्नुपर्दैन ।’

सम्बन्धित समाचार

Advertisement