काठमाडौं, २१ पुस। राष्ट्रिय सभा सदस्य निर्वाचनमा देशभरबाट कुल २०५६ जनाले मतदान गर्नेछन् । जसमध्ये सबैभन्दा बढी मतदाता प्रदेश नम्बर २ बाट छन् भने सबैभन्दा कम मतदाता प्रदेश नम्बर ६ बाट छन् । उक्त दुईवटा प्रदेशको मतदाता संख्या दोब्बर बढीले फरक छ । तर, दुवै प्रदेशबाट राष्ट्रियसभा सदस्य भने समान संख्यामा चुनिने छन् ।
मधेसवादी दलले प्रदेशको जनसंख्याको अनुपातमा राष्ट्रियसभा सदस्य चुनिनुपर्ने माग राख्दै आए पनि उक्त माग अनुसारको संविधान संशोधन हुन नसकेपछि सबै प्रदेशबाट समान संख्यामा सदस्य निर्वाचित हुने भएका छन् ।
| प्रदेश नम्बर | मतदाता |
| १ | ३६७ |
| २ | ३७९ |
| ३ | ३४८ |
| ४ | २३० |
| ५ | ३०५ |
| ६ | १९८ |
| ७ | २२९ |
प्रदेश नम्बर १: ३६७
प्रदेश नम्बर २: ३७९
प्रदेश नम्बर ३: ३४८
प्रदेश नम्बर ४: २३०
प्रदेश नम्बर ५: ३०५
प्रदेश नम्बर ६: १९८
प्रदेश नम्बर ७: २२९
राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीनजना सहित ८ जना चुनिने संवैधानिक प्रावधान छ ।
त्यसबाहेक सरकारको सिफारिसमा राष्ट्रपतिबाट एकजना महिलासहित तीन जना राष्ट्रियसभामा मनोनित हुनेछन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख १५०६ जना सहित प्रदेश सभाबाट ५५० जनाले मत हाल्न पाउनेछन् । संबिधानमा ब्यबस्था भए अनुसार प्रदेशमा जति मतदाता भएपनि हरेक प्रदेशमा ८/८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने प्रावधान छ । निर्वाचन आयोगले प्रदेश सभाको मतदाताको नामावली भने तयार पारिसकेको छैन किनकी आयोगले अहिलेसम्म प्रदेशसभाको मतपरिणाम घोषणा गरेको छैन ।