काठमाडौँ,२१ पुस । जनमतको कदर गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न निर्वाचन आयोगलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव दिएकी छन् । आयोगले राष्ट्रिय सभाको निर्वाचन नभई मत परिणाम सार्वजनिक गर्न नमिल्ने अडान राखेपछी राष्ट्रपति भण्डारीले यस्ताे सुझाव दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले बिहीबार शीतलनिवासमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयुक्तहरूलाई भेट्दै निर्वाचन परिणाम आफूसमक्ष बुझाउन समेत आग्रह गर्नु भयाे । निर्वाचन आयोग र सरकारले राष्ट्रिय सभाको निर्वाचन नभई राष्ट्रपतिलाई परिणाम बुझाउन नमिल्ने तर्क गरिरहेका बेला राष्ट्रपतिबाट यस्तो सुझाव आएको हो ।
‘सम्माननीय राष्ट्रपतिले जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न निर्वाचनको मत परिणाम संविधान र प्रचलित कानुनको मर्म र भावनाअनुसार समयमै सम्बन्धित निकायमा पेस गर्नु उपयुक्त हुने सुझाव दिनुभयो,’ भेटपछि आयोगले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ ।
प्रदेशसभा र प्रतिनिधिसभाको अन्तिम मत परिणाम सार्वजनिक गर्न भइरहेको ढिलाइ, प्रदेश प्रमुखको नियुक्तिमा देखिएको अन्योलमा समेत छलफल गर्न राष्ट्रपतिले निर्वाचन आयुक्तहरूलाई शीतलनिवासमा बोलाएकी हुन् ।