निर्वाचनका कारण बाघकाे गणना रोकियो

अनलाइन दर्पण 2017-11-05
img

काठमाडौँ, १९ कात्तिक ।  नेपाल र भारतमा एकै समयमा पाटे बाघकाे सङ्ख्या गणना गर्ने भनिए पनि नेपालमा भने चुनावका कारण गणना नहुने भएको छ ।  नोभेम्बर महिनाको सुरुबाट दुवै देशका संरक्षित क्षेत्रमा एकैसाथ गणना गर्ने भनिए पनि तराई क्षेत्रमा दोस्रो चरणको चुनाव आगामी मङ्सिर २१ गते हुने भएकाले नेपालतर्फको बाघ गणना कार्य निर्वाचनपछि हुने भएको छ । 

 राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रका कर्मचारी चुनावका बेला खटिनुपर्ने भएकाले नोभेम्बर महिनामा बाघ गणना कार्य सुरु नगरिएको हो ।  बाघ गणनामा गर्न दक्ष प्राविधिक सरकारी कर्मचारी र तालिम प्राप्त व्यक्ति परिचालन गरिन्छ ।   

एउटै बाघ नेपाल र भारतका वनजङ्गलमा विचरण गर्ने भएकाले एकैसाथ गणना गर्ने दुई देशका अधिकारीबीच सहमति भएको थियो ।

सन् २०१३ को बाघको गणनामा चितवनमा १२०, बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा सात र बाँकेमा चार गरी कुल १९८ पाटे बाघ रेकर्ड गरिएका थिए ।  
सन् २०१० मा मस्कोको बाघ सम्मेलनको घोषणापत्रमार्फत बाघ पाइने देशले आगामी सन् २०२० मा आफ्नो राष्ट्रमा भएका बाघलाई दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।  सो प्रतिबद्धताअनुसार आगामी सन् २०२० मा नेपालले बाघको सङ्ख्या २५० बनाउने सक्ने निश्चित देखिएको छ ।  सन् २०१० मा नेपालका बाघको सङ्ख्या १२१ रहेको थियो ।  

नेपालमा शुक्लाफाँटा, बर्दिया, बाँके, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छन् ।

सम्बन्धित समाचार

Advertisement