सिरहा, १२,कात्तिक । सिरहाको कर्जन्हा-२ मा भाइको हत्याको अरोपमा पक्राउ परेकी १६ वर्षीया किशोरी पि्रयंका यादवले प्रहरी चौकीमै आत्महत्या गरेकी छन् ।
आफ्नो यौन सम्बन्ध लुकाउन ठूलोबुबाका छोरा भवेश यादवको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयामा को टोलीले उनलाई पक्राउ गरी आज मध्याहृन सार्वजनिक गरेको थियो । तर, त्यहाँ थुनुवा राख्ने ठाउँ नभएपछि इलाका प्रहरी कार्यालय बिष्णुपुर लगिएको थियो ।
साँझ ५ बजेतिर प्रहरीको अनुमतिमा चौकीकै बाथरुममा नुहाउन छिरेकी उनले सलको पासो लगाएर आत्महत्या गरेको बिष्णुपुर प्रहरी चौकीले पुष्टि गरेको छ ।
महिला थुनुवा कक्ष भित्रै बाथरुम रहेको र गर्मी भएको भन्दै नुहाउन भनेर छिरेकी यादव केहिबेर पछि नै चलेको नसुनिएपछि बाथरुमको माथिबाट हेर्दा मृत्यु भइसकेको पाइएको सिरहाका एसपी शेकर कोइरालाले जानकारी दिए ।
उनले भने, ‘हाम्रोको निगरानी हुँदा हुँदै पनि उनको ज्यान जोगाउन सकिएन ।’ मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा ल्याइने प्रहरीले जनाएको छ ।
युवतीले आफ्नो यौन सम्बन्ध लुकाउन आफ्नै भाइ (ठूलोबुबाको छोरा)को हत्या गरेको प्रहरीको भनाई रहेको छ । कुसुमलाल यादवका १३ वर्षीय छोरा भवेशको कात्तिक पहिलो साता हत्या भएको थियो । ३ गते हराएका उनको शव घर नजिकै वनमाराको घारीमा कुहिएको अवस्थामा दुई दिनपछि भेटिएको थियो ।
गाउँ नजिकैको जंगलमा भैसी चराउन जाँदा प्रियंका र गाउँकै सञ्जय शाहलाई आपत्तिजनक अवस्थामा देखेका भवेशलाई यौन सम्बन्ध खुल्ने डरले प्रियंका र सञ्जयको योजनामा हत्या गरिएको प्रहरीले जनाएको छ ।