मध्यपुर, २१ भदौ । मध्यपुर थिमी नगरपालिकामा एघार वर्षपछि यस वर्ष पुनः जिब्रो छेड्ने जात्रा सञ्चालनमा आएकाे छ ।
इन्द्रजात्राको भोलिल्ट मध्यपुर थिमिमा जिब्रो छेडेर मनाइने येया पुन्हिया मेय् प्वाः खनेगु जात्रा एघार वर्षपछि यस वर्ष मध्यपुर थिमी नगरपालिका ४ का २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले बुधबार जिब्रो छेडाए संगै सञ्चालनमा आएको हो ।
२०६३ सालदेखि आर्थिक अभाब तथा विभिन्न कारणले लोपोन्मुख अवस्थामा पुगेपछि रोकिएको जात्रा यस वर्ष स्थानीय युवाले यसलाई जोगाउन जात्रा सञ्चालनमा ल्याएका हुन् । उनीहरुलाई स्थानीयले पनि यस वर्ष राम्रै साथ दिएका छन्। जात्रालाई व्यवस्थित एवं मर्यादित ढंगबाट सञ्चालन गर्न येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरेर मध्यपुरथिमि नगरवासी तथा विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा जात्रा सञ्चालन भएको हो ।
स्थानीय दिगु भैरव मन्दिर सामुन्ने रहेको दबुमा हजारौं भक्तजनको सामुन्ने कर्मी नाइके बाबुराजा श्रेष्ठले वीरेन्द्रको जिब्रो छेडेका हुन्।याँ मतासहित आएका कर्मी नाइके श्रेष्ठले सातादिनअघि नै तयार गरेको करिब एक फिट लामो सुइरोले वीरेन्द्र जिब्रो छेड्दा दबुमा उपस्थित नायो पमा श्यामकाजी श्रेष्ठ, कान्छा नाइके मुकुन्दलाल श्रेष्ठलगायत जात्रालुहरुले दिगुभैरव र वीरेन्द्रको जयजयकार गरेका थिए।
जिब्रो छेडाइसकेपछि वीरेन्द्रले महाद्वीप बोकेर मध्यपुर थिमी नगर क्षेत्र परिक्रमा गरेका छन्। उनलाई बाटोमा कुनै बाधा व्यवधान नहोस् भनेर स्थानीय युवाहरु सुकेको निगालो फुटाएर बनाएको लठ्ठी बजाएर अघि अघि लागेका थिए।
मध्यपुर थिमी नगर परिक्रमापछि बालकुमारी मन्दिर पुगेका वीरेन्द्रको जिब्रो छेडिएको सुइरो झिकिएको थियो । सुइरो झिकिएपछि घाउ भएको जिब्रोमा बालकुमारी मन्दिरभित्रको माटोसँगै चिनी एकमात्रै खुवाइएको नायो पमा श्यामकाजी श्रेष्ठले जानकारी दिए।
‘सुइरोले घाउ भएको जिब्रोको औषधि नै बालकुमारी मन्दिरभित्रको माटो र एकमात्रा चिनी हो', उनले भने,'यसो गर्दा जिब्रोबाट रगत पनि आउन पाउँदैन र घाउ पनि चाँडै पुरिन्छ।'
राजदरबारको प्रतीक जुजुया चिँ (राजदण्ड) बोक्ने नायो पमा श्रेष्ठका अनुसार उक्त जात्रामा एकजनाले मात्रै जिब्रो छेड्ने भन्ने छैन। उक्त जात्राअन्तर्गत एकैपटक १७ जनासम्मले जिब्रो छेडाएको बालकुमारी मन्दिरमा ठोकिएको सुइरो गन्दा पनि यो पुष्टि हुन्छ।'
उनका अनुसार जिब्रो छेडिएको सुइरो बालकुमारी मन्दिरमा ठोकिन्छ। जसअनुसार एकै ठाउँमा १७ वटा र अर्को ठाउँमा पाँचवटा सुइरो एकै ठाउँमा ठोकिएको छ।