काठमाण्डौ, २२ साउन । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल विजयी भएसँगै एमालेको प्रतिक्रिया आएको छ ।
एमाले प्रभावशाली नेता तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिकामा रेणुु दाहालले जितेर पनि भर्व गर्ने ठाउँ नरहेको प्रतिक्रिया दिएका छन् ।
‘यो जितेको होइन, सम्पत्ति लुटिएजस्तै जनताको मत लुटिएको हो’, पाण्डेले लोकान्तरसँग भने, प्राविधिक रुपमा भएको जितले जित्ने मान्छेलाई पनि आफूले जिते भनेर भर्व गर्ने ठाउँ छैन । ’
उनले जनताले एमालेलाई मत दिएको भएपनि मतपत्र च्यात्नेजस्तो घृणित कार्य गरेर प्राविधिक ढंगले अर्कैलाई विजयी गराउने काम भएको समेत प्रतिक्रिया दिए ।
भरतपुरमा जनताको अभिमतमाथि प्रहार भएको टिप्पणी गर्दै पाण्डेले भने, ‘जित्ने मान्छेलाई पनि जिते भन्ने नभई सधैंभरि जिताए भन्ने मनभित्र परिरहनेछ ।’
उनले यो नतिजाको भविष्यसम्म पनि आलोचना भइरहने समेत प्रतिक्रिया दिए ।
शनिबार सम्पन्न भरतपुर महानगरपालिकाको मतगणनाअनुसार दाहाल मेयरमा निर्वाचित भएकी छन् ।