राष्ट्रपति परिवारको जुत्ता चप्पल सेनाले उठाएको घटना प्रति व्यापक आलोचना

अनलाइन दर्पण 2016-10-22
img

काठमाण्डौ ६ कात्तिक ।  राष्ट्रपति परिवारको चप्पल सैनिकले उठाएको घटनालाई लिएर यतिबेला सामाजिक सञ्जालमा राजा संस्कृतिकै पुनरावृत्ति हुन थालेको भन्दै  व्यापक आलोचना भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका दुई छोरी तथा राष्ट्रपति कार्यालयका कर्मचारीको जुत्ता चप्पल उठाउन सैनिक प्रयोग भएको कुरालाई लिएर विभिन्न खालका अभिव्यक्ति आउन थालेका हुन् । राष्ट्र फेरियो ,राजनीतिक अवस्था फेरियो तर प्रवृत्ति फेरिएन भन्दै समालिक संजालमा राष्ट्रपतिको व्यापक आलोचना भैरहेको छ  । 

शनिबार बिहान सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता शक्तिपीठमा  विशेष पूजाआजा गर्न पुगेकी राष्ट्रपति सहित उनका परिवार तथा राष्ट्रपति कार्यालयका अन्य कर्मचारीको जुत्ता चप्पल उठाउन सेनाको प्रयोग गरिएको हो । सैनिकहरुले आफूभन्दा माथिल्लो दर्जाका सैनिक अधिकारीको आदेशमा जुत्ता चप्पल उठाएका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान सवा १० बजे छिन्नमस्ता मन्दिर पुगेकी  राष्ट्रपति भण्डारीसहितको टोली  पूजा गर्न सिधै मन्दिर पुगेको थियो । टोलीका सदस्यहरु जुत्ता चप्पल खोलेर भित्र छिरेपछि त्यहाँ सुरक्षार्थ खटिएका नेपाली सेनाले  जुत्ता चप्पल  उठाएका थिए । उनीहरुले जुत्ता चप्पल मन्दिरको प्रवेश द्वारदेखि निकासद्वारसम्म बोकेर लगेका थिए । एक जना सेनाका अधिकारी पनि जुत्ता चप्पल मिलाउन व्यस्त थिए ।
बिना हतियार बर्दीमा नै रहेका सैनिकले जुत्ता चप्पल उठाएकाले उनीहरु जुत्ता चप्पल उठाउनकै लागि खटिएको हुन सक्ने प्रत्यक्षदर्शीले बताए । 

सम्बन्धित समाचार

Advertisement