मध्यपुर थिमिको विपद् सहयोग : बाढीपीडितका लागि ५१ लाखभन्दा बढी दिने निर्णय

अनलाइन दर्पण 2026-08-28
img

भक्तपुर । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मध्यपुर थिमि नगरपालिकाले ५१ लाख १ सय ५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको नगर कार्यपालिकाको ५२औँ बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए।

निर्णयअनुसार नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको एक महिनाको सुविधा सहयोगस्वरूप कट्टा गरिनेछ। त्यस्तै, नगरपालिका तथा मातहतका कर्मचारी र शिक्षकको तहअनुसार क्रमशः २, ४ र ७ दिनको पारिश्रमिक कट्टा गरी विपद् कोषमा जम्मा गरिने उपप्रमुख श्रेष्ठले बताए।

जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट करिब ३० लाख रुपैयाँ संकलन हुने र बाँकी रकम नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले जानकारी दिए। नगरपालिकामा शिक्षक तथा कर्मचारीको संख्या करिब ५ सय ५० रहेको छ।

बैठकले भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण बेपत्ता भएका नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णयसमेत गरेको छ।

विपद्का समयमा राज्यलाई सहयोग गर्नु सबैको दायित्व भएको बताउँदै नगर प्रमुख श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले कार्यपालिकाबाट निर्णय गरी विपद् प्रतिकार्यमा ऐक्यबद्धता प्रकट गरेको बताए। नगरपालिकाको निर्णयले मध्यपुरवासीलाई समेत यथासक्य सहयोग गर्न प्रेरित गर्ने उनको विश्वास छ।

यसैबीच, बाढीमा परी मध्यपुर थिमिका एक जना सम्पर्कविहीन तथा एक जनाको मृत्यु भएको जनाइएको छ। भक्तपुर जिल्लामा भने १६ जना नागरिक सम्पर्कविहीन रहेको बताइएको छ।

सम्बन्धित समाचार

Advertisement